‘आरओपी’को जोखिम समयअगावै जन्मिएका बच्चामा देखिन्छ। समयअगावै जन्मिएका, दुई केजीभन्दा कम तौल भएका बच्चामा यो समस्या देखिने गरेको रेटिना स्पेसलिस्ट डा. इली प्रधानको भनाइ छ।
काठमाडौँ– ३२ सातामै जन्मिएका जुम्ल्याहा बच्चामध्ये एकमा आँखासम्बन्धी समस्या देखियो। चिकित्सकले ती बच्चाहरूलाई ४५ हप्ता नपुगुन्जेल ‘फलोअप’ गरिराखे। समयमै आँखा जाँच गराइएकाले समस्या जटिल हुन पाएन। हाल यी बच्चा तीन वर्षका भइसकेका छन्। यद्यपि आँखासम्बन्धी समस्या निको नभएकाले पावरवाला चस्मा लगाइरहेका छन्।
त्यसैगरी सात महिनामै जन्मिएका एक बच्चाको पनि आँखामा समस्या देखियो। बच्चा उमेर ६ महिना पुग्दै गर्दा आँखामा सेतो चिह्न देखिन थाल्यो। आँखामा जटिल समस्या देखिएपछि उपचारका लागि केही समय अस्पतालको सघन उपचार कक्षमा राखियो। तर आँखाको पर्दा उप्किसकेकाले बच्चा अन्धोपनको शिकार हुनुपर्यो।
यी त प्रतिनिधि घटना हुन्। १० महिना नपुगी जन्मने बच्चामा आँखासम्बन्धी समस्या देखिने सम्भावना बढी भएको चिकित्सक बताउँछन्। बाल नेत्ररोग विशेषज्ञ डा. सिर्जना अधिकारीका अनुसार ती दुवै बच्चाको आँखामा देखिएको समस्या ‘रेटिनोप्याथी अफ प्रिम्याचुरिटी’ (आरओपी) हो। यो समस्या समयअगावै जन्मिएका नवजात शिशुहरूको आँखामा देखिन सक्छ। समयमै उपचार नगरिए अन्धोपनको सम्भावना भए पनि समयमै उपचार भयो भने निको पनि हुनसक्छ।
डा अधिकारी भन्छिन्, “९९ प्रतिशत आरओपीमा दुई वटै आँखामा समस्या गराउँछ। समयमा उपचार पाएन भने बच्चा दृष्टिविहीन हुन सक्छन्।” यसको समस्या बढ्दै गएमा बच्चाको दृष्टि कमजोर हुने, आँखा घुम्ने, सेतो देखिने लगायतका लक्षण देखिन सक्दछन्।
“अभिभावकले बच्चाले अनुहारमा हेरेको जस्तो लाग्दैन भनेर लिएर आउनुहुन्छ। तीन महिना भइसक्दा बच्चामा केही चिजहरू हेर्ने, पछ्याउने गर्छन्। तर आरओपीको समस्या भएका बच्चामा दृष्टि आउँदैन। पर्दा उप्किएर अगाडि आइसकेपछि सेतो देखिन्छ। अनुहार हेरेर नहाँस्ने, कुनै चिज दिँदा नहेर्ने, बत्तीतिर मात्र हेरेर टोलाउनेजस्ता लक्षण देखिन सक्छन्।”
सामान्यतया बच्चा पेटमा ४० हप्तासम्म बस्छन्। ‘आरओपी’को जोखिम भने समयअगावै जन्मिएका बच्चामा देखिन्छ। समयअगावै जन्मिएका, दुई केजीभन्दा कम तौल भएका बच्चामा यो समस्या देखिने गरेको रेटिना स्पेसलिस्ट डा. इली प्रधान बताउँछिन्।
डा. प्रधानले एक महिनाभित्रै पहिचान गरी उपचार गर्न सकिएमा बच्चाको आँखा जोगिन सक्ने बताउँछिन्। “छिट्टै पहिचान भयो भने यसको उपचार सम्भव छ। समयअगावै जन्मिने २० देखि २८ प्रतिशत बच्चामा आरओपीको प्रकोप देखिन्छ”, उनले भनिन्।
बाल नेत्र रोग विशेषज्ञ डा. अधिकारीले सबैभन्दा महत्त्वपूर्ण विषय स्क्रिनिङ (पहिचान) भएको उल्लेख गर्दै समयअगावै जन्मिने बच्चाको एक महिनाभित्र अनिवार्य स्क्रिनिङ गर्नुपर्ने सुझाव दिन्छिन्। उनले भनिन्, “समय नपुगी जन्मिएका सबै बच्चाहरू यसको जोखिममा हुँदैनन्। सबैमा जटिल समस्या देखिन्छ भन्ने पनि हुँदैन। करिब सात/आठ प्रतिशतलाई भने उपचार चाहिन्छ। यसको उपचार सम्भव छ तर जति बेला गरेर हुँदैन। चाहिने समयमा गर्नुपर्छ।”
उक्त समस्याको उपचार सुई, लेजर प्रविधिद्वारा गरिन्छ। तिलगङ्गा आँखा प्रतिष्ठानमा महिनामा २० देखि २५ जनासम्म यसप्रकारको समस्या लिएर आउने गरेको अस्पतालको भनाइ छ।
रेटिना स्पेसलिस्ट डा. प्रधान भन्छिन्, “कतिपय बच्चा घरमै पनि जन्मिएका छन् भने पनि स्वास्थ्यकर्मीले एक महिनाभित्र आँखा जाँचका लागि सुझाव दिनुपर्छ। आँखाको जाँच भनेको चस्मा जाँच मात्र होइन नानी फुलाएर हेर्नुपर्छ। समयमा हेरेर उपचार गर्न सकियो भने आँखा बचाउन सकिन्छ।”
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक तथ्यांकअनुसार नेपालमा मात्रै वार्षिक आठ लाख १० हजार शिशु समयअघि नै जन्मिन्छन्। जसमध्ये चार हजार ३०० शिशुको पाँच वर्षको उमेर नपुग्दै मृत्यु हुन्छ।
मन्त्रालयका अनुसार ३७ हप्ताभन्दा अघि जन्मिएका शिशु जन्मने क्रममा कम तौल भए वा अक्सिजनको मात्रामा कमी देखिए आरओपीका लागि जोखिम उच्च रहने गरेको पाइएको छ। तर यो समस्याको समयमै पहिचान भए उपचार सम्भव छ। यसै कारणले शिशु जन्मिएको २८ दिनभित्र आँखारोग विशेषज्ञसँग परामर्श गर्न चिकित्सकले सल्लाह दिँदै आएका छन्।
नवजात शिशुरोग विशेषज्ञ डा. सुनिल राजा मानन्धरका अनुसार यो समस्यासम्बन्धी पर्याप्त मात्रामा जनचेतना नपुग्दा अभिभावक ढिलो अस्पताल आइपुग्छन्। उनी भन्छन्, “सबैमा नभए पनि समय नपुगी जन्मिएका अधिकांश बच्चामा विभिन्न खालका संक्रमण र जोखिम हुन्छ। आँखाको जाँच अनिवार्य हो। अभिभावक अस्पताल ढिलो आइपुग्नुहुन्छ। एक महिनाभित्र आँखा जाँच गराए उपचार सम्भव छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
