लहान नगरपालिकामा ६ महिनामा ३ प्रतिशत मात्रै पुँजीगत खर्च

चालु आर्थिक वर्ष २०८१/०८२ को ६ महिनामा लहान नगरपालिकाको पुँजीगत खर्च ३.४५ प्रतिशत मात्रै भएको छ।

सिरहा– चालु आर्थिक वर्ष २०८१/०८२ को ६ महिनामा लहान नगरपालिकाको पुँजीगत खर्च ३.४५ प्रतिशत मात्रै भएको छ।

शुक्रबार नगरपालिकाको १५औँ हिउँदे नगरसभामा नगरप्रमुख महेशप्रसाद चौधरीले १४औँ नगरसभाबाट पारित नीति तथा कार्यक्रमको विस्तृत खर्च समीक्षा गर्दै उक्त विवरण प्रस्तुत गरेका हुन्।

नगरप्रमुख चौधरीका अनुसार १४औँ नगरसभाबाट पारित जम्मा एक अर्ब २३ करोड एक लाख ९२ हजार रुपैयाँ आय र व्ययको अनुमानसहितको वार्षिक बजेटबाट हालसम्म जम्मा २८ करोड ५६ लाख ५० हजार रुपैयाँ खर्च भएको छ। यसमध्ये चालु खर्चतर्फ २४ करोड २३ लाख तीन हजार रुपैयाँ अर्थात् १९.७० प्रतिशत रहेको छ।

त्यसैगरी पुँजीगत अर्थात् विकास खर्चतर्फ चार करोड ३३ लाख ४७ हजार रुपैयाँ अर्थात् ३.४५ प्रतिशत खर्च भएको हो। यहाँ २४ वटा वडा रहेका छन्।

नगरप्रमुख चौधरीले १४औँ नगरसभाबाट पारित नीति तथा कार्यक्रमको विस्तृत खर्च समीक्षा तथा संशोधित आय र व्ययको अनुमानका आधार योजना तथा कार्यक्रम दुई दिन चल्ने बन्द–शत्रमा छलफल गरी पारित गर्ने जानकारी दिए।