विश्व ब्रेल दिवस: विश्वका १ अर्ब मानिसमा दृष्टिसम्बन्धी समस्या

सन् २०१९ देखि मनाउन प्रारम्भ भएको यो दिवसको उद्देश्य दृष्टिविहीन र आंशिक दृष्टिविहीन व्यक्तिलाई मानव अधिकारको पूर्ण अनुभूतिमा सञ्चारको माध्यमका रूपमा ब्रेलको महत्त्वबारे चेतना जगाउनु हो। 

काठमाडौँ– आज विश्व ब्रेल दिवस। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१९ देखि मनाउन प्रारम्भ भएको यो दिवसको उद्देश्य दृष्टिविहीन र आंशिक दृष्टिविहीन व्यक्तिलाई मानव अधिकारको पूर्ण अनुभूतिमा सञ्चारको माध्यमका रूपमा ब्रेलको महत्त्वबारे चेतना जगाउनु हो। 

अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धिको धारा २ मा प्रतिबिम्बित भएअनुसार शिक्षा, अभिव्यक्ति र विचारको स्वतन्त्रताका साथै सामाजिक समावेशीकरणको सन्दर्भमा ब्रेल आवश्यक छ।

राष्ट्रसंघका अनुसार विश्वभर एक अर्बभन्दा बढी मानिस दृष्टिसम्बन्धी समस्याबाट पीडित छन्। दृष्टि समस्याका कारण उनीहरू स्वास्थ्य सेवा, शिक्षा, रोजगारी र समुदायमा सहभागी हुने अवसरबाट वञ्चित हुने सम्भावना अधिक हुन्छ। साथै उनीहरू गरिबी, हिंसा, बेवास्ता र दुर्व्यवहारको जोखिममा रहेको राष्ट्रसंघले जनाएको छ।