“मैले समानुपातिकमा १० लाख मत आउने अपेक्षा गरेको थिएँ। थ्रेसहोल्ड नकट्ने त कुरै थिएन। मलाई केपी ओलीको षडयन्त्रपूर्ण योजना र निर्वाचन आयोगको भूमिकामाथि शंका छ।”
मंसिर ४ को निर्वाचनको नतिजाले नेकपा एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादी पार्टीलाई ठूलै धक्का दियो। प्रत्यक्षतर्फ १० सिट जितेको एकीकृत समाजवादी तीन प्रतिशत मतको ‘थ्रेसहोल्ड’ पार गर्न नसक्दा समानुपातिकतर्फ प्रतिनिधित्व गर्नबाटै वञ्चित भयो। निर्वाचनमा कमजोर प्रस्तुतिले एकीकृत समाजवादीभित्र अब पार्टी निर्माण गर्ने कि अरू पार्टीसँग एकता गरेर जाने भन्ने बहस शुरू भएको छ। यस्तो अवस्थामा यो पार्टीको गन्तव्य र भविष्य के होला? नयाँ सरकार गठनका निम्ति शक्ति बाँडफाँटको रस्साकस्सी चलिरहँदा वर्तमान सत्तागठबन्धनमा सामेल एकीकृत समाजवादीको शक्तिको मूल्यांकन कति हुन्छ? के माधवकुमार नेपाल राष्ट्रपति बन्दैछन्? यिनै विषयमा केन्द्रित रहेर एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग उकालोका लागि रामेश्वर बोहरा र बीपी अनमोलले गरेको संवादः
प्रतिनिधिसभा निर्वाचनको नतिजा आइसकेको छ, नेपाली कांग्रेसकै नेतृत्वमा वर्तमान सत्तागठबन्धनलाई निरन्तरता दिने भनेर तपाईंहरू लागिरहनुभएको छ। गठबन्धनको सरकार बनाउन त पहिले ‘पावर सेयरिङ’को विषय टुंगिनुपर्ने होला। कसरी टुंग्याउँदै हुनुहुन्छ शक्ति बाँडफाँट?
हेर्नुस्, अब नेपाली कांग्रेसले पूरै ५ वर्ष सरकार चलाउँछु भनेर त सोच्न पनि सम्भव छैन। किनभने त्यस्तो शक्ति पनि ऊसँग छैन, अवस्था पनि छैन। स्वाभाविक रूपमा त्यसमा माओवादीले पनि भन्न वा दाबी गर्न सक्ला, अरूले पनि भन्लान्। त्यसकारण यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने सन्दर्भमा उपाय त खोज्नुपर्छ। मुख्य कुरा हामीले नीतिहरूलाई निरन्तरता दिन सक्नुपर्छ, नेतृत्व परिवर्तन भए पनि केही फरक पर्दैन। हामीले युरोपका देशहरू हेर्यौँ भने पनि सरकारको नेतृत्व त परिवर्तन भइरहेकै हुन्छ। तर, देश सञ्चालन र देशको विकासमा त्यसले कुनै फरक पारेको हुँदैन।
२०७४ सालमा हामीकहाँ निकै राम्रो अवस्था बनेको थियो। हेर्दाहेर्दै के के भयो भयो। कम्युनिस्ट पार्टीका लागि कत्रो सम्भावना थियो। झन्डै दुई तिहाइ बहुमत थियो। यसपटक त्यो बुद्धि कायम रहेको भए त त्योभन्दा पनि अझ माथि जाने स्थिति बन्थ्यो। अरूले टाउको फोडे पनि केही हुनेवाला थिएन। तर, संविधान मास्ने काम भएपछि सबै भताभुङ्ग भयो। सबैतिर ध्वस्त पार्न खोजिएपछि मानिसले आफ्नो अस्तित्व रक्षाका लागि निर्णय लिने नै भए नि। अब पछाडिका कुरा धेरै नकोट्याऊँ।
निर्वाचनको नतिजा नै यस्तो आयो कि धेरै पार्टी नमिली, एकापसमा शक्ति बाँडफाँट नगरी नयाँ सरकार बन्ने अवस्था छैन। धेरै पार्टी मिलेर सरकार बनाउँदैगर्दा शक्ति बाँडफाँटको सकस त बढ्ने भयो नि?
मेरो विचारमा त्यो कुनै ठूलो कुरा होइन। देशमा २५ वटा पार्टी भएको बेलामा २२ वटा पार्टीको समर्थनमा मैले नै २१ महिना सरकार चलाएको छु। मैले सबैको समर्थन पाएरै सरकार चलाएको हुँ। सरकार छाडेर हिँड्दा मप्रति कसैको कुनै किसिमको गुनासो रहेन। कुरा के हो भने एउटा मिसनमा केन्द्रित भएर चल्नुपर्यो, उद्देश्यमा विचलित नभई अघि बढ्नुपर्यो। त्यसबेला मेरासामू धेरै मिसन थिए। पहिलो कुरा त शान्तिप्रक्रिया टुंगोमा पुर्याउनु थियो। संविधान निर्माण गर्नु थियो। अनमिनको व्यवस्थापनदेखि देशलाई अगाडि लैजाने मिसन थियो। त्यसकारण गर्न नसकिने भन्ने हुँदैन। मनमा भिजन र संकल्प भयो भने गर्न सहज हुन्छ।
अहिले पनि मसँग देश विकास गर्ने मिसन छ, भिजन छ। म प्रधानमन्त्री भएको बेला धेरै कुराको शुरूआत भएको पनि थियो। अब हामी देशको विकास कसरी गर्ने, जनतालाई कसरी विकासको अनुभूति गराउने भन्नेमा केन्द्रित हुनुपर्छ। आफू पदमा पुग्ने र सबै कुरा बिर्सने गर्नु हुँदैन। हाम्रो ध्यान देश निर्माणमा केन्द्रित हुनुपर्दछ। मेरै पहलमा कुनै बेला पूर्वप्रधानमन्त्री क्लब बनेको थियो। अहिले पनि पूर्वप्रधानमन्त्रीहरू भेट्दा कुरा गर्छौं। सबैले देश विकास गर्ने कुरालाई प्राथमिकतामा राखेर सोच्ने हो भने यो विषय त्यति कठिन हुन्छ भन्ने मलाई लाग्दैन।
त्यसका लागि त बलियो सरकार चाहिएला। बलियो सरकार निर्माणका लागि पाँच वर्षमा आलोपालो सरकार भन्ने कुराले मात्रै मिलनबिन्दु भेटिन्छ कि अरू महत्त्वपूर्ण पदहरूमा पनि कुरा मिल्नुपर्छ?
यी सबै विषयमा पक्कै पनि छलफल हुनुपर्छ। त्यो कुरा गठबन्धनमा छलफल पनि होला। अहिलेसम्म यी विषयमा छलफल नै भएको छैन। किनभने नेपाली कांग्रेसभित्र पहिले नेतृत्वको टुंगो लाग्नुपर्यो। संसदीय दलको नेता र प्रधानमन्त्री को भन्ने तस्वीर प्रष्ट हुनुपर्यो। त्यो टुंगो नलागेसम्म यी विषयवस्तु अगाडि बढ्न सक्दैनन्।

शक्ति बाँडफाँटको गाँठो फुकाउने कुनै खाका त होला नि तपाईंसँग?
त्यस्तो खाका त अवश्य हुन्छ। तर, त्यो खाका मैले बाहिर भन्दै हिँड्नु राम्रो हुँदैन। त्यो मैले आफ्नो मनमा राखेर त्यसलाई ठाउँमा राख्नुपर्छ। नभए सोचेको कुरा पनि बिग्रिन्छ। हाम्रा कतिपय नेताको बानी के छ भन्ने कुनै पनि कुरा फ्याट्ट भनिदिने। त्यसले बन्दै गरेका कुरा पनि बिग्रिन्छन्।
नेपाली कांग्रेसभित्र सरकारको नेतृत्व पनि आफैँले गर्ने र राष्ट्रपति पनि आफूसँगै राख्नुपर्छ भन्ने धारणा बलियो देखिन्छ नि?
कांग्रेसभित्र त देशै हामीले लिनुपर्छ भन्ने सोच पनि छ। गठबन्धन नै चाहिँदैन भन्ने पनि छ। त्यस्तो सोचले मात्रै चल्ने भए त गजब भइहाल्थ्यो नि। यतिबेला सबैभन्दा धेरै फाइदा नै नेपाली कांग्रेसले उठाएको छ। गठबन्धनको सबभन्दा धेरै लाभ कांग्रेसलाई नै भएको छ। त्यसको जस उनीहरूले गठबन्धनका सहयात्रीलाई दिएनन् भने अपराध गरेको ठहरिन्छ।
कांग्रेसले के भुल्नुहुँदैन भने हाम्रो बलिदानमा नै नेपाली कांग्रेस फस्टाएको हो। यो यथार्थलाई नेपाली कांग्रेसले स्वीकार गर्छ कि गर्दैन, अब हामीले उसको ‘कल्चर’ हेर्नुपर्ने छ। सबथोक हामीले गर्नुपर्ने, संघर्ष हामीले गर्नुपर्ने, प्रधानमन्त्री बन्नुपर्ने कांग्रेसलाई अनि हामी चाहिँ टुलुटुलु हेरेर बस्नुपर्ने? यस्तो पनि हुन्छ?
तपाईंले नै भन्नुभयो, कांग्रेस महत्त्वपूर्ण पद आफूसँगै राख्न चाहन्छ। भोलि त्यही स्थिति यथावत् रह्यो भने वामपन्थी दलहरूबीच छुट्टै गठबन्धन बनाएर जाऊँ भन्ने परिस्थिति आउन सक्छ?
त्यस्तो पनि नसोचौँ। नेपाली कांग्रेसभित्र शेरबहादुर देउवाजी निकै लचक हुनुहुन्छ। अरू नेताको सोच के हो भन्ने त मलाई थाहा छैन। मेरो संवाद भएका कांग्रेसका नेताहरूमध्ये रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, ज्ञानेन्द्रबहादुर कार्की, पूर्णबहादुर खड्का लगायतले मसँग भेट्दा मिलेर नै जानुपर्छ भनिरहनु भएको छ। अरू नेताहरूको के छ, त्यो चाहिँ मलाई थाहा छैन।
कांग्रेससँगको छलफलबाट नतिजा सकारात्मक आएन भने चाहिँ के हुन्छ?
भएन भने जस्तो परिस्थिति आउँछ त्यसै हिसाबले अगाडि बढ्नुपर्छ। कस्तो–कस्तो परिस्थिति त हामीले सामना गरेर यहाँसम्म आएका छौँ।
त्यो भनेको वामपन्थी दलहरूको सरकार बनाउने सम्भावना हो?
चाहना एउटा कुरा हो। राम्रो सोचले आए त देश नै स्वर्ग हुन्थ्यो। सबै मानिस मिलेर अघि बढे त कति राम्रो हुन्थ्यो। पवित्र भावनालाई धन्यवाद। मैले भन्ने गरेको छु, सिद्धान्तको रंग खैरो हुन्छ। तर, व्यवहारको रंग जहिले पनि हरियो नै हुन्छ। सिद्धान्तले एउटा कुरा भन्छ तर, व्यवहारले अर्को कुरा देखाउँछ। हरियो यथार्थ हो। जे यथार्थ हो, त्यो हेर्नुपर्छ। त्यसले मेल खाँदैन भने कुरा गर्नुको के अर्थ रहन्छ र?
भनाइ नै छ, राजनीति सिधा रेखामा हिँड्दैन। त्यसकारण अहिले नदेखिएका सम्भावना उजागर हुन सक्दैनन् र?
हो, राजनीति जहिले बांगोटिङ्गो बाटोबाट नै अगाडि बढ्छ। त्यस्तै हिसाबले अघि बढ्छ। रातारात तपाईंले कल्पना गरे जस्तो भइदियो भने त कति राम्रो कति। अहिले तत्कालै चाहिँ म त्यस्तो सम्भावना देख्दिनँ। सबै कुरा समयमै कदम चाल्दा सम्भव हुने हो, ढिलो गरिसकेपछि त्यसको अर्थ हुँदैन। पछि पछुताएर त केही हुँदैन नि। हामीले सबै कुरा समयमै ख्याल गर्न सक्नुपर्छ। अहिले त्यो समय छ जस्तो मलाई लाग्दैन।
सत्तागठबन्धनभित्र शक्ति बाँडफाँटमा एउटा एउटा आलोपालो प्रधानमन्त्रीको विषय, अर्को राष्ट्रपति को बन्ने भन्ने विषय सबभन्दा पेचिलो छ भनिन्छ। कतिपयले राष्ट्रपतिमा तपाईंको नाम पनि चर्चा गरिरहेका छन्। तपाईंको आफ्नो चाहना पनि त होला?
म अहिले नै राष्ट्रपति हुने बेला भएको छैन। म सक्रिय राजनीतिबाट बाहिर हुँदा राम्रो गर्ला र? अरूले पनि राम्रो त भन्दैनन् होला। होइन र?
प्रमुख कार्यकारी (प्रधानमन्त्री) बनिसक्नुभयो। हिजो एमालेको महासचिव भएर पार्टीको नेतृत्व गर्नुभो, अहिले पनि नेकपा एकीकृत समाजवादीको अध्यक्ष हुनुहुन्छ। अबको ठाउँ भनेको त राष्ट्राध्यक्ष पनि होला नि?
अहिले त म चुनाव जितेर आएको छु नि। कि त मैले चुनावमै भाग नलिएको भए हुन्थ्यो। त्यसकारण यो अवधि त कार्यकारी भूमिकाको हो नि। त्यसो हुनाले यो अवधिभित्र मैले कार्यकारी काम नै गर्नुपर्छ। उठाउने मानिसहरूले त आलोपालो प्रधानमन्त्रीको कुरा पनि उठाइरहेका छन्। तर, मैले त्यो कुरा उठाएको छैन। अहिले त्यस्तो भन्ने बेला छैन, मेरो दाबी गर्ने बानी पनि छैन।
त्यसो भए अबको पाँच वर्ष कार्यकारी भूमिकामै रहने तपाईंको जोड हो? भोलि गठबन्धन भित्रैबाट तपाईंलाई राष्ट्रपति बनाउने सहमति भयो भने के गर्नुहुन्छ?
अब यो प्रश्न मैले अरूलाई सोध्ने गरेको छु। तपाईं के भन्नु हुन्छ? जनता के भन्छन्? जनताले भन्छन् भने ठीकै छ। होइन, पार्टी खोल्नुभएको छ, यत्रो लामो अनुभव हासिल गर्नुभएको छ, भर्खरै निर्वाचित हुनुभएको छ, नयाँ पार्टीलाई एउटा बिन्दूमा पुर्याएर नेतृत्वको जिम्मा अरूलाई सुम्पिएर मात्र तपाईं सक्रिय राजनीतिबाट बिदा हुनुस्, अहिले बिदा हुने समय भएको छैन भनेको खण्डमा त मैले सक्रिय राजनीतिबाट बिदा लिनु राम्रो हुँदैन।
अवश्य पनि मेरो दिमागमा नयाँ पुस्तालाई पार्टी हस्तान्तरण पर्नुपर्छ भन्ने नै छ। त्यो कसरी गर्न सकिएला भन्नेमै म लागिरहेको छु। यदि हाम्रो पार्टी तयार हुन्छ भने नयाँ पुस्तालाई हस्तान्तरण गर्न म तयार छु। मेरो उद्देश्य भनेको देश निर्माण गर्नु हो। देशका लागि योगदान गर्नु हो। देशको विकास र समृद्धिलाई सहज कसरी बनाउने भन्ने नै हो। देश, जनता र नेपाली समाजको उत्थान मात्रै मेरो चासोको विषय हो।

भनेपछि फेरि एकपल्ट देशको प्रमुख कार्यकारी भएर पार्टीको नेतृत्व अर्को पुस्तालाई हस्तान्तरण गर्ने तपाईंको चाहना हो?
त्यसो पनि नभनौँ। किनकि मैले पाउनुपर्छ, म हुनुपर्छ भनेर गीत गाएर केही हुनेवाला छैन। यस्तो चाहना सबैले राख्न सक्छन्। जनताको विश्वास र अपेक्षा मैले प्राप्त गर्न सक्नुपर्यो। त्यसअनुरूप परिस्थितिले पनि साथ दिनुपर्यो। सबैले खुबी र क्षमता प्रदर्शन गर्न सक्नुपर्यो। गर्नेले सहयोग पनि गर्नुपर्यो। त्यसो हुनाले मलाई कुनै पद र पैसा चाहिएको छैन। म पदका निम्ति मरिहत्ते गर्ने मानिस पनि होइन। मेरो चाहना भनेको देशमा विकास होस्, सुशासन कायम होस् भन्ने नै हो।
भोलि शेरबहादुर देउवा र पुष्पकमल दाहालले ‘लौ न माधवजी, तपाईं जत्तिको प्रोफाइल भएको व्यक्ति राष्ट्रप्रमुख हुनुपर्यो’ भनेर छलफल चलाउनुभयो, तपाईंको पार्टीबाट पनि ‘यो पार्टी अब हामी चलाउँछौँ, तपाईं देशको अभिभावक भएर बस्नुस्’ भनियो भने स्वीकार्नु हुन्न?
अनुमानका कुरा अहिले अनुमानमा नै रहन दिऊँ। अन्तिममा मैले बोल्नै परे त म बोलिहाल्छु नि। गठबन्धनमा यसो गरौँ भनेर छलफल पनि चलिरहेको छ। भागबन्डाका कुरा पनि चलिरहेका होलान्।
अब केही फरक प्रसंग। यसपालिको निर्वाचनको परिणाम आएपछि तपाईंको पार्टीभित्र एकथरीले एमालेसँग मिल्नुपर्ने कुरा गरिरहेका छन्। अर्कोथरीले माओवादीसँग मिल्नुपर्ने विचार राखिरहेका छन्। बैठकमै यो विषय प्रवेश भएको छ। तपाईंको धारणा चाहिँ के हो?
हाम्रो पार्टीमा कोही एक जनाले पनि एमालेसँग मिलेर जानुपर्छ भनेर बोलेको छैन। बैठकमा कसैले पनि यस्तो धारणा राख्नुभएको छैन। बाहिर कसैले केही भनेको भए मलाई थाहा भएन। तर, पार्टीभित्र एमालेसँग एकता गरेर जानुपर्छ भन्नेमा कोही पनि छैन। तर, माओवादीसँगको एकताको सन्दर्भमा निर्वाचन अलि तितो पिरो भएको हुनाले हामी ख्याल गरौँ, होस गरौँ भन्ने छ। कहीँ सहयोग नपाएको र कहीँ पाएको भन्ने पनि छ। ठाउँ हेरेर माओवादीको सहयोग र असहयोग भएको देखिन्छ। कर्णाली र सुदूरपश्चिममा सहयोग भयो भन्ने छ। मेरै ठाउँमा नै मलाई माओवादी नेताहरूबाट असहयोग भएको हो। त्यहाँका सबै माओवादी नेता मेराविरुद्धमा उत्रिएका थिए। तर, म जितिरहेको छु, किन चिन्ता गर्ने भनेर मैले वास्ता गरिनँ।
के त्यसो भए माओवादीसँग एकताको सम्भावना छ?
माओवादीसँग पनि र अरू वाम पार्टीहरूको बीचमा एकता गर्नुपर्छ भन्ने भावना तीव्र बनेको छ। धेरै पार्टी खोल्नुभन्दा एउटै पार्टी बन्नुपर्छ भन्ने हो। म विभाजनको पक्षमा होइन, एकता र सुदृढीकरणको पक्षमा छु। चुनावपछि अलग–अलग कुराकानी भएका छन्। नभएको होइन। माओवादीसँग विभिन्न चरणमा कुराकानी भएका छन्। अन्य नेताहरूसँग पनि कुराकानी भइरहेका छन्। उपेन्द्रजी, बाबुरामजी लगायतसँग पनि कुरा भइरहेका छन्। मुख्य कुरा एकताको दिशामा अगाडि बढ्नुपर्छ भन्ने हो।

त्यो भनेको एमालेबाहेकका वामपन्थी दलहरूबीच एकता भन्न खोज्नुभएको हो?
एमालेले वास्तै गरेको छैन भने हामी त्यतिकै जाने कुरा भएन। कोही त आउनुपर्यो नि पहल गर्नका लागि। केपी ओलीले ताल्चा बन्द भनेका छन्, अनि हामी हथौडा लिएर तोड्न जाने कुरा भएन नि। एकता हुँदैन फर्किनेलाई स्वागत छ भनेर बोल्दै हिँड्दा कसरी सम्भव हुन्छ? त्यस्तो बोली बोल्नेसँग मिलेर जान सकिन्न। कि बोली बन्द गर्नुपर्यो।
मंसिर ४ को निर्वाचनमा प्रत्यक्षतर्फ हेर्दा एकीकृत समाजवादी चौथो ठूलो पार्टी बन्यो। तर, समानुपातिकतर्फ मत नपाउँदा थ्रेसहोल्ड पनि कटाउन सकेन र तपाईंको पार्टी राष्ट्रिय पार्टी बनेन। यस्तो नतिजा आउला भनेर सोच्नुभएको थियो? कहाँ चुक्यो पार्टी?
हो, हाम्रो ध्यान गएन। अलि बढी नै आत्मविश्वास पनि देखियो। थ्रेसहोल्ड नकट्ला भन्ने त सोचिएको पनि थिएन। मैले त थ्रेसहोल्डको चिन्तै छैन, खालि भोट कसरी बढाउने भन्ने मात्र सोचेको थिएँ। तर, यस्तो स्थिति आइलाग्यो। तर, मलाई अहिले पनि के शंका छ भने भोट नआएको होइन। आएको भोटमा पनि केपी ओलीको षडयन्त्रपूर्ण योजना र निर्वाचन आयोगको भूमिकामाथि शंका छ। समानुपातिकको मतपत्र नै पुनः मतगणना गर्नुपर्छ कि भन्ने मैले सोचेको छु। तर कति दिनको समय दिइन्छ, थाहा छैन।
त्यो बेला नै यो कुरा किन नउठाएको भन्नेहरू पनि छन्। अब छाडिदिनुस् भन्नेहरू पनि छन्। तर, हेर्दाहेर्दैको ४ सिट त गयो। सातवटै प्रदेशमा हामीले प्रदेशसभामा उम्मेदवार उठाएका थियौं। हाम्रो पनि शक्ति परिचालनमा कहीँ न कहीँ कमजोरी भएको छ। नभए १५-२० हजार मत मात्र किन, निकै बढी हुनसक्ने थियो। मैले त १० लाखभन्दा बढी मत आउने अपेक्षा गरेको थिएँ। यसमा हामीले पनि आत्मसमीक्षा गर्नुपर्छ, अरूलाई मात्र दोष दिएर पनि हुँदैन।
नयाँ संसद् गठन हुने पूर्वसन्ध्यामा तपाईंहरू पनि सहभागी कामचलाउ सरकारले जघन्य अपराधका दोषीहरूलाई पनि चोख्याउने गरी अध्यादेश ल्यायो। माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र तपाईंले नै त्यसमा सहमति दिनुभयो भनिन्छ नि?
होइन, कुरा के हो भन्दाखेरि राजनीतिक कुरालाई राजनीतिक तवरबाट नै हल गर्नुपर्छ। आपराधिक कुरालाई कानुन अनुसार नै समाधान गर्नुपर्छ। जहाँसम्म टीकापुर घटनाको कुरा छ, त्यो भनेको एउटा राजनीतिक घटना नै हो। त्यसमा रेशमजीको भनाइ सुनेसम्म उहाँले मेरो संलग्नता नै छैन, म टीकापुरमै थिइनँ भन्नुभएको छ। त्यो हो भने त उहाँलाई किन सिकार बनाउने? त्यसको जिम्मेवारी बोक्नुपर्ने त हुन्छ नै, निकै दुःखद घटना त हो। सहजै त्यो घटना बिर्सिन त सकिँदैन। तर, कहिलेसम्म हामीले त्यो घटनालाई राखिराख्ने? कहीँ न कहीँबाट त समाधान खोज्नुपर्यो नि। जनयुद्धको कुरा जहिले पनि बोकेर त बस्नु भएन नि, हो त्यो पनि त्यस्तै हो। मधेश आन्दोलनका क्रममा मेरो घर र त्यहाँका सबै सामान जलाइएको थियो। मैले पनि त्यही कुरा मनमा राखेर त बसिरहन भएन नि। पीडित त म पनि हो नि। त्यसकारण मैले रेशम चौधरीका बारेमा पनि त्यही भनेको हुँ।
संसद् आउँदैछ, केही दिन कुरेर त्यहाँबाट यो कुरा गर्न सकिन्नथ्यो र? यति हतारिनुपर्ने के कारण थियो?
गरे त हुन्छ नि, किन नहुनु। तर, नयाँ संसद् र नयाँ सांसदलाई शुरूमै यस्तो कुरामा संलग्न गराएर राम्रो सन्देश नजाला भनेर पनि हो। तर, यहाँ त जे गर्दा पनि नकारात्मक रूपमा नै टिप्पणी गर्ने चलन छ। चाहे त्यो राम्रो गर्नुस् वा अन्य केही। राम्रो काम गर्न खोजे प्रचारका निम्ति गर्यो भन्ने हुन्छ। यति हुँदा पनि जनचासोको विषय के छ भन्ने कुरालाई पनि ध्यानमा राख्नैपर्ने हुन्छ। किनभने हामीले सोचेर मात्रै हुँदैन, जनताको भावनालाई हामीले नै सम्झाउन सक्नुपर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
