पेट्रोल र डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ भने हवाई इन्धनको मूल्य घटाएको छ।

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ भने हवाई इन्धनको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको मंगलबारको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको हो।

निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १६० रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर १६२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६३ रुपैयाँ तोकेको छ। यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १५० रुपैयाँ ५० पैसा, दोस्रा वर्गका लागि प्रतिलिटर १५२ रुपैयाँ र तेस्रो वर्गका लागि १५३ रुपैयाँ निर्धारण गरिएको छ।

निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल तोकेको छ।

त्यस्तै, निगमले हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर दुई रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर १५ अमेरिकी डलरका दरले घटाएको छ।

साथै, निगमले पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य पनि कायम गरेको छ। निगमका अनुसार अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको प्रतिकिलोलिटर काठमाडौँमा ९६०, पोखरामा ७९६ र भैरहवामा ७७८ अमेरिकी डलर कायम भएको छ।

निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १२६ रुपैयाँ तोकेको छ। निगमले एलपी ग्यासको मूल्य भने यथावत् रहेको जनाएको छ। 

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा एक रुपैयाँ नौ पैसा र डिजेलमा प्रतिलिटर दुई रुपैयाँ २२ पैसा बढेर तथा हवाई इन्धनमा एक रुपैयाँ ७१ पैसा घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ।