स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल, अब नमूना भारत पुर्‍याउनुपर्ने बाध्यता हट्ने

स्वास्थ्य मन्त्रालयका अनुसार अबदेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्तन क्यान्सरको वंशाणुगत परीक्षण गरिनेछ। यसअघि परीक्षणका निम्ति नमूना भारत पठाउनुपर्ने बाध्यता थियो।

काठमाडौँ– नेपालमा स्तन क्यान्सरको वंशाणुगत परीक्षण ‘जिन सिक्वेन्सिङ’ सफल भएको छ। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा यसको परीक्षण सफल भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको हो।

मन्त्रालयका अनुसार अबदेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्तन क्यान्सरको वंशाणुगत परीक्षण गरिनेछ।

यसअघि यस्तो परीक्षणका निम्ति नमूना भारत पठाउनुपर्ने बाध्यता थियो। प्रयोगशालाले रगत र टिस्युबाट यस्तो नमूना परीक्षण गर्ने जनाइएको छ। 

योसँगै प्रयोगशालाले क्यान्सरसम्बन्धी चार थरीका नमूना परीक्षण नियमित गर्नेछ।

भारतमा स्तन क्यान्सरको वंशानुगत नमूना परीक्षणका लागि ६० हजार रुपैयाँ लाग्ने गरेको छ। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा यो परीक्षण ३० हजार रुपैयाँमा हुने स्वास्थ्य तथा जनसंख्यामन्त्रीको निजी सचिवालयले जनाएको छ।