म पुँजीवाद, हामी समाजवाद

लेखकले नेकपा एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद र नेकपा माओवादी केन्द्रको एक्काइसौँ शताब्दीको जनवादमाथि पनि तिखो टिप्पणी गरेका छन्।

‍‍‍समाजशास्त्रको विद्यार्थीका नाताले अक्सर समाज विज्ञान, सामाजिक अर्थतन्त्र, राजनीति र जनताको जीविकासँग जोडिएका पुस्तकले ध्यान तान्छन्। गत दशैँ बिदामा राम कार्की ‘पार्थ’को पुस्तक ‘विकल्प’ पढेपछि केही नलेखिरहन सकिएन।

पार्थको यो पुस्तकले पछिल्लो राजनीतिक व्यवस्था/अवस्था, दल र तिनका नेतृत्वले जनताप्रति लामो समयदेखि छर्दै आएका भ्रम, दिँदै आएको धोका र बेइमानीको फेहरिस्त प्रस्तुत गरेको छ। समाजवादी राजनीतिक व्यवस्थाको सफलता र असफलताका विश्वका केही उदाहरण पनि पुस्तकभित्र छन्। 

यो पुस्तक एक हिसाबले लेखकको राजनीतिक अभ्यास, भोगाइ र अनुभवको सँगालो हो भन्न मिल्छ। पछिल्लो समय राजनीति बिग्रँदै गएको र राजनीति जनहितमा हुन नसकेको निष्कर्ष निकालेका पार्थले पुस्तकमा भनेका छन्, ‘अब समता, समाजवाद र मुक्त दुनियाँका लागि विकल्प खोजौँ।’’ उनले विकल्पको नेतृत्व नयाँ पिँढीले लिनुपर्ने, पुरानाबाट सम्भव नभएको ठहर गरेका छन्।

लेखक अहिले पनि नेपाली राजनीतिको केन्द्रीय पात्रमध्ये एकमा पर्छन् र उनले समसामयिक राजनीतिको निर्मम समीक्षा र तिखो आलोचना गरेका छन्। आफ्नो पार्टीले हिजो हिँडेको बाटो सही थियो, आज बिग्रियो भन्दै नेतृत्वमाथि प्रहार गरेका छन्। भनेका छन्, ‘हिजो जनयुद्धताका बोकेको नारा, जनतासँग बाँडिएका आशा सबै सत्ता राजनीतिमा पुगेर गरिएको अभ्यासको तालमेल नमिल्दा भताभुङ्ग भए।’ हिजोको सिंगो माओवादी आज दर्जनौँ टुक्रामा विभाजित हुन पुगेको बारे पनि समीक्षाको पहल गरेका छन्।

नेपाली राजनीतिक नेतृत्व आफ्नो आलोचना सुन्न नचाहने मात्रै होइन, प्रशंसाको भोका देखिन्छन्। आलोचना गर्नेहरूलाई भित्तामै पुर्‍याइदिन्छन्। यस्तोमा, जनयुद्ध लडेर आएका पार्थले पुस्तकमा आफ्नो पार्टी, पार्टीको गति र सिद्धान्त, नेतृत्व, नेतृत्व–शैली र तिनको आचरणमाथि आलोचना गरेका छन्। भनेका छन्, ‘हामी कहाँ जाने भनेर राजनीतिक अभियानमा होमिएका थियौँ र अहिले कहाँ पुग्यौँ?’ यस्तो लाग्छ, यस पुस्तकले उनको पार्टीभित्र भुईंचालो ल्याएको छ र छैन भने ल्याउने छ।

पार्थले नेपालको समग्र कम्युनिस्ट आन्दोलनको विग्रहबारे मिहिन विश्लेषण गरेका छन्। ‘जनमत’ धेरै भए पनि प्राप्त जनमतलाई उपलब्धिको रूपमा संस्थागत गर्न नसक्दा ‘कम्युनिस्ट पार्टी’सँग मात्र नभई जनता राजनीति, राजनीतिक पार्टी र नेतासँग रुष्ट हुँदै गएको सत्य हो। 

लेखकले समग्र कम्युनिस्ट पार्टीको पछिल्ला अभियान, यसले बिराएको बाटो, जनअपेक्षा र तिनको संसदीय अभ्यासलाई समेत समीक्षा गरेका छन्। र, भनेका छन्, ‘जनयुद्ध लडेर नयाँ बाटो हिँड्ने कसम खाएको माओवादीसमेत संसद्‍वादी राजनीतिमा हराएको छ। हिजो त्यही ‘संसदीय’ अभ्यासको कटु आलोचना गर्ने माओवादी नेता कार्यकर्ता अहिले बोराका बोरा पैसा खर्चेर संसद् र मन्त्री हुन होडबाजी गर्छन्। पार्टीमा ठेकेदार, दलाल, पुँजीपतिलाई हुल्छन्, हिजो पार्टीका लागि ज्यान दिएका नेता र कार्यकर्ता किनारामा छाडिएका छन्। उनीहरू कतै हराएका छन्, कि त खाडीमा मजदुरी गर्न भासिएका छन्।’

लेखकले नेकपा एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) र नेकपा (माओवादी केन्द्र)को २१औँ शताब्दीको जनवादमाथि पनि तिखो टिप्पणी गरेका छन्। भन्छन्, ‘यी सिद्धान्त कि त पुरानो भयो, कि त यसले काम गरेन। जनताको आवश्यकता एकातिर छ, पार्टीको सिद्धान्त अर्कोतिर र अमिल्दो छ। व्यवहारिक अभ्यास पटक्कै मिल्दो छैन। पार्टी र नेताहरू सत्ता र स्वार्थ केन्द्रित भए। संसदीय अभ्यासमा नै रुमल्लिए र भासिँदै गएका छन्। पार्टी र नेतृत्व दलदलमै फसे।’

लेखकले वर्तमान विश्व कम्युनिस्ट आन्दोलनको केही चर्चा गर्न भ्याएका छन्। उनले विश्व कम्युनिस्ट अभ्यास र समाजवादी देशको अभ्यास जोड्दै नेपालमा पनि समाजवाद सम्भव छ भन्नेबारे प्रस्ट्याउन प्रयास गरेका छन्।

राजनीतिको अभीष्ट जनतालाई सुख, खुशी दिनु र ‘समृद्ध समाज निर्माण’ गर्नु हो। तर, नेपालका कम्युनिस्ट बोली एकातिर र व्यवहार अन्ततिर गर्न थालेका छन्। भाषण र सिद्धान्त ‘समाजवाद’ र व्यवहार र अभ्यास भने ‘पुँजीवादी’। यो ढोँगले कहीँ पुगिँदैन, पार्थको बुझाइ त्यही छ।

लेखक भन्छन्– भोक, अन्याय, भेदभाव, असमानता, हिंसा र अस्थिरता आदिबाट समाजलाई मुक्त गर्न मार्क्सवादभन्दा भरोसायोग्य अर्को वैचारिक अस्त्र अहिलेसम्म ‘मानव समाज’लाई प्राप्त छैन। तर, २०६२/०६३ को जनआन्दोलन पछिको २० वर्षे अवधिमा ‘सशस्त्र संघर्ष’ गरेर आएको माओवादी आफैँ पटक–पटक सत्ता सञ्चालनको ताला–चाबी प्राप्त गर्‍यो। तर जनताको समस्या भने बिर्स्यो। वास्तवमै भन्ने हो भने नेपाली समाजभित्र अझै पनि भोक, अन्याय, भेदभाव, चरम गरिबी र असमानता छन्। समाजमा हुने र नहुने बीचको गहिरो खाडल छ। हुनेखाने मोटाएका छन्। सत्ता र राजनीतिको वरिपरि डुल्नेहरूले प्रशस्तै फाइदा लुटेका छन्।

माओवादीले जनयुद्ध शुरू गर्नुपूर्व उठाएका मागहरू क्रमशः हराउँदै गएकोमा लेखक पुस्तकका धेरै खण्डमा चिन्ता प्रकट गर्छन्। समाजवादी बाटोमा जाने भनेर छरिएको भ्रम, पार्टी नेतृत्व र नेपाली कम्युनिस्टको सिद्धान्त अनि अभ्यासको तालमेल नमिल्दो हुँदा जनता दिक्क भएको उनको बुझाइ छ। उनी चे ग्वेभाराको भनाइ सापटी लिँदै पुस्तकमा भन्छन्, ‘म पुँजीवाद, हामी समाजवाद। हामी अहिलेको अभ्यास हेरौँ, जताततै नेतादेखि कार्यकर्तासम्म ‘म’ मात्रै भनिरहेका देख्छौँ, त्यही सुन्छौँ। त्यसो हुँदा हामी पुँजीवादी बाटोमा छौँ कि समाजवादी?’

नेपाली राजनीतिलाई पुँजीवादले ध्वस्त बनाएको ठहर गर्दै उनी लेख्छन्, ‘सबै ठाउँमा कर्पोरेट हाउस हाबी छ। जुम्लाको मान्छेले चार माना मास बेच्न कतै जानुपर्‍यो भने उसलाई ‘प्यान नम्बर’ चाहिने स्थिति बनाउँदै लगिएको छ। यो कसरी ‘समाजवादी अर्थव्यवस्था’को अभ्यास हुन सक्छ?’

पार्थ लेख्छन्, ‘हामी सामन्तवादविरुद् बेस्सरी लडेका थियौँ। एकदम कराँतिलो भएर लड्यौँ, तर पुँजीवादसँग लड्ने बेला पुँजीवादले नै हामीलाई प्रदूषित गरिदियो, खाइदियो। अब हामी र काँग्रेस, हामी र राप्रपाबीच नै भिन्नता नभइसकेपछि पुँजीवादविरुद्ध कसरी लड्न सक्छौँ?’ यो प्रश्न जटिल छ। वर्तमान पार्टीहरू न त सिद्धान्तमा हिँडेका छन् न त इमानमा नै, सत्ता राजनीतिको लागि जुनसुकै हरकत गर्न नेताहरू पछि नपर्ने देखिन्छ। यसको स्पष्ट उदाहरण, पछिल्ला समयमा सत्ता अभ्यासका लागि भइरहेका ‘दल गठबन्धन’ काफी छ।

पुस्तकमा रहेको यो सन्दर्भले जतिसुकै भूमण्डलीकरण र निर्भरतामा बाँचेको मुलुकले पनि स्वाभिमानको हकमा आदर्श पाठ सिक्न सक्छ:

क्युबामा एक पटक चारैतिरबाट नाकाबन्दी भयो। त्यसै बेला रुस ढल्यो। ऊसँग इन्धन र खाने कुरा केही थिएन। उखु र सुर्ती किन्ने कोही छैन। त्यस्तो स्थितिमा फिडेल क्यास्ट्रो आफैँ साइकल लिएर सडकमा अघि बढे। उनले भने, ‘सबै जना साइकल चढ’। चीनबाट लाखौँलाख साइकल झिकाइयो। क्यास्ट्रोले नै साइकल चढेपछि मन्त्रीहरूले चढे। जनताले चढे। आज ऊ अमेरिकाको नाकैमुनि समाजवादको झन्डा फहराउँदै बाँचिरहेको छ। किन? ऊसँग स्वतन्त्र सोच छ, स्वास्थ्य र शिक्षा छ। तर, हाम्रो शिक्षा नै गलत छ। हामीसँग आफ्नो उत्पादन केही छैन, तर नेतालाई महँगा गाडी चाहिएको छ। आलिसान महलहरू चाहिएको छ। दर्जनौँ सुसारे र सहयोगी चाहिएको छ। लाखौँ तलब भत्ता चाहिएको छ। त्यतिले नपुगेर भ्रष्टाचार पनि लिप्त छन्। तर, जनताको जीवनले परिवर्तनको अनुभूति गर्न पाएको छैन। यस्तो गलत अभ्यासमा लिप्त नेतृत्वको कारण देश उँभो लाग्न नसकेको तितो यथार्थ हो।

पार्थ पुस्तकमा लेख्छन्, ‘कम्युनिस्टले अरूभन्दा अलग के गर्छ? पुँजीवादले म भन्छ, कम्युनिस्टले हामी भन्छ। पुँजीवादले होडमा र कम्युनिस्टले सहकार्यमा जोड दिन्छ। पुँजीवादी उछिन्ने कुरा गर्छ, मार्क्सवादी सँगै पुगौँ भन्छ। सडकमा समाजवादको नारा लगाएर सत्तामा पुँजीपतिको पूजा गर्ने नेतृत्वको कारण आज देशमा युवालाई रोक्न सक्ने अवस्था छैन। दिनदिनै युवा अमिलो मन लिएर देश छाड्नुपर्ने बाध्यता हामी टुलुटुलु हेर्न बाध्य छौँ। यसरी देश छाड्नेमा सर्वसाधारण मात्र छैनन्, दलका नेता कार्यकर्ताको पनि लर्को छ।’

उनी भन्छन्, ‘हिजो युद्धकालमा प्रचण्डले सिलाबरको थालमा भात खाँदा जनता खुशी हुन्थे। नेता र हामी एउटै हौँ ठान्थे। तर, अहिले नेतृत्वको भड्किलो दैनिकी देखेपछि जनता वाक्क दिक्क हुनु अनौठो कुरा होइन। नेताको नैतिक आचरण मुख्य कुरा हो। हाम्रा नेता चाहे कम्युनिस्ट हुन् या अरू कुनै सबैले नैतिकतालाई लत्त्याएका छन्।’

‘हाम्रो सारा जीवन, जवानी देशको राजनीतिक रूपान्तरणमा खर्च गरियो। राजतन्त्रलाई त हटायौँ तर पुँजीवाद हटाउन सकेनौँ। तिमीहरू सक्छौँ गर, हामी त पुराना भइसक्यौँ, हाम्रो अनुभवलाई अव तिमीहरूको तागतसँग संयोजित गर’ भन्नुपर्ने पार्थको मत छ। तर पार्थका अनुसार अहिलेको नेतृत्व त्यसो भन्न सकिरहेका छैनन्। उनी लेख्छन्, ‘यो चुनौती स्वीकार गरेर नयाँ पिँढी मैदानमा नआएसम्म पुँजीवाद जब्बर बनिरहने र माओवादी पार्टी नै ‘क्रोनी क्यापिटालिज्म’को साधनमा फेरिन सक्ने खतरा पनि छ।’

पार्थका अनुसार ‘जो जिता वही सिकन्दर’ भन्ने चेतनाले समाज फेरिँदैन। नेपाली कम्युनिस्ट आन्दोलनमा अब नयाँ राजनीतिक कार्यदिशा छैन। अहिलेको राजनीति यथास्थितिवादी र ‘चुनावदेखि चुनाव’सम्म मात्रै केन्द्रित र लक्षित देखिन्छ। यो प्रश्न पछिल्लो राजनीतिमा पेचिलो बन्दै गइरहेको छ। हरेक राजनीतिक दल ठेकेदार र पुँजीपतिकै कब्जामा रहेको र सांसददेखि मन्त्री हुन् अथवा राज्यको विभिन्न पदहरू लिनको लागि अर्बाैं खर्च गरेर पार्टी नै कब्जा गरिने पार्थ मत छ। यसले नेपाली राजनीति धुमिल त भएको छ नै, समाज विकासमा राजनीतिले जुन रफ्तारको गति लिनुपर्ने थियो, त्यो हुन सकेको छैन। राजनीति ‘मूलबाटो’ बिराउँदै अन्यत्रै लाग्दै छ।

पार्थका अनुसार समाजवाद लोकतन्त्रको पनि उच्चतम विन्दु हो। रोजा लक्जेम्बर्ग भन्ने गर्थिन्, 'राजनीतिक स्वतन्त्रताविना समाजवाद निसास्सिएर मर्‍यो।' अहिले हामीकहाँ भिजनरी नेतृत्वविना राजनीति मर्दै गएको पार्थको ठहर छ। जनताका सपना धूलिसात् हुँदै जाँदा देशलाई निकास दिने गरी नेतृत्व लिने नेतृत्वको पनि लगभग खडेरी नै लागेको छ। यस्ता धेरै विषय पुस्तकका समेटिएका छन्। पुस्तकले नेपाली राजनीति, यसका नेतृत्वलाई प्रहार गर्नुको साथसाथै गहिरो चिरफार गरेको छ। 

लेखक पार्थ आफैँ लामो समय राजनीतिमा बिताए। संसद् र मन्त्री भए। पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा रहेर काम गरे। राजनीतिमा रहेर आफूले चाहिँ के गरे? गाउँ गाउँका जनतालाई पक्कै क्रान्तिपछि यसो हुनेछ भनेर उनले पनि आश्वासन बाँडेका थिए! त्यसमा उनी आफैँले कति पहल र प्रगति गर्न सके या सकेनन्? केही उपलब्धि भयो वा भएन? पुस्तकमै उनले आत्मसमीक्षा गर्नुपर्ने थियो, जुन गरेका छैनन्। पुस्तक धेरै अर्थमा खँदिलो भए पनि यो प्रश्न भने बाँकी नै रहन्छ–जबसम्म नेताले स्वच्छ मनले आत्मसमीक्षा गर्दैनन्, पछिल्लो पुस्ताले के सिक्ने? के अनुसरण गर्ने?