२७ वर्षदेखि नुनथलाडाँडामा चिया बेचिरहेकी विरस

दिक्तेल रुपाकोट मझुवागढी–१३ की विरस तामाङले मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डको नुनथलाडाँडामा २०५४ सालदेखि चिया पसल सञ्चालन गरिरहेकी छन्।

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ४७ वर्षीया विरस तामाङले चिया बिक्री गर्न थालेको २७ वर्ष पूरा भयो। 

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डको नुनथलाडाँडामा चिया पसल स्थापना गरेर २०५४ सालदेखि चिया बेच्न थालेकी हुन्। अहिले खर्च कटाएर मासिक ५० हजार रुपैयाँभन्दा बढी बचत गर्दै आएकी छन्। 

समुद्री सतहबाट एक हजार ८२३ मिटर उचाइमा पर्ने नुनथलाको चिसो सिरेटोमा अगेना नजिकै बसेर चियाको चुस्की तान्नेहरूको चहलपहल हरेक दिन बिहानदेखि बेलुका अबेरसम्म हुन्छ। विरसको आफ्नै नामबाट सञ्चालन गरिएको ‘विरस होटल एन्ड लज’मा चिसासँगै खाजाको रूपमा दूधको छाली र चिउरा खान पाइन्छ। 

चिया तथा छालीका लागि दैनिक २५ करुवा दूध खपत हुने गरेको छ। नुनथलाकै विभिन्न टोलका किसानको घरबाट प्रतिकुरुवा ४० रुपैयाँमा दूध खरिद गर्ने गरिएको विरसले बताइन्। “काठमाडौँ तथा तराईका विभिन्न जिल्ला जाने यात्रु यहाँ चिया खान पस्नुहुन्छ,” उनले भनिन्।

मध्यपहाडी लोकमार्गमा पर्ने नुनथला पर्यटकीय क्षेत्र हो। यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर होटल तथा चिया पसल सञ्चालन गरिएको हो। तीन सन्तानकी आमा विरसलाई उनका श्रीमान् मानसिं तामाङले सहयोग गर्दै आएका छन्। शुरूमा खाना तथा खाजा पनि बिक्री गर्थिन्। पछिल्लो समय चिया र छाली चिउरामात्र बिक्री गर्छिन्। छाली र चिउरा प्रति बटुका १०० रुपैयाँ पर्छ। 

एक छोरा र दुई छोरीको शिक्षादीक्षा तथा पालनपोषण चिया बिक्री गरेर आएको रकमले धानेको उनले सुनाइन। जेठी छोरीले  स्नातकोत्तर उत्तीर्ण गरेकी छन्। अर्की छोरीले स्नातक तथा छोराले कक्षा १२ उत्तीर्ण गरिसकेका छन्। तीनैजना अहिले अध्ययनकै सिलसिला जापानमा छन्।