कोभिड र भूकम्पजस्ता विपद् आइपरे नर्समाथि झनै कार्यबोझ थपिने हुन्छ। नेपालीको जनस्वास्थ्यलाई महत्त्व दिने हो भने नर्सको बढ्दो विदेशमोह न्यूनीकरण गर्न उपयुक्त कदम चाल्न ढिलो हुँदै छ।
स्वास्थ्य उपचार गराउन जाँदा स्वास्थ्य संस्थामा नर्सको झर्कोफर्को र बेवास्ता तपाईंले सुन्नु/भोग्नु परेको छ कि छैन? छैन भने नेपालमा आगामी केही वर्ष तपाईंले यस्तो बेहोर्नुपर्ने छ। भोग्नु भएको छ भने आगामी दिनमा पहिलेभन्दा बढी त्यस्तो बेहोर्नुपर्नेछ। काठमाडौँ उपत्यकाभित्रका स्वास्थ्य संस्थामा काम गर्ने केही नर्ससँग गरेको छलफलका आधारमा यो निचोड निक्लेको हो।
महँगो शिक्षा कम तलब
अहिले 'पीसीएल नर्सिङ' (प्रोफिसिएन्सी सर्टिफिकेट लेभल) पढ्न लगभग पाँच लाख र बीएन (ब्याचलर इन् नर्सिङ) गर्न सातदेखि १० लाख रुपैयाँ खर्च हुन्छ। त्यसमा छात्रवृत्ति पाउन पनि सकिन्छ, नपाउन पनि सकिन्छ। कुराकानीका क्रममा, पढाइ सकिएपछि सरकारी अस्पतालमा नाम निकाल्न धेरै गाह्रो हुने गरेको अधिकांश नर्सले बताए। साथसाथै सरकारी अस्पतालमा नाम निकाल्न नेता या ठूला मानिसका आफन्तको ‘सेटिङ’ हुन्छ भन्ने विश्वास निजी अस्पतालमा काम गरिरहेका धेरै नर्समा रहेको पनि कुराकानीका क्रममा थाहा पाइयो।
सरकारी अस्पतालका नर्सले ‘सरकारी स्ट्यान्डर्ड’मा तलब पाए पनि त्यसले दैनिक खर्च र बढ्दो महँगी धान्न नसक्ने बताए, जबकि निजी अस्पताल या पोलिक्लिनिकमा काम गरिरहेका नर्सले भने १०-१२ देखि २५ हजारसम्म मासिक तलबमा काम गरिरहेको पाइयो। त्यो साह्रै कम हो। काठमाडौँको एक निजी पोलिक्लिनिकमा काम गरिरहेकी नर्स भन्छिन्, ‘महिनामा फुल टाइम काम गर्दा २२ हजार तलब आउँछ, एक जना बच्चा अल्लि ‘राम्रो’ स्कुलमा राखेर पढाउँदा २६ हजारको बिल महिनामा आउँछ। केले खाने, केले अरू खर्च गर्ने समस्या हुन्छ।’
माथिको अनुभव नर्सिङमा केही अनुभवपछि जागिर खाएकाको हो। कतिपय निजी क्लिनिकले भर्खरै पास भएर आएका ‘फ्रेस’लाई लगभग बिना पारिश्रमिक काममा लगाउँछन्। कतिपय अस्पतालमा काम गर्ने युवा नर्सले खाना/खाजासमेत आफैँ व्यवस्था गर्नुपर्ने हुन्छ। निजी क्लिनिकमा काम गरेकी एक नर्स आफूले पहिलो पटक काम गरेको कार्यालयबारे भन्छिन्, ‘दुई महिना १५ दिन काम गरेपछि, मैले मलाई तलब दिनु न भनेर मागेँ। त्यसपछि ३५ सय रुपैयाँ हातमा राखेर खाजा खाऊ है भनेर दिएँ।’
नमिल्दो बिरामी र नर्सको अनुपात भार
नर्स र बिरामीको अनुपात (रेसियो) नमिलेका कारण पनि नर्सिङ पेसा गाह्रो हुने गरेको कुराकानीमा संलग्न सबै नर्सले बताए। सामान्यतः एक जना नर्सले धान्न सक्नेभन्दा बढी (१५/१६ देखि ४० जना) बिरामी हेर्नुपर्ने अवस्था धेरै अस्पतालमा छ। विशेष गरी सरकारी अस्पतालमा त नर्सले अति नै धेरै बिरामीको सेवा गर्नुपर्ने हुन्छ। सरकारी अस्पतालमा दुई जना नर्सले ४०/५० जना बिरामीको जिम्मा लिनुपर्ने अवस्था छ।
त्यसैगरी अप्रेसन थिएटरमा काम गर्ने नर्स पनि एउटा टेबलमा तीन जना हुन पर्नेमा एकै जनाले बिरामीको पालो मिलाउने, फाइल तयार बनाउने, बिरामीका आफन्तसँग कुरा गर्ने र फाइल डाक्टरकहाँ पुर्याउनेलगायत सबै काम गर्नु परिरहेको बताउँछन्। तीन चार जनाले गर्ने काम निरन्तर एक जनाले सात आठ घण्टासम्म गर्नुपर्दा मानसिक र शारीरिक थकान हुने उनीहरू बताउँछन्। २० वर्ष स्वास्थ्य संस्थामा काम गरेकी एक नर्स भन्छिन्, ‘नर्स पेसामा आऊ भनेर कुनै नर्सले अर्को व्यक्तिलाई भन्दैनन्।’ किन त? उनी भन्छिन्, ‘झट्ट हेर्दा सेतो कोट लगाएर सुकिलोमुकिलो भएर खुशीझैँ देखिने मानिस बोल्दाबोल्दै, वल्लो कोठादेखि पल्लो कोठा गर्दागर्दै थाकेको कसैले देखेका हुन्नन्।’
अनुभवको अवमूल्यन
‘छोरा बिग्रे कमर्स, छोरी बिग्रे नर्स,’ केही समयपहिले नेपाली समाजमा एक पटक यस्तो भनाइ चल्तीमा थियो। कुराकानीकै क्रममा नर्सले बताउनुभएको हो यो कथन। तर नर्सिङ पेसामै भविष्य देखेर या अरूको कुरा सुनेर कैयौँ बाआमा, श्रीमान्, सासू–ससुरा, दाइदिदीले आफ्ना परिवारका युवा महिलालाई नर्सिङ पढाए/पढाइरहेका छन्। (पुरुषले पनि नर्सिङ सेवा पढ्न र सो सेवामा संलग्न हुन मिल्छ भन्ने धेरैलाई लाग्दैन नेपालमा। अझै पनि नर्सिङ महिलाको पेसाझैँ बुझिने गरेको छ।)
पीसीएल नर्सिङको पढाइसके लगत्तै काम/जागिर शुरू गरेपछि नियमित जागिर गर्दै पढ्दै एम एन गरेका, बिसौँ वर्ष कार्य अनुभव भएका नर्सहरूको अहिले पदीय हैसियत उही छ, जुन २० वर्षअगाडि पीसीएल पास गर्दा थियो। सरकारी अस्पतालमा काम गरिरहेकी एक नर्स भन्छिन्, ‘हामीसँगै एमबिबिएस पास भएर काम गरेका डाक्टर 'एमडी' भए, आफ्नो क्षेत्रको विज्ञका रूपमा चिनिन्छन्, हामी नर्सले एमएन गरे पनि केवल स्वास्थ्य सहयोगी मात्र मान्छन् कतिपय मान्छे/सेवाग्राही, हाम्रो अनुभवको मूल्यांकन कतै भइरहेको हुन्न।’ आफ्नो काम र अनुभवको उचित मूल्यांकन नहुँदा अनुभवी र पाका नर्सलाई दिक्क लाग्ने पनि कुराकानीका क्रममा पाइयो।
नर्सप्रतिको हेपाहा व्यवहार
नर्सले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका बेला कैयौँ बिरामी, बिरामीका कुरुवा या भेट्न आउने मानिसले अनावश्यक रूपमा डाक्टरको खोजी गर्ने र त्यस्तो व्यवहारले काम गरिरहेका नर्सलाई आफ्नो कामको अवमूल्यन् गरेझैँ लाग्ने गरेको बताए। सरकारी अस्पतालमा २० वर्षभन्दा बढी काम गरिसकेकी एक जना नर्स भन्छिन्, ‘बिरामी या बिरामीका कुरुवालाई तपाईंलाई यस्तो यस्तो स्वास्थ्य समस्या भएको छ, यो औषधि खानूस् भन्यो, अल्लि पढेलेखेको मानिस छ भने त्यो औषधिबारे मोबाइलमा खोज्ने, यो मिलेन त्यो मिलेन, यसको नेगेटिभ इफेक्ट यो–यो छदेखि डाक्टर बोलाऊसम्म भन्छन्।’
नर्सको उमेर अल्लि थोरैजस्तो लागे बिरामीको रगत निकाल्ने काम गरिरहेका नर्सलाई दुख्ने गरी सुईले घोचेको भन्ने या बेलामा रगत नआउँदा गाली गर्ने पनि आम चलनजस्तै भएको नर्स बताउँछन्। त्यसै गरी सानो उमेरका जस्ता देखिने (दुब्ला पातला र उचाइ मध्यम भएका) नर्सलाई कतिपय बिरामी र बिरामीका आफन्तले रगत निकाल्न नै नदिने गरेको अनुभव पनि उहाँहरूले सुनाउनुभयो। सरकारी अस्पतालको बहिरंग विभाग (ओपीडी)मा आउने बिरामीका आफन्तको छटपटी, देशको राजनीतिसँग जोडेर आफ्नो कामबारे गरिने गलत मूल्यांकनले पनि नर्सलाई अनावश्यक दिकदारीमा पारिरहेको बुझियो।
इमरजेन्सी या क्याबिनमा रहेका नर्सलाई बिरामीले उनीहरूलाई छोएर या बोलेर पनि यौनजन्य हिंसा गर्ने पनि कुराकानीको क्रममा थाहा पाइयो। बिरामीलाई समात्दा कतिपय बिरामीले ‘मलाई त कस्तो–कस्तो भयो’ भनेर दोहोरो अर्थ लाग्ने खालका प्रतिक्रिया दिँदा आफू दुर्व्यवहारमा परेको महसुस हुने एक नर्सले बताइन्। विशेष गरी क्याबिनमा काम गर्ने नर्ससँग बिरामी र कुरुवाले बिरामीका सबै काम नर्सले गरिदिनुपर्ने अपेक्षा राख्छन्। बिरामीलाई खाना खुवाउने, स्याहार गर्ने, सुताइदिने, उठाइदिने, दिसापिसाब गराइदिने, युरिन ब्यागमा भरिएको पिसाब फालिदिने, प्याड फेरिदिने कामको अपेक्षा राखिने उनीहरूको गुनासो छ। ती कामलाई कतिपय नर्सले हत्तपत्त ‘म यो गर्दिनँ’ भन्न पनि सक्दैनन्।
तर माथि उल्लेखित सबै काम नर्सले नै गर्ने भन्ने हुँदैन। नर्सभन्दा बाहेकका अस्पतालमा सरसफाइ सहयोगी/कर्मचारी या बिरामीका परिवारले नै सामान्य अवस्थामा यी काम गर्नुपर्छ। बिरामीका आफन्त छिर्न नमिल्ने अस्पतालका आईसीयूलगायत विशेष उपचार कक्षको हकमा भने फरक व्यवस्था हुने नै भयो। यस्तो अवस्थामा बिरामी या बिरामीका कुरुवालाई नर्सको जिम्मेवारीबारे प्रस्टसँग बुझाउनु आवश्यक देखिन्छ। त्यसै गरी कतिपय बिरामीका आफन्तले आफूहरूले काम गरिरहेको बेला तस्वीर, भिडियो खिच्नेदेखि लाइभ कलमा आफूहरूलाई देखाउँदा दिक्क लाग्ने नर्सले बताए। यसबाट नर्सको पेसागत मर्यादा र व्यक्तिगत जीवनबारे बिरामीका कतिपय हेरालुहरू संवेदनशील नरहेको बुझियो।
बढ्दो विदेश मोहले थपेको कार्यबोझ
कुराकानीका क्रममा नर्सलाई हामीले सोध्यौँ, ‘नेपालमा नर्सिङ पेसाको वर्तमान अवस्था र भविष्य कस्तो देख्नुहुन्छ?’ लगभग सबै उत्तरदाताको जवाफ थियो, ‘पाएसम्म विदेश जाने ट्रेन्ड छ।’ त्यो ट्रेन्डबारे कसैले धरै नर्स विदेश जान चाहन्छन् भन्ने उत्तर दिए, कसैले ९० प्रतिशत, ७० प्रतिशतभन्दा बढी, कसैले ८० प्रतिशत त कसैले प्रतिशतमा भन्न नसकिए पनि नर्समा विदेश जाने लहर बढी भएको धेरैको उत्तर थियो। किन जाने त विदेश भन्ने प्रश्नको जवाफमा जोडिन्छन् माथिका सवाल: अपर्याप्त तलब, अत्यधिक काम, नर्स र बिरामीको अमिल्दो अनुपात, कामका क्रममा नमिल्ने सम्मान, अनुभवको अवमूल्यनदेखि बेरोजगारीसम्म।
नेपालमै काम गर्ने ‘प्रतिबद्ध नर्स’ पनि छन् र तिनको प्रतिबद्धता/बाध्यतामा आफ्ना कलिला छोराछोरी, वृद्ध हुँदै गइरहेका आमाबा तथा सासूससुरा मुख्यतः जोडिएर आउँछन्। पारिवारिक चिन्ता त छँदैछ, तिनमा अर्को चिन्ता पनि बढ्दै छ। नेपालमा पीसीएल नर्सिङको पढाइ धेरै नहुने र भएका नर्स विदेश जाने प्रवृत्ति अहिलेझैँ रहे नेपालमा काम गरिरहेका नर्सलाई कामको भार अहिलेभन्दा बढी पर्नेछ। सामान्य अवस्थामा सकिनेभन्दा धेरै बिरामी हेर्न तिनले परिरहेको छ। कोभिड र भूकम्पजस्ता विपद् आइपरे नर्समाथि झनै कार्यबोझ थपिने हुन्छ। जसले गर्दा नेपालमै बसेर काम गर्न चाहने या बाध्यता भएका भएका नर्समा अत्यधिक कार्यभार थपिने छ।
अन्त्यमा, नेपालीको जनस्वास्थ्यलाई महत्त्व दिने हो भने नर्सको बढ्दो विदेशमोह न्यूनीकरण गर्न उपयुक्त कदम चाल्न ढिलो हुँदै छ। उक्त कदममा देशलाई आवश्यक जनशक्ति उत्पादन, नर्स र बिरामीको अनुपातको उचित मिलान, आधारभूत आवश्यकता पूरा गर्ने तलब, सेवासुविधा नपाए उजुरी गर्ने प्रक्रिया बनाउनु आवश्यक भएको नर्सको माग छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
