सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

सुदूरपश्चिम र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ। साथै सुदूरपश्चिम र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

यस्तै, राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै यी दुई प्रदेशका उच्च पहाडी  तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु तथा केही स्थानमा कुहिरो पनि लागेको छ।