मोरक्काेका मुख्य प्रशिक्षक वालिद रेग्रागुईले कुनै समय ओलिभर जिरूउडसँगै फ्रान्सकाे क्लबबाट खेलेका थिए। बुधबार जिरूउड मोरक्कोविरुद्ध खेलिरहँदा रेग्रागुई ‘टचलाइन’ सम्हालिरहेका हुनेछन्।
मोरक्को र फ्रान्सबीच हुने विश्वकपको सेमिफाइनल खेलको सांस्कृतिक र राजनीतिक अर्थ छ। मोरक्को सन् १९१२–१९५६ सम्म फ्रान्सेली शासनको अधीनमा थियो।
त्यसैले फ्रान्सेली–अल्जेरियाली नागरिक हिचेम सायादी अल बायत रंगशालामा बुधबार राति १२ः४५ बजे हुने यस खेललाई ऐतिहासिक मान्छन्। “मोरक्को फुटबल टोलीका मुख्य प्रशिक्षक वालिद रेग्रागुई यहीँ जन्मेका थिए। हामीले खेलेको ठाउँमा उसले खेलेको छ,” फ्रान्सेली राजधानी पेरिसबाट दक्षिणमा अवस्थित उपनगरको स्थानीय क्लबबाट रोयटर्ससँग सायीदीले भने, “यो खेल ऐतिहासिक बन्ने छ।”
यसै वर्ष मोरक्कोको राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त भएका ४७ वर्षीय प्रशिक्षक रेग्रागुईले पेरिसबाट ३० किलोमिटर टाढा रहेको कोर्बेल–एसोनेसमा फुटबल यात्रा शुरू गरेका थिए। उनले एसी अजाशियो, डेजोन र ग्रेनोबललगायतका फ्रान्सेली क्लबबाट व्यावसायिक फुटबल खेले। ८ वर्ष फ्रान्सली क्लबमा रहँदै आफूलाई निखार्ने मौका पाए।
अजाशियो हुँदा नै मोरक्कोको राष्ट्रिय टोलीको जर्सीसमेत पहिरिए। सन् २००१–०९ सम्म मोरक्कोका लागि ४५ खेल खेलेका उनी अन्ततः सोही टोलीको प्रशिक्षक भए। उनै रेग्रागुईको नेतृत्वमा रहेको मोरक्को पहिलोपटक विश्वकपको सेमिफाइनलमा फ्रान्ससँग खेल्दैछ। बेल्जियम र क्यानडालाई पराजित गरेको मोरक्को समूह ‘एफ’को विजेताका रूपमा प्रि–क्वार्टरफाइनलमा पुगेको थियो।
प्रि–क्वार्टरफाइनलमा स्पेन र क्वार्टरफाइनलमा पोर्चुगललाई पराजित गर्दै ‘ग्लोबल शोपीस्’ प्रतियोगितामा अन्तिम चारमा पुग्ने मोरक्को पहिलो अफ्रिकी र अरब टोली बनेको छ। यसअघि अफ्रिकी देश तीनपटक क्वार्टरफाइनलबाटै बाहिरिएका थिए। सन् १९९० को विश्वकपमा क्यामरून, २००२ मा सेनेगल र २०१० मा घाना क्वार्टरफाइनल पुग्नु नै अफ्रिकी राष्ट्रको लागि सबैभन्दा ठूलो उपलब्धी थियो। त्यस उपलब्धीलाई सार्थकता तुल्याउने लक्ष्यमा छ, मोरक्को।
फ्रान्स र मोरक्को कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भिड्न लागेको यो पहिलो पटक हो। यसअघि भएका ११ खेलमध्ये ७ मा फ्रान्सले मोरक्कोलाई पराजित गरेको छ। १ खेल जितेको मोरक्कोले ३ खेलमा भने फ्रान्सलाई बराबरीमा रोकेको छ। यी दुई टोली अन्तिमपटक सन् २००७ को नोभेम्बर १६ मा भिडेका थिए। उक्त मैत्रीपूर्ण खेल २–२ गोलको बराबरीमा सकिएको थियो।
कोर्बेल–एसोनेसलाई खेलकुद र व्यावसायिक केन्द्रले घेरेको छ। त्यहाँ बसोबास गर्ने धेरै अफ्रिकी मूलका छन्। उनीहरू भन्छन्, “फ्रान्स र मोरक्कोको बुधबारको खेल धेरैको पहिचान र निष्ठासँग जोडिएको छ।” बुधबार पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट व्यावसायिक फुटबल खेल्दै आएका फ्रान्सका फरवार्ड केलिन एम्बाप्पे र मोरक्कोका डिफेन्डर अच्राफ हाकिमी एकअर्काविरूद्ध उत्रिने छन्।
त्यतिमात्रै होइन, फ्रान्सका फरवार्ड ओलिभर जिरूउड मोरक्कोविरुद्ध खेलिरहँदा रेग्रागुई ‘टचलाइन’ सम्हालिरहेका हुनेछन्। सन् २००८ मा ग्रेनोबलका लागि खेल्दा रेग्रागुई र जिरूउडले एकै ‘ड्रेसिङ रूम सेयर’ गरेका थिए। कतार विश्वकप २०२२ मा मोरक्कोको यात्रामा ऐतिहासिक राहतको भाव झल्किन्छ। मोरक्कोले प्रि–क्वार्टरफाइनलमा सन् २०१० को विश्वविजेता तथा आफ्नै पूर्व औपनिवेशिक राष्ट्र स्पेनलाई पेनाल्टी शुटआउटमा ३–० ले पराजित गरेको थियो।
स्पेनले २०औँ शताब्दीमा मोरक्कोको एक भागलाई उपनिवेश बनाएको थियो। अझै पनि स्पेनले मोरक्कोको सेउटा र मेलिलालाई नियन्त्रण गरिरहेको छ। र, बुधबार फ्रान्सको सामना गर्दैछ, जसले सन् १९५६ सम्म मोरोक्कोलाई उपनिवेश बनाएको थियो। खेलको पूर्वसन्ध्यामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक रेग्रागुई बुधबारको खेलमा मात्रै केन्द्रित रहे। “म दोहोरो नागरिक हुँ। फ्रान्सविरुद्ध खेल्न पाउनु सम्मान र खुशीको कुरा हो”, उनले भने, “तर, यो फुटबल हो। म यहाँ फुटबल प्रशिक्षकका रूपमा छु र मलाई जित्नुसँग चासो छ।”
साविक विजेता फ्रान्सले समूह ‘डी’ मा अस्ट्रेलिया, डेनमार्क र ट्युनिसियालाई पराजित गर्दै प्रि–क्वार्टफाइनलमा स्थान बनाएको थियो। प्रि–क्वार्टफाइनलमा पोल्यान्डलाई ३–१ ले पराजित गरेको फ्रान्सलाई सेमिफाइनलमा स्थान बनाउन भने खेलको लगभग अन्तिम मिनेटसम्म कुर्नुपर्याे। उक्त खेलमा इंग्ल्यान्डमाथि २–१ को जित हात पारेको फ्रान्स सन् १९८२ र १९८६ पछि लगातार दुई संस्करणको अन्तिम चारमा पुगेको छ।
फ्रान्स अब इतिहास रच्नबाट दुई कदम मात्र टाढा छ। यदि फ्रान्सेली टोली उपाधि रक्षा गर्न सफल भयो भने पछिल्ला ६० वर्षमा लगातार दुई विश्वकप जित्ने पहिलो टोली बन्नेछ। पछिल्लो पटक यो कीर्तिमान ब्राजिलले बनाएको थियो। उसले सन् १९५८ र १९६२ मा लगातार दुई विश्वकप जितेको थियो। त्यसयता कुनै पनि टोलीले लगातार दुई विश्वकप जित्न सकेको छैन।
यद्यपि, विश्वकपकाे ९२ वर्षे इतिहासमा सफलताको कथा लेख्ने कोसिस गरिरहेका प्रशिक्षक रेग्रागुई बुधबारको खेलमा फ्रान्स आफूहरूसँग डराउनुपर्ने कारण रहेको बताउँछन्। “तपाईंले विश्वकप जित्न सक्नुहुन्छ भनेर मलाई सोधिएको थियो। मैले भने किन नसक्नु? हामी सपना देख्न सक्छौँ, सपना देख्नको लागि पैसा लाग्दैन”, उनी भन्छन्, “हामीले युरोपका शीर्ष टोलीहरूसँग खेलेका छौँ र पराजित गरेका छौँ। अब हामीसँग खेल्न जो कोही डराउनेछ।”
बुधबारको खेलमा फ्रान्सविरूद्ध मैदान उत्रिँदा मोरक्को आफ्ना डिफेन्डर नायफ अगुएर्ड र सेन्टर–ब्याक रोमेन साइसको फिटनेशलाई लिएर बढी चिन्तित हुने छ। तर, प्रशिक्षक रेग्रागुई भने फ्रान्सविरूद्धको खेलमा कुनै परिवर्तन नगर्ने योजनामा छन्। “हामीसँग राम्रा डाक्टर छन् र हरेक दिन राम्रो समाचार पाइरहेका छौँ। कसैलाई पनि खेल्न अस्वीकार गरेका छैनन्। हामी सबैभन्दा राम्रो टोली प्रयोग गर्नेछौँ”, उनी भन्छन्।
बुधबारको खेलमा मोरक्कोलाई फ्रान्सका फरवार्ड केलियन एमबाप्पे र जिरूउडलाई रोक्न चुनौती हुन सक्छ। एम्बाप्पेले जारी विश्वकपमा ५ गोल र २ असिस्ट गरेका छन्। यता, जिरूउडले पनि ४ गोल गरिसकेका छन्। यद्यपि, प्रशिक्षक रेग्रागुईले हाकिमीमाथि पूर्ण विश्वास राखेका छन्। “हाकिमीले आफ्नो विपक्षीलाई रोक्न कुनै कसर बाँकी राख्नेछैनन्”, उनले भने।
-एजेन्सीको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
