जसले सुन्तला बेचेर छोराछोरीलाई बनाए इन्जिनियर र नर्स

बास्कुना, सुर्केमेला र थामडाडाका ४० घरधुरीले आठ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरेका छन्। लटरम्म फलेका सुन्तलाले गाउँ नै रंगिएको छ।

म्याग्दी– वैदेशिक रोजगारीमा चार वर्ष काम गरेर घर फर्किँदा ५३ वर्षीय तिलक गुरुङलाई पाँच जना छोराछोरी पढाउने र घरव्यवहार कसरी चलाउने भन्ने चिन्ता थियो। 

विदेशमा सोचेजस्तो कमाइ नभएपछि फर्किएका उनको अन्य आम्दानीको स्रोत थिएन। तर गाउँमा कृषि पेसा शुरू गरेपछि उनले पछाडि फर्किएर हेर्नु परेको छैन। “२०५८ सालमा केन्जन बहुउद्देश्यीय कृषि फार्म खोलेर कुखुरा र गाईभैँसी पाल्न थालेँ। खेतबारीमा सुन्तलाका बिरुवा लगाएँ,” बेनी नगरपालिका–४ बास्कुनाका उनले भने, “कुखुरा, अण्डा र दूध बेचेर छोराछोरीलाई इन्जिनियर, नर्स र कानून पढाउन सफल भएको छु।”

तिलककी जेठी छोरी यास्ना गुरुङ मेडिकल इन्जिनियर, माइली दिव्या नर्स, साइली सोनिया अधिवक्ता छन्। तीनै बहिनी हाल अस्ट्रेलियामा छन्। काइली साकिरा आर्किटेक्ट इन्जिनियर, कान्छी निलिमाया स्टाफ नर्स र छोरा केन्जनले नेपालमै एरोनिकल इन्जिनियरको स्नातक तहको पढाइलाई अन्तिम चरणमा पुर्‍याएका छन्। 

३५० बोटमा फलेका सुन्तलालाई यसपालि १४ लाख रुपैयाँमा बोटबाट नटिप्दै व्यापारीलाई ठेक्कामा बेचेका गुरुङ कृषि पेसाबाट आर्थिक र सामाजिक पहिचान बनाउन सफल भएका छन्। उनले जिल्ला र केन्द्रीयस्तरको कृषि उद्यमी पुरस्कार पनि पाएका छन्। 

हाल १२ वटा गाईभैँसी पालेका गुरुङले दैनिक ९० लिटर दूध बिक्री गर्छन्। तिलक, श्रीमती तिलकुमारी र अन्य दुई जना कामदार कृषि फार्मको काममा व्यस्त हुन्छन्। बास्कुना कृषि सहकारी संस्थाका सञ्चालक समेत रहेका तिलकले बास्कुनालाई ‘एफएम भिलेज’ (फ्रुट र मिल्क गाउँ) बनाउने अभियानको अगुवाइ गरेका थिए। 

“बास्कुनाका १६ घर सबैले सुन्तला लगाएका र गाईभैँसी पालेका छन्, यसपालि १ करोड ५० लाख बराबरको सुन्तला बिक्री हुने अनुमान गरेका छौँ,” गुरुङले भने, “दैनिक ३०० लिटरभन्दा बढी दूध बेनीमा बिक्री हुन्छ। दुई दशकअघि गरेको एफएम भिलेज बनाउने परिकल्पना पूरा भएको छ।”

बास्कुना, सुर्केमेला र थामडाडाका ४० घरधुरीले आठ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरेका छन्। उत्पादन दिने करिब ५० हजार सुन्तलाका बोट छन्। पूर्व फर्किएको बास्कुना गाउँभरि सुन्तलाखेती छ। लटरम्म फलेका सुन्तलाले गाउँ रंगिएको छ। सुन्तला बगैँचा अवलोकनका लागि कृषक समूह र पाहुना बास्कुना पुग्छन्। 

खेतबारीमा धान, मकै र कोदो बाली रोप्न छाडेर सुन्तलाखेती गरेका कृषकको जीवनस्तरमा परिवर्तन आएको छ। गत वर्ष ५ लाख रुपैयाँ बराबरको सुन्तला बेचेका कृषकले यसपालि १० लाख बराबरको फलाएको बताए। नयाँ बिरुवा थपेको र फल राम्रो लागेकाले उत्पादन बढेको गुरुङले बताए। 

सुन्तला बिक्री गरेर एक जना कृषकले १ लाख रुपैयाँदेखि १४ लाख रुपैयाँसम्म आम्दानी गर्छन्। बास्कुनाको सुन्तला अन्य ठाउँको भन्दा रसिलो, गुलियो र स्वादिलो हुने सुन्तला व्यापारी सुदर्शन गौतमले बताए। नारायणघाट, काठमाडौँ र नुवाकोटमा सुन्तला लैजाने गरेको उनको भनाइ छ।

मूल्यमा एकरूपता कायम गर्न, कृषकको सहजता र सस्तोमा सुन्तला बेच्नुपर्ने समस्या हटाउनका लागि वडाका जनप्रतिनिधि र कृषक समूहले सुन्तलाको प्रतिकिलो न्यूनतम मूल्य ८५ रुपैयाँ कायम गरिएको बेनी नगरपालिका–४ का वडासदस्य सन्दीप खत्रीले बताए। गत वर्ष सुन्तलाको मूल्य ८० रुपैयाँ प्रतिकिलो कायम भएको थियो। 

“यसअघि मंसिरमा रङ र गुलियो नपस्दै सुन्तला बजार पठाउँदा नराम्रो सन्देश गएको थियो। कृषकले व्यापारीले जति भने त्यति मूल्यमा सुन्तला बेच्ने गरेका थिए,” उनले भने, “गत वर्षदेखि कृषकले समान र उचित मूल्य पाउने, पाकेको गुणस्तरीय र स्वादिलो सुन्तला बजारमा जाने वातावरण बनाएका छौँ।” 

कृषि ज्ञान केन्द्रले बास्कुनालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बल्क कार्यक्रममा समेटेको छ। सुन्तला बगैँचा व्यवस्थापन गर्ने औजारका साथै झर्‍याङ, क्रेट, झरेका सुन्तलाको दाना व्यवस्थापन गर्ने प्लास्टिकको थैलोलगायतका सामग्री सहयोग गरिएको केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले बताए।