हिउँदमा पनि रोकिएन कर्णाली नदीको कटान

कर्णाली नदीले टीकापुर नगरपालिका–९ फाँटामा कटान गरिरहेको छ। एक हप्तामा दुई मिटर कटान भएको छ। कटान हुन थालेपछि स्थानीयले जनप्रतिनिधि गुहारेका छन्।

टीकापुर– बर्सातको समयमा मात्र होइन हिउँदमा पनि कैलालीको पूर्वी दक्षिण भेगमा नदी कटानको त्रास छ। कर्णाली नदीले टीकापुर नगरपालिका–९ फाँटामा कटान गरिरहेको छ। एक हप्तामा दुई मिटर कटान भएको छ। 

यसरी कटान हुन थालेपछि स्थानीयले जनप्रतिनिधि गुहारेका छन्। कर्णाली नदीले सत्ती कर्णाली सामुदायिक वन र टीकापुर उद्यानको मन्दिर नजिक कटान गर्दा पानी पस्ने खतरा बढ्दै गएको छ। 

यसैगरी मोहना नदीले खक्रौलामा कटान गरिरहेको छ। नदी कटान हुन थालेपछि स्थानीयले स्थानीय स्रोत साधन प्रयोग गरेर कटान नियन्त्रणमा लागेका छन्। साथै पथरैया नदीले डिबीपुर नजिक कटान गरिरहेको छ। टीकापुर उद्यान नजिक करिब पाँच सय मिटर, सत्ती कर्णाली वन नजिक पाँच सय मिटर, फाँटामा तीन सय मिटर, खक्रौलामा एक किलोमिटर र डिवीपुरमा सात सय मिटर नदी किनारा खतरामा रहेको पाइन्छ। 

यी स्थानमा हिउँदमै नदी नियन्त्रणको काम नभएमा बर्सातमा नदी पस्ने निश्चित रहेको स्थानीय बताउँछन्। कटान भइरहेका कतिपय स्थानमा बोल्डर हालेर पनि केही हदसम्म कटान रोकिने स्थानीयको भनाइ छ। “नदी कटानले सयौँ बिघा जग्गा बगरमा परिणत हुने अवस्था छ,” स्थानीय शेरबहादुर साउदले भने, “पहिले बोल्डर हाल्दा पनि धेरै कटान रोक्न सक्ने अवस्था हुँदाहुँदै कुनै निकायले काम गरेन।”

साउदले वडा नम्बर ६, ७, ८ र ९ त्यसै पनि बाढी प्रभावित क्षेत्र भएकाले यहाँ हजारौँ बिघा जग्गा डुबानमा पर्दा पनि रोकथामका लागि काम नभएको गुनासो गरे। “तत्कालका लागि खक्रौलामा सात ठाउँमा बोल्डर र ठोकर हाल्ने, फाँटामा बोल्डर र बिडिपुरमा बोल्डर हालेको भए धेरै राहत हुने थियो,” स्थानीय समाजसेवी खडक धामीले भने, “बास नै नरहने अवस्था हिउँदमा छ भने बर्सातमा कस्तो होला?” 

मुख्यमन्त्री कमलबहादुर शाह, संघीय सांसद ईश्वरीदेवी न्यौपानेलगायत नेताहरूलाई समस्या देखाइसकेको उनले सुनाए। बिहीबार सांसद न्यौपानेले कटान क्षेत्रको अनुगमन गरेकी थिइन्। अनुगमन गर्ने क्रममा सांसद न्यौपानेले भयावह अवस्था रहेको बताउँदै सक्दो सहयोग गर्ने आश्वासन दिइन्।