मध्यपहाडी लोकमार्ग: हरिचोक–याम्दी सडक कालोपत्र माघभित्र

२०७९ साउनमा दुई वर्षमा सक्ने गरी ठेक्का दिइएको यस खण्डमा निर्माण कम्पनीको ढिलासुस्तीका कारण काम सम्पन्न हुन सकेको थिएन।

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ। कालोपत्रका लागि पूर्वाधार तयारीको काम पूरा भएको छ। करिब दुई हजार २०० मिटर दूरीको उक्त सडक समयमा कालोपत्र नहुँदा जनगुनासो बढेको थियो। 

पर्वतस्थित लोकमार्ग आयोजना कार्यालयका इन्जिनियर किरण सुवेदीले कालोपत्रका लागि ‘प्लान्ट’ राख्ने काम भइरहेको बताए। उनका अनुसार माघभित्र सडक कालोपत्रको काम सम्पन्न हुने गरी प्रक्रिया अगाडि बढेको छ।

२०७९ साउनमा दुई वर्षमा सक्ने गरी ठेक्का दिइएको यस खण्डमा निर्माण कम्पनीको ढिलासुस्तीका कारण काम सम्पन्न हुन सकेको थिएन। समयमा काम नभएपछि आगामी चैतसम्मलाई म्याद थप गरिएको छ। आयोजना कार्यालयले ठेक्का तोड्ने चेतावनी दिएपछि निर्माण कम्पनीले काम शुरू गरेको हो।

यो पोखरा जोड्ने मुख्य सडक हो। पोखरा प्रवेश गर्ने मुख्य सडकमार्गमा धुलो र हिलोको समस्या हुँदा समस्या भएको भन्दै स्थानीय आक्रोशित छन्। त्यसैले छिटो सडक स्तरोन्नतिको माग गर्दै  स्थानीयले पटक–पटक दबाबमूलक कार्यक्रम गर्दै आएका छन्।   

पोखराको जिरो किमीदेखि हरिचोक र याम्दीदेखि फेदीसम्मको सडक तीन वर्षअघि नै कालोपत्र गरिएको थियो । पश्चिमतर्फ पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पूर्वलगायत जिल्लाबाट लोकमार्ग हुँदै दैनिक सयौँ सवारीसाधन पोखरा आउजाउ गर्छन्।