काभ्रे बस दुर्घटनामा मृतकको संख्या १७ पुग्यो, २२ जना घाइते

काभ्रेको बेथानचोकमा भएको बस दुर्घटनामा मृतकको संख्या १७ पुगेको छ भने २२ जना घाइते भएका छन्।

काठमाडौँ– काभ्रेपलान्चोकको बेथानचोकमा भएको बस दुर्घटनामा मृतकको संख्या १७ पुगेको छ। बेथानचोक गाउँपालिका–४ सल्लाफेद भन्ने स्थानमा मंगलबार साँझ ६ बजे बा ३ ख ४३८५ बस दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले १५ जनाको दुर्घटनास्थल तथा अन्य दुई जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु बताए। "आफन्तहरूबाट मृतकको सनाखत गर्ने कार्य भइरहेको छ" उनले भने।

बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटनामा परेको बताइएको छ।

दुर्घटनामा २२ जना घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइतेहरूको बनेपास्थित शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको न्यौपानेले बताए।

"दुर्घटनामा २२ जना घाइते भएका छन्। उनीहरूको बनेपा र धुलिखेलमा उपचार भइरहेको छ। केहीको अवस्था गम्भीर छ", उनले भने। बस दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।