वसन्तपुरमा योमरी पुन्हिको रौनक (तस्वीर)

योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ। नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पूजा आराधना गरेर योमरी पुन्हि मनाउँछन्।

तस्वीर : नेपाल फोटो लाइब्रेरी 

काठमाडौँ– नयाँ धान भित्र्याएको खुशियालीमा नेवार समुदायले आइतबार योमरी पूर्णिमा पर्व हर्षोल्लाससाथ मनाएका छन्। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ। नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस पर्वलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा लिइन्छ। योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ। नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पूजा आराधना गरेर योमरी पुन्हि मनाउँछन्। चेलीबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रूपमा उपहार पठाउने चलन पनि नेवार समुदायमा छ। सोही अवसरमा आइतबार काठमाडौँका नेवार समुदायले वसन्तपुर दरबार क्षेत्रमा र्‍यालीसहित विभिन्न कार्यक्रम आयोजना गरेको छ।