चार्ल्स शोभराज जुन ढंगले अन्तर्राष्ट्रियस्तरमा ‘सिरियल किलर’का रूपमा चिनिएका व्यक्ति हुन्। उनले जुन अपराध गरेको भनिएको छ, त्यसमा कहिल्यै साबित भएनन्।
फ्रान्सेली नागरिक चार्ल्स शोभराज १९ वर्षदेखि केन्द्रीय कारागार जगन्नाथदेवलमा छन्। अब उनी कैदमुक्त हुने भएका छन्। सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बुधबार शोभराजलाई कैदमुक्त गर्न आदेश दिएको छ। उनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा यस्तो आदेश भएको हो। उनले रिटमा ७० वर्ष नाघेका ज्येष्ठ नागरिकले पाउने कैद छुटको सुविधा दिन माग गरेका थिए।
नेपाल आएका एक जना क्यानडेली र अर्की अमेरिकी महिलाको हत्या गरेको ठहर गर्दै पाटन पुनरावेदन अदालतले शोभराजलाई जन्मकैदको फैसला सुनाएको थियो। उनले २०३२ मंसिर २८ मा अमेरिकी महिला र त्यसको तीन दिनपछि क्यानडेली महिलाको हत्या गरेको ठहर भएको थियो। त्यस फैसलाविरुद्ध उनी सर्वोच्च पुगेका थिए। तर, सर्वोच्चले २०६७ साउन १४ गते पुनरावेदनकै फैसला सदर गरेको थियो। शोभराज भने भक्तपुर र काठमाडौँ जिल्ला अदालतमा २०६० सालमा मुद्दा दायर भएदेखि नै जेलमा छन्। यसै सन्दर्भमा उनीबारे ‘चार्ल्स शोभराज : अपराध र सजाय’ पुस्तक लेखेका अधिवक्ता अनन्तराज लुइँटेलसँग उकालोकर्मी सुनीता साखकर्मीले गरेको कुराकानी :
चार्ल्स शोभराजको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिएको छ। किन यस्तो आदेश आयो?
चार्ल्स शोभराज झन्डै २० वर्षदेखि थुनामा थिए। क्यानेडियन नागरिक र अमेरिकी नागरिक दुई जनाको हत्याको विषयमा उनलाई मुद्दा चलेको थियो। त्यो मुद्दामा उनलाई ज्यान मारेको अभियोगमा सजाय भएको थियो। सजाय पूरा गरेका कारण अब छुट्नुपर्ने अदालतले व्याख्या गरिसकेपछि त्यसलाई अन्यथा भन्ने कुरा हुँदैन। तर, चार्ल्स शोभराज आफैँ जुन ढंगले अन्तर्राष्ट्रियस्तरमा ‘सिरियल किलर’का रूपमा चिनिएका व्यक्ति हुन्। उनले जुन अपराध गरेको भनिएको छ, त्यसमा कहिल्यै साबित भएनन्। आफूले नगरेको बताइरहे।
तापनि उनका विषयमा जिल्ला अदालत, तत्कालीन पुनरावेदन अदालत हुँदै सर्वोच्च अदालतसम्म पुगेर जुन फैसला भयो र कैद तोकिएको थियो, त्यो पूरा भएको छ। त्यसमा सर्वोच्च अदालतबाट बन्दी प्रत्यक्षीकरणको रिट जारी भएकोले अन्यथा भन्न सक्ने अवस्था छैन। यो आदेश कानून र संविधानसम्मत छ। नेपालमा चार्ल्स शोभराजजस्तो व्यक्ति पक्राउ पर्ने, थुनामा बस्ने, सजाय पाउने अवस्थासम्म पुग्यो। संसारभरका अन्य अदालतमा समेत दोषी ठहरिन नसकेको व्यक्ति नेपालमा दोषी ठहरिएको अवस्था छ। सर्वोच्च अदालतले परिबन्धात्मक प्रमाणका आधारमा उनीमाथि सजाय भएको अवस्था हो।
पुस्तक लेख्ने क्रममा जेलमा भेट्दा आफूलाई लागेको अभियोगबारे उनी के भन्थे?
उनी आफैँले अदालतको डकुमेन्टमा स्वीकार गरेका छैनन्। मैले किताब लेख्दा धेरैपटक उनीसँग भेटेको छु। त्यतिबेला पनि कहिल्यै अपराध स्वीकार गरेनन्। उनको सजाय भुक्तान भएको कारणले छुट्नुपर्छ भन्ने व्याख्या गरेर अहिले सर्वोच्च अदालतले छाड्ने आदेश गरेको हो।
अब जेलबाट छुटेपछि उनी के गर्लान्?
त्यो विषयमा चार्ल्स शोभराजले अहिलेसम्म ‘म यसो गर्छु’ भनेका छैनन्। उनका विरुद्ध अरू देशमा पनि केही अपराधका विषय बाँकी रहेको हुनसक्छन्। त्यो कुरामा यसै भन्न सक्ने अवस्था छैन। अनुमान गर्दा अन्य मुलुकमा जानेभन्दा पनि आफ्नै देश फ्रान्स फर्कने सम्भावना बढी छ।
उनको स्वास्थ्य अवस्था कस्तो छ?
उमेरका कारणले उनको स्वास्थ्य अवस्था त्यति राम्रो थिएन। तर, उस्तो नराम्रो पनि होइन। जेलमै बसेर मुटुको शल्यक्रिया गरेका व्यक्ति हुन्। अहिले ७८ वर्ष पुगे। त्यसकारण उनको स्वास्थ्य अवस्था नाजुक नै त छैन।
जेलजीवन बिताइरहँदा अधिकांश समय के गर्थे?
मैले भेट्दा उनको मुद्दा चलिरहेको थियो। अधिकांश समय नेपालको कानूनी व्यवस्था अध्ययन गर्थे। रोचक त के भने, वकिलले भन्दा पनि उनी आफैँले मुद्दालाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा विचार, विश्लेषण र अनुसन्धान गरेर दृष्टिकोण बनाउँथे। त्यति चलाख मान्छे हो। सर्वोच्च अदालतको ट्रायल रुममा पनि ‘यो बाटोमा बहस गर’ भनेर वकिलहरूलाई निर्देशन गरेको देखिन्थ्यो। सर्वोच्च अदालतबाट २०६७ सालमा अन्तिम फैसला भयो। यद्यपि, उनलाई जन्मकैदको सजाय भयो।
उनीबारे पुस्तक लेख्न तपाईंलाई केले प्रेरित गरेको थियो?
मैले ‘चार्ल्स शोभराज : अपराध र सजाय’ भन्ने किताब लेखेँ। त्यो आजभन्दा १६ वर्षअगाडि सन् २००६ मा प्रकाशित भएको थियो।
चार्ल्स शोभराज नेपाल आएको भन्ने मैले २००३ सेप्टेम्बरमा सुनेको थिएँ। त्यतिखेर म हिमालयन टाइम्स पत्रिकामा कानूनी क्षेत्रबारे पत्रकारिता गर्थेँ। मलाई कौतूहल भयो। म कानूनको विद्यार्थी, अनुसन्धान गर्नुपर्छ भन्ने दृष्टिकोण भएको व्यक्ति थिएँ। मलाई आपराधिक मुद्दामा रुचि थियो। त्यतिखेर जब अदालतमा शोभराजलाई पेश गरियो, यो विषयमा अध्ययन गर्नुपर्छ भन्ने लाग्यो।
१९९७ मा शोभराज भारतको सर्वोच्च अदालतबाट छुट्दा उसको विषयमा धेरै पत्रपत्रिकामा समाचार आएको थियो। उनी आपराधिक पृष्ठभूमिको मान्छे, यसरी छुट्यो भनेर आउँदा पत्रकारिता शुरू गर्दै गरेको मलाई कौतूहल भएको थियो। उनी नेपालमा समातिएपछि मलाई यो विषयमा अनुसन्धान गर्नुपर्छ भन्ने लागेको हो।
चार्ल्स शोभराज भन्नेबित्तिकै संसारभरि नै कुख्यात सिरियल किलर भन्ने थियो। उनका धेरै उपनाम थिए। त्यसैले वास्तवमा यो मान्छे केचाहिँ हो त भन्ने लागेर मैले उनीबारे अनुसन्धान गरेँ। अनुसन्धानका क्रममा पटकपटक भेटेँ। अदालतको ट्रायलमा पनि भेटेँ। केन्द्रीय कारागारमा पनि धेरैपटक भेटेँ। उनले मलाई ‘बहस गरिदिनु मेरो मुद्दामा’ भनेकोले बहस पनि गरिदिएँ। तर, निरन्तर बहस गरिनँ। किनकि, उनको विषयमा किताब लेखेँ, लेख लेखेँ, अनुसन्धान पनि गरेकोले म निष्पक्ष बस्नुपर्छ भन्ने लाग्यो। पुनरावेदन अदालतमा दुई–तीन पटक बहस गरेँ। सर्वोच्च अदालतमा पनि गरौँ भनेर उनको सासू शकुन्तला थापाले पनि भन्नुहुन्थ्यो। तर पनि म गइनँ।
उनले नेपालमै बसेको लामो समय भयो, नेपाली भाषाको ज्ञान कस्तो छ?
नेपाली नबोले पनि बुझ्छन्। उनी आफैँ पनि विभिन्न भाषामा दख्खल राख्ने मान्छे हुन्। जुन परिवेशमा बस्ने हो, त्यो परिवेश बुझ्नुपर्छ भन्ने मान्यता राख्ने भएकोले शोभराजले नेपाली सिकेको हुनुपर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
