बलिउडमा अहिले पनि मादलको प्रयोग भइरहेको छ, चलिरहेको छ। रिदमका लागि मादलमा राख्न खोज्छन्। पुराना निर्माता, संगीत निर्देशकले मादल राख्न खोज्छन्।
नेपाली फिल्मी संगीतमा सम्भवतः सबैभन्दा चर्चित संगीतस्रष्टा रञ्जित गजमेर बलिउडमा चाहिँ चर्चित मादले (वाद्यवाधक) हुन्। दार्जिलिङमा जन्मिएका उनलाई एसडी र आरडी बर्मनको अर्केस्ट्रा समूहमार्फत बलिउड संगीतमा मादल भित्र्याउने श्रेय जान्छ। पहिले दार्जिलिङ, केही समय काठमाडौँ र सन १९७० यता बम्बई (अहिले मुम्बई) मा साधनारत गजमेरको आत्मकथा ‘मोहनी मादलको’ भर्खरै प्रकाशित भएको छ। शेखर खरेलले लेखेको आत्मकथाको सार्वजनिकीकरणका लागि काठमाडौँ आएका ८१ वर्षीय गजमेरसँग सोही किताबमा आधारित भई उकालोका लागि सुजित महत र प्रविता श्रेष्ठले गरेको कुराकानीः
आत्मकथा लेख्ने साइत लकडाउनमै जुरेछ, यो आत्मकथा 'रेकर्ड' गर्नेबाहेक लकडाउनको समय कसरी सदुपयोग गर्नुभयो?
केही वर्षयता म कतै जाने गरेको छैन। फाट्टफुट्ट कामहरू घरैमा बसेर गर्छु। मुम्बईमा ‘भारतीय एकता संघ’ को बेलाबेला हुने बैठकमा बोलावट हुन्छ, कहिलेकाहीँ त्यहीँ जाने हो। त्यसबाहेक, आरडी बर्मनको सम्झनामा कार्यक्रम हुने गर्छन्, २४ वर्ष उहाँकै टिममा रहेर काम गरेका हुनाले मलाई बोलाउँछन्, सकेसम्म त्यहाँ जान्छु। त्यहाँ पुग्दा भेटिनेहरूले मलाई आरडी बर्मनबारे सोध्छन्। आशा दिदी (भोसले) का सांगितिक कन्सर्टहरूमा सहभागिता जनाउने गर्छु। तर लकडाउनमा भने त्यस्ता कार्यक्रम निकै कम भए। त्यसो हुँदा घरैमा बसेँ। लकडाउनताका नेपाल, अमेरिकाबाट नेपाली भाषी, भुटानी शरणार्थी तथा सिक्किमहरूले गीत बनाइदिन, ‘ट्युन’ भरिदिन भन्नुहुन्थ्यो। लकडाउनमा नेपालमै आएर उहाँहरूले भनेअनुसार गीत बनाएर पठाइदिने काम पनि गरेँ।
तपाईंको बाल्यकालताका दार्जिलिङमा गीत-संगीतको उभार लोभलाग्दो हुने गरेको प्रसंग आत्मकथामा उल्लेख छ, काठमाडौँभन्दा पनि सानो पहाडी शहरमा कला, साहित्य र संगीत त्यो स्तरमा पुग्नुको कारण के होला?
दार्जिलिङ पश्चिम बंगालको एउटा भाग हो। पहिले दार्जिलिङमा धेरैजसो विषयमा बंगालीहरूकै वर्चस्व थियो। बंगालीद्वारा थिचिएका थिए, नेपालीभाषी। उनीहरूको आफ्नै 'रवीन्द्र संगीत' छ, आफ्नै पहिचान छ। तिनै कुराले गर्दा नेपालीभाषीबीच इख पलायो। प्रतिस्पर्धाको भाव जगायो। त्यसो हुँदा बंगालीहरूसँग प्रतिस्पर्धा गर्ने क्रममै हाम्रो कला, साहित्य, संगीत माथि आएको बुझ्नुपर्छ। सानो समूह भएपनि कला अनुरागीहरूलाई उत्प्रेरित गर्ने, सघाउने, प्रेरित गर्ने वातावरण उतिखेर बनेको थियो। दार्जिलिङमा ‘गोर्खा दुःख निवारक सम्मेलन’ भन्ने एउटा भवन छ। त्यो भवन बनाउने स्थानीयहरूमा मेरा भिनाजु हिराबहादुर सिंह पनि हुनुहुन्थ्यो। उहाँ कोलकातामा संगीत सिकेर दार्जिलिङ फर्किनुभएको थियो। साहित्य-संगीतमा रुचि राख्ने उहाँ साहित्यिक वादविवाद र संगीत प्रतियोगितालगायत अनेकौँ कार्यक्रम गर्नुहुन्थ्यो। उतिखेर बंगाली गीतसंगीत प्रतियोगिता हुने गरेकोमा मेरा भिनाजुले नेपाली संगीतको पनि प्रतिस्पर्धा गराउनुभयो। अम्बर गुरुङभन्दा पनि अघिका संगीतकारमा भुटु सुविइन, गायक दलसिंह गहतराज, (उदीतपत्नी दीपा झाका बुवा) थिए। तिनलाई गीत गाउन माइक नै चाहिँदैन थियो। उक्त टोलीमा मेरा भिनाजु पनि हुनुहुन्थ्यो।

नेपाली लोकगीतको भाकामा ‘ए कान्छा’जस्तो गीत अम्बर गुरुङले सिर्जना गर्नुभयो। त्यतिमात्र नभई हामीले नेपालीभाषीको संगीतको न्वारान पनि गर्यौँ। बंगालीहरूको ‘रवीन्द्र संगीत’ हुन्छ भने हाम्रो पनि नेपाली लोक गीतसंगीतको नाम ‘देवकोटा संगीत’ किन नहुने भनियो, त्यही नाम रहन गयो। नेपाली लोकगीतको ट्युनको सहारामा बन्ने जतिपनि गीतलाई हामी ‘देवकोटा संगीत’ भन्थ्यौँ। ‘कान्छा रे कान्छा’, ‘दर्पण–छाँया’ को गीत, गोपाल योञ्जनको ‘कान्छी रे कान्छी’ पनि देवकोटा संगीत भित्रै आउँछ। त्यसबेला दार्जिलिङको साहित्य र संगीत काठमाडौँको भन्दा समृद्ध थियो। काठमाडौँमा रेडियो स्टेसन स्थापनाअघि नै दार्जिलिङमा रेडियो स्टेसन सञ्चालनमा आइसकेको थियो।
तपाईंहरूले बाल्यकालमा भोगेको अवस्थासँग तुलना गर्दा अहिले दार्जिलिङको कला, साहित्य र संगीतको कस्तो अवस्था छ? युवा सहभागिता कस्तो छ?
अम्बर गुरुङपश्चात् म, शरण प्रधान, अरुणा लामा, गोपाल योञ्जन, कर्म योञ्जन, गगन गुरुङ, जितेन्द्र बर्देवा, रुद्र गुरुङ हुँदाको जस्तो माहोल अहिले कहाँ पाउनु र। गर्दैछन् तर, पहिलेको जस्तो आकर्षण छैन। पहिलेको जस्तो नहुनुको कारण धेरै छन्। दार्जिलिङका नेपाली धेरै गरिब छन्। त्यहाँ खेतीपाती हुन्न। र, कसैले न कसैले पैसा कमाए भने कि होटल खोल्छन् कि भवन बनाउँछन्। आर्थिक तथा व्यावहारिक पक्षले प्रभाव पारेको हुनसक्छ।
गोर्खाल्यान्ड आन्दोलनको ‘अलख’ जगाउन सक्रिय युवाहरूको अनुरोधमा अगमसिंह गिरीले ‘नौ लाख तारा उदाए,’ गीत लेखेको भन्नुभएको छ। सो गीतले गोर्खाल्यान्डको आन्दोलनको अलख जगाउन कस्तो भूमिका खेल्यो?
गोर्खाल्यान्ड आन्दोलनको उभारका पछाडि त्यो गीतको गज्जब भूमिका छ। त्यो गीतको मन छुने शब्दः
नसम्झ आज नेपाली सन्चोले आज बाँचेको छ,
काँडाकै माझ पहाडी मूल छैन र कहाँ हाँसेको छ
बुझ्नेको लागि यो गीतको कति गहिरो र बलियो भाव छ। यस्तो आन्दोलनलाई आड–भरोसा दिन गीतसंगीतको महत्त्व हुनेमा दुईमत छैन। जुन थिचोमिचो र अर्कोको दबाबमा बसेर जुन नेपाली संघर्ष गरेर उठेका छन्, त्यसको त नेपालका नेपालीहरूलाई अनुभव नै छैन। भुटानका शरणार्थीले पनि त्यतिकै संघर्ष गरेका छन्। उहाँहरूलाई धेरै थाहा छ।
आरडी बर्मनको समूहमार्फत मादललाई बलिउडमा परिचित गराउनुभयो। त्यसअघि बलिउडमा मादलको प्रयोग बिल्कुलै थिएन? अनि अहिलेका संगीतकारले प्रयोग गर्छन् कि गर्दैनन्?
त्यसअघि बलिउडमा मादलको प्रयोग बिल्कुलै थिएन। मैले मादलको प्रयोग गरेँ। बलिउडमा अहिले पनि मादलको प्रयोग भइरहेको छ, चलिरहेको छ। रिदमको लागि मादलमा राख्न खोज्छन्। पुराना निर्माता, संगीत निर्देशकले मादल राख्न खोज्छन्। त्यसबेला ‘कान्छा हे ना, कान्छाको बोलाओ’ भन्दै मेरो खोजी हुन्थ्यो। अहिले पनि त्यो क्रम रोकिएको छैन। फोन आउँछ कहिले–कहिले। मैले सिकाएकाहरूले पनि काम पाएका छन्।

आत्मकथामा धेरै होनहार प्रतिभाहरू मदिराको लतले गर्दा अल्पायुमै बितेको उल्लेख गर्नुभएको छ। अगमसिंह गिरी, शरण प्रधान आदि। त्यसखाले वातावरण हुँदाहुँदै पनि तपाई भने कसरी मदिराको लतबाट जोगिनुभयो?
मेरो समूहमा सबैभन्दा चाँडो विवाह मेरो भयो। जसले गर्दा म पारिवारिक व्यवहारमा पनि उत्तिकै जिम्मेवार रहेँ। यसले गदो लत नै भने भएन। पिउन त म अहिले पनि पिउँछु तर, त्यस्तो लत हुने गरेर सेवन गर्दिनँ। खाएर मात्नैपर्छ भन्ने मलाई लाग्दैन।
शरण प्रधानको अल्पायुमै निधन नभएको भए कुन उचाइमा पुग्नुहुन्थ्यो? शरण–रञ्जितको जोडीले तहल्कै मच्चाउँथ्यो होला?
हाम्रो समूहमा सबैभन्दा ‘ट्यालेन्टेड’ नै शरण थिए। तर, त्यस्तै भयो! उहाँ नबित्नु भएको भए उत्कृष्ट सिर्जना सिर्जित हुन्थे। हाम्रो जोडीले राम्रो गर्थ्यो होला। अम्बर गुरुङ र गोपाल योञ्जनको काठमाडौँ आउनुअघिसम्म सुमधुर सम्बन्ध थियो तर, काठमाडौँमा आएपछि दुवैमा इगो आयो। दुवैले मिलेर काम गरेको भए नेपाली संगीत कहाँ पुग्थ्यो, कस्तो बन्थ्यो! अम्बर गुरुङले दार्जिलिङ बसेर जस्तो गीत रच्नुभयो, त्यो नेपाल आएर गर्नै सक्नुभएन। खै किन भयो थाहा छैन। गोपाल योञ्जनले भने यहाँ आएर धेरै राम्रो गीत गाउनुभयो। उहाँको राम्रा रचना आए। तर, खै दुई बीच भने किन त्यस्तो भयो।
बम्बैका होनहार प्रतिभाहरूमा चाहिँ मदिराको लत यता जस्तो थियो कि थिएन?
बम्बै पुरै व्यावसायिक भइसकेको थियो। धेरै र ठुल्ठूला सिनेमा बन्थे। होनहारहरू पैसावाल भइहाल्थे। पैसाको कमी नभएपनि रक्सी खानेहरूले पनि उच्चकोटीको मदिरा पिउने, पार्टीसार्टी गर्ने हुन्थ्यो। सबैतिर हुने यही हो। हाम्रातिर कुरै बेग्लै। दार्जिलिङमा रेडियो नहुँदा कसैले बजाउन लगायो भने पैसा दिने होइन। खानेकुरा दिने हो। खानेकुरामा रक्सी सबैभन्दा पहिले दिन्थे। त्यसो हुँदा रक्सी खाने बानी भयो। पूजा, विवाह, व्रतबन्धमा बोलाउन गर्थे। दार्जिलिङमा बाजा बजायो भने, ‘ए यो बाजा बजाउने भयो, अब यसले केही गरी खान सक्दैन’ पनि भन्थे। मेरै परिवारले मलाई भन्थे। हामी गजमेर सुनको व्यवसाय गर्ने हौँ। जसले जे गरे पनि पसलमा बस्थेँ। म बाजावाला भए भनेर तिरस्कार गर्थे। तर, पनि मैले भने संगीतलाई छाडिनँ।
तपाईंको आत्मकथामा पनि अम्बर गुरुङ र गोपाल योञ्जनको इगोबारे पनि उल्लेख गर्नु भएको छ। खासमा अम्बर गुरुङ गुरु र गोपाल योञ्जन चेला नै हुन्?
अम्बर गुरुङले हामीलाई स्कुल बनाएर, टेबल राखेर सिकाएका त होइनन् तर समूहमा बस्दा गीत कम्पोजको लागि उहाँले हामीलाई हाम्रोसामु रहेको बाजा जे–जसरी बजाऊ भन्नुभयो सोहीअनुसार हामी बाजागाजा बजाएर गीत कम्पोज गर्थ्यो। यसलाई पनि एक प्रकारका सिकाइ नै त भन्नुपर्ला नि! सिक्ने मानिसले गुरु नै मान्नु पर्छ। एकलव्यले द्रोणाचार्यलाई गुरु मान्नु नमान्नु उनको आफ्नो व्यक्तिगत निर्णय थियो। त्यस्तै, बुझ्नुपर्ला हामीले पनि।
पुस्तकमा रिन्छेनको प्रसंग छ, त्यतिखेर बागबजारमा एक्लैदुक्लै हिँड्ने प्रसंग छ। त्यसबेला बागबजारमा महिलाहरू एक्लैदुक्लै हिड्ने अवस्था थिएन?
यो भने हामीले पनि सुनेकै भरमा मात्र हो। हामी पनि दार्जिलिङबाट भर्खर काठमाडौँ आएको थियौँ। हाम्रो बसाइँ क्षेत्रपाटीमा थियो। त्यहाँ हामीलाई बागबजारमा बदमास बस्छन्, त्यो क्षेत्र कट्न मुस्किल पर्छ है भन्थे। सोही कारण हामी रिन्छेनलाई पुर्याउन, लिन जान्थ्यौँ। यस्तो अप्रिय घटनाको अनुभव भएको भने होइन।
एकेडेमीमा छिरेपछि, प्रवासी भनेर हेला गरिन्थ्यो भनेर लेख्नुभएको छ, त्यसबेलाको कस्तो केही गुटबन्दी हुने गर्थ्यो वा अन्य केही?
गुटबन्दी त होइन तर, महाराजाधिराज हुँदा यहाँ (नेपाल) का कति कलाकारले गोरखा दक्षिणबाहु लगायतका पदवी पाए। यस्ता सम्मान पाए भन्नुहुन्थ्यो। हामी बाहिरकारहरूले केही पाएनौँ। बाहिरकाहरूले जति नै गरेपनि उनीहरूले केही पनि पाउँदैन थिए। खाली महेन्द्र महाराजाधिराजले अम्बर गुरुङ दार्जिलिङको संगीतकार भनेर चिनाएपछि हामी सबै यहाँ आएका हौँ। अलिकति सम्मान र इज्जत महेन्द्र सरकार रहँदा हामीले पाएका हौँ।
यसको अर्थ महेन्द्रको सरकारका पालामा भएको/पाएको जति सम्मान वीरेन्द्रको पालामा भएन?
खासै भएन नै भन्नुपर्यो। मैले त प्रायः चलचित्रको लागि नै काम गरे। नेपालको पहिलो फिचर फिल्म आमा बन्दा संगीतका लागि यहाँ कसैलाई पत्याएन। जबकि यहाँ पनि राम्रा संगीतकार थिए। र, कलकत्ताको ‘भी भरसारा’ भन्नेलाई दिइयो। जसले एकदम राम्रो काम गर्नुहुन्छ। नातिकाजी दाइ, शिवशंकरहरूले अलिअलि गाउन मौका पाउनुभयो। तर, हामी बाहिरको नेपालीले भने चान्स नै पाएनौँ।

अम्बर गुरुङले अर्केस्ट्रा सेटको लागि यी–यी बाजा आवश्यक छ भनेर लिस्ट बनाएका थिए। तर, त्यसबेला चुक्लिबाजहरूले चुक्ली लगाएर किन्न दिएनन्। त्यसपछि त महेन्द्र सरकार पनि बिते, आर्केस्ट्राको कुरै हरायो भन्नुहुन्छ, तपाईं। यदि त्यसबखत अर्कोस्ट्राको सेट आएको भए रञ्जित गजमेर नेपालमै रोकिन्थे होलान्?
रोकिनसक्थेँ। कारण, त्यसबखत अम्बर दाइ एक्लै पर्नुभयो। उहाँबाट सबै कन्ट्रोल भएन। उहाँलाई सघाउने मै थिएँ। ‘नौ लाख तारा’गीतको रेकर्डिङदेखि उहाँसँग सहकार्य थियो। अर्केस्ट्राको सेट आएको भए अम्बर दाइकै कारण पनि म काठमाडौँमै रोकिनसक्थेँ।
उता, नगेन्द्र थापासँग यहाँ गोपाल योञ्जन पढ्न आउनुभयो। यहाँ उहाँको भेट नारायण गोपालसँग भयो। उहाँहरूको सहकार्य बढ्यो। रेडियो नेपामला हप्तैपिच्छे रेकर्डिङ हुनथाल्यो। कारण, नगेन्द्र थापाका दाइ तत्कालीन प्रधानमन्त्री थिए। उहाँले भने पनि रेकर्डिङको लागि समस्या नै भएन नि।
मुम्बई नगएको भएर ‘रञ्जित गजमेर’ कस्तो हुन्थ्यो होला?
मुम्बई नगएको भए पनि गीत/संगीतमै रहिन्थ्यो, रमाइन्थ्यो। नेपालमा पनि एकाधै सही फिल्मको संगीतकार बनिन्थ्यो होला। अम्बर दाइ, गोपाल योञ्जनले यही संगीत साधना गरेरै बिताउनुभएको हो। मुम्बईमा जे-जति सिकेँ त्यो भने हुँदैन थियो होला। अन्य समकालीन कलाकारको जस्तै संघर्ष हुन्थ्योहोला।
पुस्तकमा भन्नुभएअनुसार, किरण खरेलले ट्युनमा गीत लेख्न थालनी गर्ने पहिलो गीतकार भन्नुभएको छ, खासमा ट्युनमा गीत लेख्ने र अरूमा के फरक छ?
कुनै सिनेमामा काम गर्दा संगीतको लागि निर्देशकले संगीत निर्देशकलाई फिल्ममा ‘यस्तो सिचुएशन छ, हिरो यसरी आउँछ, हिरोइन यसरी आउँछिन्,’ भन्दै ट्युन बनाइदिन भन्छ। ट्युन बनेपछि संगीत निर्देशकले पनि गीतकारलाई ट्युन सुनाएर सिचुएशन बताइदिएपछि गीतकारले सुरसँगै शब्द बुन्न थाल्छ। बलिउडमा यसरी काम हुन्छ। हामीले सहकार्य गरेका आनन्द बक्शी, मजरुह सुल्तानपुरी, गुलशन बाबरा आदिले यसैगरी गीत रच्थे। नेपालमा यो शैलीमा लेख्ने किरण खरेल पहिलो हुनुहुन्छ, निर शाहले पनि गर्नुहुन्छ। नेपालमा अहिले पनि गीत ल्याएर ट्युन गर्दिनु भन्ने चलनचल्तीमा छ।
किताबमा आरडी बर्मनको अर्केस्ट्रामा धेरै नेपाली थिए, नेपालीमै ‘यसो गर, उसो गर’ भनेको सुनिन्थ्यो लेख्नुभएको छ, ‘१९४२ , अ लभ स्टोरी’मा नायिका, सिनेमाटोग्राफर आदि पनि नेपाली/नेपालीभाषी भएका कारण निर्माता/निर्देशक विधुविनोद चोपडाले ‘यो त नेपालीकै सिनेमा हो’ भनेको उल्लेख छ। अहिले बलिउडमा नेपाली/नेपालीभाषीको उपस्थिति कस्तो छ?
बलिउडमा पहिलेजस्तो उपस्थिति छैन। त्योबेला मनोहरी दाइ हुनुहुन्थ्यो, ‘टप एरेन्जर’ र संगीतकार पनि। उहाँको ख्याति यति थियो कि संगीतको ठूल्ठूला जमघटमा पनि उहाँ पुग्दा उठेर सम्मान दिइन्थ्यो। उहाँ भने जहाँ–जहाँ नेपालीहरू छन्, त्यहाँ गएर बस्ने रमाइलो गर्ने। त्यसबाहेक, लुई दाइ (ब्याङ्स) हुनुहुन्थ्यो। उहाँचाहिँ अंग्रेजीमात्र बोल्न रुचाउनुहुन्थ्यो। उहाँलाई धेरैले क्रिश्चियन भन्ठान्छन् तर, उहाँ दशैँ–तिहार पनि मज्जाले मनाउनुहुन्छ। लुई दाइको बाजे–बराजुकै पालादेखि अंग्रेज सेनामा ब्यान्डमास्टर हुनुहुन्थ्यो। लुई दाइ मनोहरी दाइको मामाको छोरा हो। अंग्रेज सेनाको टोलीमा पितापुर्खाले ट्रम्पेट बजाएको फोटो लन्डनको पेपरमा प्रकाशित थिए, मनोहरी दाइ आफ्ना पितापुर्खाको त्यस्ता फोटा मलाई देखाउनु हुन्थ्यो।
दार्जिलिङको कला, साहित्यमा तपाईंहरूको समुदायको राम्रो उपस्थिति देखिन्छ। जातव्यवस्था, उत्पीडनको बाबजुद पनि दार्जिलिङमा प्रतिभाहरू फक्रिएर आउने के कारण थियो? कि यहाँजस्तो छुवाछुत/उत्पीडन त्यहाँ थिएन?
दाजिलिङमा त यस्तो जातभातको कुरा कहाँ हुनु। मैले नै नेपालमा आएर मात्र अनुभव गरेको हुँ। क्षेत्रपाटीमा आएर डेरा बस्दा घरसाउ, छरछिमेकले यहाँहरू कुन जात हँ भन्थे। शुरूमा त बुझ्दैनथेँ, पछिमात्र थाहा भयो, यस्तो पनि हुने रहेछ भनेर।

बलिउडमा नेपाली तथा नेपालीभाषीहरूमा सबैभन्दा ‘तरक्की’ गर्ने को हो भन्ठान्नुहुन्छ?
बलिउडमा सबैभन्दा माथि पुगेका बीएस थापा हुन्। देहरादुनका उहाँ नेपाली र नेपालीमूलका सबैलाई औधी प्रेम गर्नुहुन्थ्यो। सुनिल दत्तको ‘अजन्ता आर्ट्स’ मा एक्टिङ सिकाउने उहाँका शिष्यमा सञ्जय दत्त पनि पर्छन्। बलिउडमा धेरैले उहाँलाई आदर गर्छन्। उहाँभन्दा पनि एकदम अगाडिचाहिँ सितारादेवी हुन्। आफ्नो समयमा उहाँजत्तिको कुशल डान्सर शायदै कोही थिए। सिनेमामा लिड रोल खेल्नुभएको छ, सेटमा नेपाली नै बोल्नुहुन्थ्यो भनेको सुनिन्छ। उहाँको छोरा रञ्जित बारोट संगीतकार हुनुहुन्छ। बलिउड सिनेमाहरूमा संगीत भर्नुभएको छ।
‘कुसुमे रुमाल’को सुटिङ सकिने सकिनेबेलामा रकमको अभाव भएपछि भित्र्याइएका उद्धव पौडेलले पछि पुरै फिल्मलाई आफ्नो ब्यानरमा दर्ता गराई तपाईंहरूलाई सुको नदिएको आत्मकथामा उल्लेख गर्नुभएको छ। तपाईंहरूले लगानी गरेको रकमधरी नपाउनु भएको?
बिल्कुल हो। नामबाहेक केहीपनि आएन। हाम्रो लगानी सबै डुब्यो। त्यसैको मुनाफाले पौडेलले सिनेमा हल बनाएको किताबमै उल्लेख छ।
किताबमा एउटा प्रंसग छ, तपाईं परिवारैसहित भारतीयसँग बिहे भएकी नाताकी दिदीकहाँ जानुहुन्छ। दिदीले ढाँटेर बिहे गरेकाले आफूकहाँ नेपाली नबोलिदिन अनुरोध गर्नुहुन्छ। बालबच्चाले पनि नेपाली नबोलिदिउन भनेपछि तपाईंहरू दिदीको अपार्टमेन्टमा उक्लिँदै गरेको लिफ्टमा तल ओर्लिने बटन थिचेर फर्किनुहुन्छ। नेपाली नबोल्न त्यस्तो निषेध गर्नुको कारण के रहेछ? ती दिदीसँग पछि आनाजाना भयो कि भएन?
खासै त्यस्तो केही पनि होइन। त्यो घटनापछि दिदी आएर यहाँ यस्तै हुन्छ भन्नुभयो। ‘कस्तो माइन्ड गरेको, यसो गर्नु हुन्न, पछि सबै ठिक भइहाल्छ नि’ भन्न थाल्नुभयो। पछि हाम्रो आउजाउ भयो। ती दिदीको बिहे पन्जाबीसँग भएको थियो। म संगीतमा लागेको थाहा पाएपछि ती भेनाले मिलेर म्युजिक लाइब्रेरी बनाऔँ भने। लाइब्रेरीमा किशोरकुमार, मोहम्मद रफीलगायतका विख्यात कलाकारहरूको सिर्जना राख्ने र निर्माताहरूलाई आवश्यकताअनुसार गीत–संगीत सुनाएर बिक्री गर्न मिल्ने योजना सुनाएका थिए।
पुस्तकको एक भाग श्रीमती कुसुमको देहान्तबारे लेख्नुभएको छ। उहाँको प्रस्थानपछि कत्तिको रित्तो महशुस हुन्छ? मुम्बईमा दिनहरू कसरी बितिरहेका छन्?
मलाई एक्लोपनको महशुस नहोस् भनेर मेरा छोराछोरी, नातिनातिनाले अनेक गर्छन्। उनीहरूको प्रयासले गर्दा दिन राम्रै बित्छ। सबैजना सुते पछिचाहिँ राती झसंग हुने रहेछ। एक्लोपन/रित्तोपन पनि महशुस हुने रहेछ। छोराले ल्याइदिएको कम्प्युटरमै धेरै काम गर्छु। कुसुमले लेखेको पुराना गीतमा ट्युन भर्ने गर्छु बेलाबखत। भुटानी शरर्णाीहरूले ट्युन गर्दिनुपर्यो भनेर गीत पठाउँछन्, त्योपनि गर्छु। टेलिशृंखलाका लागि टाइटल सङ कम्पोजका कामहरू आउँछन्।
तपाईंले बलिउडलाई मादलसँग चिनापर्ची गराउनुभयो, बलिउडको मादलसँग मित्रता कहिलेसम्म रहला? अन्य नेपाली बाजाको पनि बलिउडसँग चिनजान, मित्रता हुने सम्भावना छैन?
संगीतमा कुन बाजा कति अवधि रहन्छ त भन्न सकिन्न। तर, नेपाली संगीतमा नेपालीपन भएन भने मज्जा हुन्न। नेपाली गीत ‘मोहनी लाग्ला है’ गीत नारायण गोपालको टोनमा आशा दिदीले गाएकी हुन्। ‘दर्पण छाया’ का गीतमा साधना सरगमले कस्तो राम्रो ट्युनमा गाएकी छन्। त्यही कारण नेपाली गीत भनिएको हो। यसले.आफ्नै स्वाद र स्थान छ।
तपाईं नेपाली संगीतको स्वर्णिमकाल कुन कालखण्डलाई मान्नुहुन्छ?
सन् १९५२ देखि १९६८ सम्म दार्जिलिङमा रहेँ। १९६४ मा ‘नौ लाख तारा’ गीत आयो। त्यसपछि, गोपाल योञ्जनका पनि थुप्रै गीत आए। कर्म योञ्जन र दिल माया खातीको ‘सम्झन बुझन’ भन्ने गीत त्यही ताकाको हो। जसमा ट्युन कर्म योञ्जन र शब्द गोपाल योञ्जनको थियो। सायद, त्यही काल नै नेपाली संगीतको स्वर्णिम काल थियो, मेरा लागि।
कुनै समय उत्कृष्ट सर्जकहरू जन्माउने उर्वर भूमि दार्जिलिङ अहिले किन सुख्खा भयो?
पहिलेजस्तो त पक्कै छैन तैपनि युवाहरू गर्दैछन्। प्रयास गर्नु राम्रो हो। माटो बिर्सनु भएन, त्यति हो। अलिकति नेपाली माटोको बास्ना भने आउनैपर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
