पार्टीभित्र हामीले ‘जान्नेलाई छान्ने’ भन्दै योग्यता अर्थात् मेरिटको आधारमा पठाउने नीति लिएका थियौँ। तर, योग्यता नै नहेरी महामन्त्री मुकुल ढकालका निकटहरूलाई छानिएकोमा मेरो असन्तुष्टि हो।
“म नि झन्डै सांसद भएको थिएँ । हुन्थेँ पनि, यदि राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालजीले आफ्नो गुरुमालाई गुरुदक्षिणा र आफ्नो कर्मचारीलाई अवसर दिन नपरेको भए।” राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले शनिबार फेसबुकमा यस्तो स्टेटस लेखेका थिए।
रास्वपाको समानुपातिक सूचीमा कार्की खसआर्य क्लस्टरको दोस्रो नम्बरमा थिए। तर, सांसद बन्न नपाएपछि उनी असन्तुष्ट छन्। उनले आफू सांसद हुन नपाउनुको दोष महामन्त्री ढकाललाई लगाएका छन्। यही विषयमा गणेश कार्कीसँग उकालोका लागि आदित्य नेपालले गरेको कुराकानी :
समानुपातिक सांसद चयनको विषयलाई लिएर तपाईंले सामाजिक सञ्जालमै असन्तुष्टि पोख्नुभयो। यस्तो अवस्था किन आयो?
हामीले आमनिर्वाचन अगावै पार्टीभित्र प्राथमिक निर्वाचन गरेर १२ वटा क्लस्टरमा उम्मेदवार छानेका थियौँ। पार्टीले गरेको त्यो निर्वाचनको सुनवाइ नै भएन। समानुपातिक सिद्धान्त अनुसार सबै क्लस्टरबाट समावेशी बनाउनु पर्नेमा आफूनिकटका मान्छेलाई राख्न विधि मिचियो। महिलाको संख्या खसआर्यमा बढी हालियो, तर दलितमा दिँदै दिइएन। खसआर्यमा महिला ३३ प्रतिशत पुगिसकेको अवस्थामा आफ्ना मान्छे राख्न त्यहाँ पुरुष एकजना मात्र राखेर महिला दुई जना पठाइयो। पार्टीभित्र हामीले ‘जान्नेलाई छान्ने’ भन्दै योग्यता अर्थात् मेरिटको आधारमा पठाउने नीति लिएका थियौँ। तर, योग्यता नै नहेरी महामन्त्री मुकुल ढकालका निकटहरूलाई छानिएकोमा मेरो असन्तुष्टि हो।
महामन्त्री ढकालले नै तपाईंलाई सांसद हुनबाट रोक्नुभएको हो? कि अरू कारण पनि छन्?
उहाँले नै हो। उहाँकै दुई जना व्यक्तिलाई सांसद् बनाउन मलाई अन्तै एड्जस्ट गर्ने आश्वासन दिइएको थियो। तर, मलाई मेरो व्यवस्थापन होइन, विधिको सही पालना चाहिएको थियो।
स्वतन्त्र पार्टीमा पनि नातावाद र कृपावाद हाबी भएको हो?
एकदम हो, प्रतिनिधित्व गर्ने बेला शुरूमै त्यो देखियो। पहिला थिएन, तर केही दिनदेखि लक्षण देखिइरहेको थियो। शुरूमा विधिको कुरा गरियो। ११ लाखभन्दा बढी मान्छेले समानुपातिकमा भोट दिए। अहिले बसेर सीधा कुरा गरौँ भन्दा त्यसो नगर्ने। आफू खुसी निर्णय गर्ने। यो अभ्यास लोकतान्त्रिक भएन। समानुपातिक सिद्धान्त लागू भएन र प्रारम्भिक निर्वाचन गरेको पनि कुनै अर्थ भएन। पार्टीले मान्छेलाई भ्रमित मात्र बनायो।
मैले त खसआर्यमा खुलामा दोस्रो बढी मत पाएको हो। अहिले छानिनु भएकाले महिलामा पाउनु भएको हो। उहाँहरू पनि खुलामा उठ्न सक्नुहुन्थ्यो। प्रारम्भिक निर्वाचनमा १२ वटा क्लस्टरको नाममा मान्छेलाई भ्रमित बनाइयो। खसआर्यको खुलाबाट पूर्ति नभए पो आरक्षणबाट हेर्ने हो।
प्रारम्भिक निर्वाचनमा दोस्रो बढी मत र पार्टीलाई समानुपातिकमा देशैभरिबाट उल्लेख्य मत आइसकेपछि तपाईंको पनि महत्वकांक्षा बढेको हो?
एउटा मान्छे समानुपातिक सूचीबाट छनौट हुनुपूर्व के-के कल्पना गर्छ? पहिलो त नियमभित्र बस्नु र योग्यता पुगेको हुनु त्यसको आधार हो। विधि प्रक्रिया र नियम नमिच्ने हो भने, र समानुपातिक समावेशी सिद्धान्तअनुसार खुला तथा महिला क्लस्टर के हो बुझ्ने हो भने म सय प्रतिशत पर्छु। योग्यता र योगदानको कुरा गर्ने हो भने त झन् पर्ने हो। पार्टीमा नेतानिकटहरू नै हाबी भए। नजिकका मान्छेलाई सांसद बनाएर एउटा ठूलो अभियानलाई यसरी बदनाम गरेपछि दु:ख लाग्नु स्वाभाविक हो।
तपाईंको असन्तुष्टि एकैपटक बाहिर आयो। के अब यो पार्टीमा रहनुहुन्न?
यस विषयमा मैले अहिले सोच्या छैन। हामीले नयाँ राजनीति गर्नुको अर्थ यही पार्टीमा मौका कुरेर गलत सहँदै बस्छौँ भन्ने होइन। पार्टीभित्रै लड्दै गर्छौँ भनेर पनि बसिँदैन। हामी त यो प्रवृत्तिको विरुद्धमा आएका मान्छे हौँ। जहाँ गलत हुन्छ त्यहाँनिर आफूलाई फाइदा हुन्छ वा हुँदैन भन्ने नहेरी बोल्छौँ। मैले हिजो सामाजिक सञ्जालमा लेख्दैगर्दा कतिले 'सांसद नपाएर लेखेको' भन्छन् भन्ने थाहै थियो। मैले नलेखेर चुप बस्दा 'ओहो! कस्तो त्याग गरेको' भनेर बुझिन्थ्यो होला।
देशका लागि पार्टीले राम्रो मान्छे पठाए म आफू नगएर पनि त भन्न सक्थेँ होला। त्योबेला पार्टीमा मलाई झन् ठूलो मौका आउँथ्यो होला। नआएको पनि होइन, सभापतिज्यूले नै मलाई प्रवक्ता इत्यादीको अफर गर्नुभयो। तर, यसो गर्दा एकदमै त्यागी र शान्त देखिन्थेँ होला। हामी त राजनीति बदल्न आएका हौँ नि। पार्टीले गलत गर्छ भने खबरदारी गर्ने जिम्मा मेरो पनि हो। आफ्नो भूमिकामा आफूलाई गाली आउँछ कि ताली भनेर गलत कुरालाई पक्षपोषण गर्नुहुन्न।
हामीलाई भोट हाल्ने मान्छेहरू काठमाडौँको प्रमुखमा रञ्जु दर्शनालाई भोट हाल्नेहरू हुन्, बालेन शाहलाई भोट हाल्नेहरू हुन्। हामी अलिक फरक किसिमको राजनीति गर्छौं भनेपछि उनीहरूले भोट दिएर सहयोग गरेका हुन्। भोलिपर्सि उनीहरू अर्को अभियानतिर जालान्। हामी गलत अभ्यास गर्छौँ भने हामीलाई बोकेर हिँड्दैनन् नि। अहिले रञ्जुलाई बोकेनन्, विवेकशील साझालाई बोकेनन्। गलत गर्दा हामीलाई किन बोक्छन्?
समानुपातिक पद्धतिमार्फत रास्वपाबाट जो सांसद हुनुभएको छ, उहाँहरू चाहिँ योग्य हुनुहुन्न?
उहाँहरू ल्याकत राख्नुहुन्छ र योग्य पनि हुनुहुन्छ। तर जुन तरिकाले महामन्त्रीज्यूले आफूनिकट सांसद बनाउनुभयो, त्यो तरिका चाहिँ ठीक होइन। अब को भन्दा को बढी योग्य हुनुहुन्छ भन्ने कुरा फरक हो। सबै योग्य हुनुहुन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
