सञ्चालन नहुँदै समस्याका चाङ : के होला पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य?

पोखराको मुहार फेर्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको मिति नजिकिँदा स्थानीय उत्साहित छन्, तर ठूला जहाज अवतरण हुन नसक्ने मात्र नभइ अन्य जोखिमसमेत कायम रहँदा यसको भविष्यमाथि शंका उब्जिएको छ।

तस्वीर : उकालो

पोखरा– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट जनवरी १ तारिख (पुस १७) बाटै उडान शुरू गर्ने नागरिक उड्डयन प्राधिकरणको तयारी छ। केही साताअघि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) समेत गरिएको छ। 

थाइल्यान्डबाट आएको एरो थाई विमानले क्यालिब्रेसन फ्लाइट गरेको थियो। त्यसको प्रतिवेदन भने आइसकेको छैन। यद्यपि, सञ्चालनको लागि तयारी तीव्र बनाइएको विमानस्थलका प्रवक्ता अनुप जोशी बताउँछन्।

विमानस्थल सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार भइसकेका छन्। पोखराको मुहार फेर्ने भनिएको विमानस्थल सञ्चालन हुने मिति नजिकिँदा स्थानीयहरू उत्साहित छन्। तर, विमानस्थलमा हुनसक्ने कतिपय सम्भावित जोखिमलाई अझै सम्बोधन गरिएको छैन।

विमानस्थलबाट दुई किलोमिटरकै दूरीमा ल्यान्डफिल साइट छ। ल्यान्डफिल्ड साइटमा गिद्ध र अन्य कतिपय चराको आवातजावत बढी हुन्छ। पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार चराहरू बासस्थानदेखि पाँच किलोमिटर आसपास आफ्ना गतिविधि गर्छन्। “ल्यान्डफिल्ड साइट नजिक भएको हुनाले विमानस्थलमा पनि चराहरुको गतिविधि हुनसक्छ। त्यसकारण ल्यान्डफिल्ड साइट सार्नैपर्ने हुन्छ।” 

तर, पोखरा महानगरले नयाँ ल्यान्डफिल्ड साइट बनाउनै थालेको छैन। पोखरा महानगरपालिकाका सूचना अधिकारी जीतेन्द्रजंग केसीले ल्यान्डफिल्ड साइटको लागि जग्गा भेटिइनसकेको बताए। “अहिले नयाँ ल्यान्डफिल्ड साइटको टुंगो लागिसकेको छैन। अहिले चालु रहेकै साइटमा हरेक दिन फोहोर पुर्ने र फाल्ने गरिरहेका छौँ”, उनले भने।

उता, विमानस्थलको पूर्वी भागमा रहेको रिठ्ठेपानी डाँडोका कारण विमान उडान अवतरणमा समस्या हुने देखिएपछि डाँडै काट्न शुरू गरिएको छ। अहिले डाँडो १६ मिटर कटान भइसकेको र थप २४ मिटर कटान गर्नुपर्ने विमानस्थलका इन्जिनियर कृष्ण पौडेलले बताए। त्यसबाहेक उडानका लागि आवश्यक सबै खाले पूर्वाधार निर्माण सम्पन्न भइसकेको उनले जानकारी दिए। “निर्माण त लगभग सकियो, अब सञ्चालनकै तयारी हो। सानोतिनो काम त इन्टरनेसनल एअरपोर्टमा भइरहन्छ”, उनले भने।

पौडेलले सबै पूर्वाधार निर्माण सकिएको बताए पनि विमानस्थलमा ‘आयल स्टेशन’ तयार भइसकेको छैन। हाललाई पुरानो विमानस्थलबाटै इन्धनको व्यवस्थापन गरिने पौडेलले नै बताए। दुई वटा ट्यांकर ‘स्ट्यान्डबाई’ राखेर तेलको अभाव नहुने गरी आयल निगमसँग कुरा भएको उनी बताउँछन्।

आयल निगमले इन्धन भण्डारण बनाउन दुई वर्षअघि नै बोलपत्र आह्वान गरे पनि विवादित भएपछि रोकिएको थियो। एक महिनाअघि मात्र भण्डारण बनाउन ठेक्का सम्झौता भएको छ। विमानस्थलमा एक हजार २०० किलोलिटरका तीन वटा डिपो दुई वर्षमा बनाउने‍ गरी सम्झौता भएको आयोजनाले जनाएको छ।

विमानस्थलमा ११ वटा जहाज पार्किङ गर्न मिल्छ। आन्तरिकतर्फ दैनिक ४८ र अन्तर्राष्ट्रियतर्फ ६ वटा उडान तथा अवतरण गर्ने नागरिक उड्डयन प्राधिकरणको तयारी छ । विमानस्थलले वार्षिक आठ लाख यात्रुलाई सेवा दिन सक्छ । 

क्षेत्रीय विमानस्थल मात्र!
पोखरा विमानस्थल चिनियाँ एक्जिम बैंकको २२ अर्ब ऋणमा बनेको हो। यो विमानस्थलबाट १५० देखि १८० यात्रु क्षमता भएका जहाजले मात्रै उडान भर्न सक्छन्। अन्तराष्ट्रिय उडान गर्ने ठूला जहाजले पूर्वी दिशाबाट मात्र उडान र अवतरण गर्न सक्छन्। 

नेपाल वायुसेवा निगम (नेवानि)मा ४० वर्ष विमान उडाएका पाइलट केबी लिम्बू पोखरा विमानस्थलको एउटा दिशाबाट अवतरण र अर्कोबाट उडान गर्दा कुनै समस्या नहुने बताउँछन्। “विमानस्थलको दुई भागबाट टेक अफ र ल्यान्डिङ गर्नेबारे विस्तृतमा अध्ययन गर्नुपर्छ। एउटा साइडबाट एप्रोच (अवतरण) र अर्को साइडबाट डिपार्चर गर्नका लागि त्यति समस्या छैन”, उनले भने। 

विमानस्थलको पूर्वी दिशाबाट अवतरण र सराङ्कोटतर्फबाट दक्षिण–पश्चिम हुँदै उडान गर्न सुरक्षाका दृष्टिकोणले समस्या नभएको लिम्बू बताउँछन्। विमानस्थलको पूर्वी भागमा भइरहेको डाँडो कटानपछि उडान र अवतरण सुरक्षित हुने उनको भनाइ छ। 

यो विमानस्थल अन्तर्राष्ट्रियभन्दा पनि क्षेत्रीय रूपमा प्रयोग गर्न उचित हुने लिम्बूको सुझाव छ। “निजगढको एअरपोर्टलाई चाँडोभन्दा चाँडो बनाउनुपर्छ। त्यहाँ दुई वटा रन वे बनाए पनि भयो। तीन वा चार वटा बनाए पनि केही समस्या भएन। जति लामो बनाए पनि भयो”, उनले भने, “काठमाडौँको र बोर्डर साइडको एअरपोर्टमा टेक्निकल समस्या भइरहन्छ।” 

अधिकांश देशमा दुई वा सोभन्दा बढी रन वे भएका विमानस्थल मात्र अन्तर्राष्ट्रियस्तरको हुने उनी बताउँछन्। “तपाईं हामीलाई जे भने पनि भयो, बाहिरको मान्छेले मान्छन् त? यदि, भैरहवाको एअरपोर्ट इन्टरनेशनल हो भने इन्टरनेशनल नम्स एन्ड कन्डिसनमा इन्डियाले किन उनीहरूको एअर स्पेश प्रयोग गर्न दिएको छैन त?” उनले भने।

भैरहवा र पोखरामा उडान गर्न एअर ट्राफिकको कारण समस्या हुनसक्ने भन्दै राति भैरहवा र दिउँसो पोखरामा उडाउन सकिने लिम्बू बताउँछन्। “भैरहवाबाट कतार, मलेसियालगायत ठाउँ जाने धेरैजसो कामदारले उडान भर्छन्। त्यस्ता खालका कार्यालय पनि उतै सारिदिएपछि ती कामदार काठमाडौँ आउन परेन। पर्यटक आउने पोखरामा दिउँसो उडान भरे हिमाल देख्न पाउँछन्”, उनी भन्छन्।

नेवानिका पाइलट दिपु ज्वारचन पोखराको विमानस्थलले पर्यटक बढाउन मद्दत पुग्ने बताउँछन्। “परम्परागत तरिकाले उडान गर्दा भिजुअल फ्लाइट रुट हेरेर पाँच किलोमिटरसम्म देखिने अवस्था हुनुपर्छ। अहिले काठमाडौंमा ११ सय मिटर भए पुग्छ। तर, पोखरामा पाँच किलोमिटर नै चाहिने हो”, उनले भने, “तर, अहिले पोखराको नयाँ विमानस्थलमा इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आईएनएस) राखिएको छ। यसको सहयोगमा ३०० मिटर भए उडान र अवतरण गर्न सकिन्छ।”

यो विमानस्थलमा रात्रि उडान पनि हुनेछ। प्रतिकूल मौसममा समेत ३०० मिटर भिजिबिलिटीमा उडान हुन्छ। त्यसकारण पोखरामा उडान र अवतरणमा समस्या नभएको ज्वारचनको भनाइ छ। 

पर्यटक बढ्ने अपेक्षा
पृथ्वीनारायण क्याम्पसका प्राध्यापकसमेत रहेका अर्थ विश्लेषक नवराज बराल पोखराजस्तो सानो शहरमा विमानस्थल बनाउनुभन्दा सडक सुधार गरेर सुविधा दिनुपर्ने बताउँछन्। “कोर सिटी सानो छ, एअरपोर्ट बनाउने नै हैन भन्नेमा थिएँ म। तर, बनिसक्यो। अब यसले उत्साह ल्याएको छ। विमानस्थल सञ्चालनमा आएपछि पर्यटक बढ्ने विश्वास गर्न सकिन्छ”, उनले भने।

भारतले सहज बनाइदिए मात्र यो विमानस्थल चल्न सक्ने बराल बताउँछन्। “आखिर हामीले जति नै इन्टरनेशनल भने पनि यो रिजनल एअरपोर्ट हो। सार्क क्षेत्रमा मात्र उडान गर्न मिल्छ। त्यै पनि पर्यटन प्रवद्र्धन हुन्छ भनेर हामीले उत्साहका साथ हेरिरहेका छौँ।” यो विमानस्थलबाट उडान हुन सके सार्क क्षेत्रका पर्यटक संख्या वृद्धि हुनसक्ने उनी बताउँछन्।

पाइलट ज्वारचन पनि नयाँ विमानस्थलका कारण पोखराको पर्यटनमा वृद्धि हुने बताउँछन्। तर, त्यसका लागि रात्रि उडान पनि गर्नुपर्ने उनको भनाइ छ।

पोखरा विमानस्थलले स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने सम्भावना भने निकै कम रहेको बरालको तर्क छ। ठूला विमान आउन नसक्ने हुँदा पोखराको व्यापारमा टेवा नपुग्ने उनी बताउँछन्।

पोखरा विमानस्थलको भविष्य नै अनिश्चित भएको बरालको दाबी छ। “सेतीको जग्गा ढल्केको छ। धेरै विरोध आएपछि ड्रेनिङ भए पनि त्यसले धान्छ भन्ने मलाई लाग्दैन। पोखराको सबै पानी त्यहाँबाट बग्दा पक्कै असर पुग्नेछ”, उनले भने।

काहुँखोला, फूलबारीलगायत ठाउँमा परेको पानीको भल विमानस्थल क्षेत्र भएर बग्ने गर्छ। यसबाट विमानस्थलमा क्षतिपुग्न सक्ने आयोजनाकै अध्ययनले देखाएको थियो। विमानस्थल होचो ठाउँमा भएको कारण पनि समस्या पर्ने बरालको भनाइ छ।