उधौली पर्वले सामाजिक सद्भाव अभिवृद्धि गर्न अहम् भूमिका निभाएको छ : प्रधानमन्त्री देउवा

 किराँत समुदायले मनाउँने उधाैली पर्वका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले यस्ता चाडले नेपाली समाजमा आपसी सद्भाव अभिवृद्धि गर्न अहम् भूमिका निभाएकाे बताएका छन्।

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले उधाैली पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव अभिवृद्धि गर्न अहम् भूमिका निभाएकाे बताएका छन्। किराँत समुदायमा हरेक वर्ष मङ्सिर पूर्णिमादेखि १५ दिनसम्म उधौली पर्व मनाउने परम्परा छ।

उधाैलीका अवसरमा शुभकामना दिँदै उनले यस्ता चाडले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरेका छन्। प्रधानमन्त्री देउवाले विभिन्न जाति, धर्म र सम्प्रदायले मनाउने चाडले नेपालमा सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव अभिवृद्धि गर्न अहम् भूमिका निभाएको उल्लेख गरेका छन्।

यस पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नसमेत सहयोग गरेको उनकाे भनाइ छ। उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्छ। प्रधानमन्त्री देउवाले प्रकृतिको सम्मान गर्दै सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न यस पर्वले सहयोग गरेको बताएका छन्।

किराँत समुदायका राई, लिम्बू, याख्खा र सुनुवारले नयाँ अन्नबाली पितृलाई चढाई पितृपूजा गर्ने गर्छन्। परम्परागत वेषभूषा लगाई सार्वजनिकस्थलमा भेला भएर सामूहिकरूपमा साकेला, पालम नृत्य गर्ने प्रचलनसमेत छ।