स्पेनविरुद्ध मोरक्को : जन्मदेशविरुद्ध हाकिमीको परीक्षा

स्पेनमै जन्मिएका हाकिमी स्पेनविरुद्ध आफ्नो ‘करियर’को दोस्रो खेल खेल्दैछन्। उनी पहिलोपटक रसिया विश्वकपमा स्पेनविरुद्ध मैदान उत्रिएका थिए।

तस्वीरः न्युज सेन्टर टीभी

फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मन (पीएसजी)बाट व्यावसायिक रूपमा फुटबल खेलिरहेका फुल ब्याक आच्रफ हाकिमी मोरक्कोका भरपर्दा युवा खेलाडी मानिन्छन्। 

सन् २०१६ मा मोरक्कोको यू-२० र यू-२३ हुँदै सिनियर राष्ट्रिय टोलीमा एकै वर्ष स्थान बनाएका उनले ५७ खेल खेल्दै ८ गोल गरिसकेका छन्। त्यसैले मंगलबार प्रि-क्वार्टरफाइनल खेलमा स्पेनविरुद्ध मैदान उत्रिँदा उनी मोरक्कोका समर्थकको नजरमा रहने छन्।

अल रेयानस्थित एजुकेशन सिटी स्टेडियममा मंगलबार राति क्वार्टरफाइनल प्रवेशका लागि मोरक्कोले स्पेनको सामना गर्दैछ। यी दुई टोली एकअर्काविरुद्ध मैदान उत्रिँदा हाकिमी खेलअवधिभर दुवैका समर्थकका बीचमा चर्चामा रहने पक्का छ। चर्चामा नरहुन् पनि कसरी, स्पेनमा जन्मिएका उनी स्पेनविरुद्ध नै विश्वकप जो खेल्दैछन्।

हाकिमी मंगलबारको खेलमा विपरीत टोलीमा पनि हुनसक्थे। किनभने उनलाई स्पेनको जुनियर टोलीका लागि किशोरावस्थामा खेल्न प्रस्ताव गरिएको थियो। तर, उनले उक्त प्रस्ताव अस्वीकार गरिदिए। “यो मेरो लागि सही ठाउँ होइन भन्ने मलाई लागेको थियो। स्पेन मलाई घरजस्तो महशुस पनि भएन”, सोमबार उनले सञ्चारकर्मीहरूसँग भने, “म यहाँ बस्छु भन्ने पनि थिएन। मेरो घर मोरक्कोमा थियो र मेरो संस्कृति अरबी थियो।”

सन् १९९८ नोभेम्बर ४ मा स्पेनको राजधानी मड्रिडमा जन्मिएका हाकिमीका बुबा हसन त्यहीँको सडकमा व्यापार गर्थे भने उनकी आमा सैदा मुहले घर सफा गर्ने काम गर्थिन्। सोही क्रममा उनी ७ वर्षको हुँदा मड्रिडमै रहेको कोलोनिया ओफिगेवी फुटबल एकेडेमीमा आबद्ध भए। उनले झण्डै एकवर्ष त्यही एकेडेमीमा बिताए। 

कलिलै उमेरमा राम्रो फुटबलर हुने क्षमता देखाएका उनीमाथि स्पेनकै अर्को फुटबल एकेडेमी रियल मड्रिडले पनि नजर लगाइरहेको थियो। अन्ततः उनी एक वर्ष बित्दानबित्दै रियलमै आबद्ध भए। सोही क्लबमा हुर्केबढेका उनले सन् २०१६ मा मात्रै रियलको ‘रिजर्भ टोली’बाट खेल्ने मौका पाएका थिए।

करिब २८ खेल खेलेर १ गोल मात्रै गरेका उनी त्यसको एक वर्षपछि रियलको सिनियर टोलीमा बढुवा भए। रियलमा रहँदा उनले पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो, फ्रान्सका फरवार्डकरिम बेन्जिमा, वेल्सका फरवार्ड ग्यारेथ बेल, क्रोएसियाका मिडफल्डर लुका मोड्रिच, ब्राजिलका मिडफल्डर क्यासमिरोसँग एकै ड्रेसिङ रूम सेअर गर्ने अवसर पाए। 

त्यतिमात्रै होइन, उनले स्पेनका सर्जियो रामोस, ब्राजिलका मार्सेलो, फ्रान्सका राफायल भरानेजस्ता विश्वस्तरीय डिफेन्डरहरूसँगै रक्षात्मक लाइन सम्हाले र केही अनुभवसम्म बटुले।

तर, करिब ३ वर्ष (बीचमा लोनबाट फर्किएर पनि खेलेका थिए) रियलबाट खेल्दा उनी भराने, मार्सेलो र रामोसजस्ता खेलाडीको छायामा परे र ९ खेल मात्रै खेल्न अवसर पाए। पाएको त्यही कम अवसरलाई पनि सदुपयोग गर्दै उनले ९ खेलमा २ गोल गरे। 

त्यसपछि भने रियलले नै उनलाई सन् २०१८ मा लोनमा जर्मनी क्लब बुरुसिया डर्टमन्डमा पठाएको थियो। बुन्डेसालिग खेल्ने क्लबमा रहँदा पनि उनको जादुयी प्रदर्शन जारी रह्यो। राइट ब्याकबाट फुल ब्याकमा आफूलाई ‘सुइज’ गरेका उनले ५४ खेलमा ७ गोल गरे।

सिजनको अन्त्यसँगै उनी रियल फर्कने योजनामा थिए। तर, मार्सेलो, जेसुस भ्यालेजो, एडर मिलिटो, ड्यानी कार्भाजल, नाचो र फेर्ल्यान्ड मेन्डीजस्ता बलिया डिफेन्डरले भरिएको रियलले हाकिमीलाई फर्काउने इच्छा नै देखाएन। 

यद्यपि, त्यतिबेला २१ वर्षमा टेकेका उनलाई जर्मनकै बायर्न म्युनिख, फ्रान्सको पीएसजी, इटालीको युभेन्ट्स र इंग्ल्यान्डको चेल्सीजस्ता ठूला क्लबले भित्र्याउने प्रस्ताव नगरेको होइन। तर, उनले सबै क्लबको प्रस्ताव अस्वीकार गर्दै उनले इटालीको इन्टर मिलान क्लब रोजे। करिब एक वर्ष मिलानमा रहेका उनले ३७ खेलमा ७ गोल गरे। 

क्याटलान क्लबबाट लिओनल मेस्सी र रियलबाटै पूर्वकप्तान रामोस पीएसजी गएपछि उनलाई मिलान बसिरहन मन लागेन र उतै हुँइकिए। मिलानसँग सिरि ‘ए’को उपाधि जितेको उनी अहिले पीएसजीमा अर्जेन्टिनाका फरवार्ड मेस्सी ब्राजिलका नेयमार र फ्रान्सका केलियन एमबाप्पेसँगै खेलिरहेका छन्। करिब ४६ खेल खेलेका उनले पीएसजीबाट ७ गोल गरिसकेका छन्।

यो नतिजाले हाकिमी साना र अनुभवहीन खेलाडी होइनन् भन्ने देखाउँछ। उनले स्पेनविरुद्ध खेल्न लागेको यो पहिलोपटक भने होइन। करिब चार वर्षअघि रसियामा आयोजित विश्वकपमा उनी आफ्नै जन्मदेश स्पेनविरुद्ध पहिलोपटक मैदान उत्रिएका थिए। 

समूह ‘बी’ अन्तर्गत अन्तिम खेलमा मोरक्कोले स्पेनलाई २-१ गोलअन्तरले लगभग पराजित गरिसकेको थियो तर दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा फरवर्ड लागो एस्पासले गोल गर्दै मोरक्कोबाट २ अंक खोसे र खेल २-२ गोलको बराबरीमा सक्काए।

तर, चार वर्षपछि सोही टोलीसँग भिड्दा आफ्नो लक्ष्य जित नै रहेको उनी बताउँछन्। “चार वर्षको अनुभवको साथ जित्ने मानसिकता लिएर म कतार आएको छु। स्पेन शीर्ष पाँचमा रहेको टोली हो र सधैँ विश्वकप जित्नै आउँछ तर हाम्रा प्रशिक्षकले हामीलाई जित्ने मानसिकता पनि सिकाउनुभएको छ,” उनी भन्छन्, “हामी कसको विरुद्धमा खेल्दैछौँ भन्ने कुराले फरक पर्दैन। हामी हाम्रो तरिकाले खेल्छौँ र जित्ने प्रयास गर्छौं।”

चार वर्षअघि समूहचरमा जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको मोरक्कोले टोलीमा उल्लेख्य सुधार गरेको छ। डिफेन्ड, मिड र फरवर्ड लाइनमा समेत बलियो देखिएको मोरक्कोले कतार विश्वकपको समूह ‘एफ’मा बलियो मानिएको बेल्जियमलाई २-० र क्यानडालाई २-१ ले पराजित गर्‍यो। 

साबिकको उपविजेता क्रोएसियालाई भने उसले गोलरहित बराबरीमा रोक्दै अंक बाँड्न सफल भयो। 

“हामी समूहमा पहिलो स्थानमा रह्यौँ। हामी थोरै सम्मानका लागि योग्य छौँ भन्ने हामीलाई लाग्छ”, उनी भन्छन्, “समूह चरणमा देखाएको खेलबाट पनि स्पेन हामीसँग अलिकति डराउनुपर्छ। किनभने हामी फेरि ‘सरप्राइज’ जित निकाल्ने योजनामा छौँ।”