क्यासेमिरोको निर्णायक गोलमा ब्राजिल नकआउट चरणमा

कतारमा जारी विश्वकप फुटबलमा स्विट्जरल्यान्डलाई पराजित गर्दै ब्राजिल एक खेल अगावै नकआउट चरण प्रवेश गरेको छ।

काठमाडाैँ– कतार विश्वकप अन्तर्गत् समूह चरणको दोस्रो खेलमा स्विट्जरल्यान्डलाई पराजित गर्दै ब्राजिल एक खेल अगावै नकआउट चरण प्रवेश गरेको छ।

स्टेडियम ९७४ मा सोमबार सम्पन्न खेलमा ब्राजिलले स्विट्जरल्यान्डविरूद्व १–० को जित निकालेकाे हो। ब्राजिलकाे जितमा क्यासेमिराेकाे गाेल निर्णायक बन्याे। 

पहिलो हाफमा लगातार आक्रमण बुनेको ब्राजिलले गाेल भने गर्न सकेन। खेलको ६५औँ मिनेटमा भिनिसियस जुनिअरले गोल गरेपनि त्यसलाई भिडियो असिस्टेन्ट रेफ्रीले मान्यता दिएन। ब्राजिलका फरवार्ड अफसाइड देखिएपछि उक्त गोललाई मान्यता नदिइएको हो।

तर, ८३औँ मिनेटमा क्यासेमिरोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए। उनले पेनाल्टी क्षेत्रभित्र रोड्रीगोले दिएको पासलाई पहिलो टचमै गोलको दिशा दिए।

याे जितसँगै ब्राजिल २ खेलमा ६ अंकसाथ समूहको शीर्षस्थानमा उक्लिएको छ। स्विट्जरल्यान्डको ३ अंक छ भने सर्बिया र क्यामरुनले १–१ अंक जोडेका छन्। अन्तिम चरणको खेलमा क्यामरुन र ब्राजिल तथा सर्बिया र स्विट्जरल्यान्ड भिड्ने छन्।