जर्मन सेवानिवृत्त नागरिकका लागि पोखरा विश्वकै उत्कृष्ट गन्तव्य

गत वर्षको तुलनामा ३६ अंक माथि उक्लिँदै ८२.१ अंकसहित पोखरा पहिलो स्थानमा परेको हो।

काठमाडौँ– जर्मन सेवानिवृत्त नागरिकका लागि नेपालको पर्यटकीय नगरी पोखरा विश्वकै उत्कृष्ट गन्तव्यमा परेको छ। जर्मन भाषाको अनलाइन पत्रिका फोकसले सन् २०२५ का लागि पोखरालाई पहिलो रोजाइमा राखेको हो।

लाखौँ जर्मन नागरिकले आफ्नो सेवानिवृत्त समय विभिन्न देशका फरक-फरक शहरमा गएर बिताउने गरेका छन्। फोकसका अनुसार गत वर्ष दुई लाख ३७ हजार जर्मन नागरिकले सेवानिवृत्त समय विदेशमा बिताएका थिए। त्यो संख्या बढ्दै गएको छ। त्यसैलाई मध्यनजर गर्दै फोकसले सेवानिवृत्तका लागि उपयुक्त हुने गन्तव्य खोज्दै आएको छ। आउँदो वर्षका लागि विश्वभरका विभिन्न ७९५ शहरबाट उत्कृष्ट १० छनोट गरेको छ। तीमध्ये पनि पोखरा ८२.१ अंकसहित पहिलो स्थानमा परेको छ।

गत वर्षको तुलनामा ३६ अंक माथि उक्लिँदै पोखरा पहिलो स्थानमा पुगेको हो। दोस्रोमा ८०.२ अंकसहित भुटानको थिम्पु शहर परेको छ। तेस्रोमा कोलम्बियाको मानिजालेस, चौँथोमा चीनको किंगदाओ र पाँचौंमा भियतनामको दा नाङ शहर परेको छ। यस्तै, छैटौँ नम्बरमा ब्राजिलको अन्ड्रिना, सातौँमा जर्जियाको बटुमी, आठौँमा इक्वेडरको कुएन्का, नवौँमा कोसोभोको प्रिस्टिना र दशौँमा टर्कीएको बार्सालाई राखेको छ।

शहरको खर्च, जीवनयापन, स्थानीय स्वास्थ्य सेवा, सुरक्षा अवस्था, मौसम, सार्वजनिक यातायात र वायु प्रदूषणको स्तर जस्ता मापदण्ड राखेर यो सूची तयार पारिएको हो। यसका लागि डेटा तुलनात्मक वेबसाइट नुम्बियोका प्रयोगकर्ताहरूद्वारा रिपोर्ट गरिएका अनुभवको तथ्यांकको सहयोग लिइएको फोकसले जनाएको छ।

मूल्यांकनका लागि बर्लिनको तुलनामा शहरको औसत भाडादर, अन्य जीवनयापन लागत र स्थानीय स्वास्थ्य सेवालाई कूल अंकको २०/२० प्रतिशत छुट्याइएको छ। यस्तै, त्यहाँ बस्ने विदेशीको विचारमा स्थानीय सुरक्षाको अवस्थालाई  १५ प्रतिशत, मौसम र सार्वजनिक यातायातको सुविधालाई १०/१० प्रतिशत र प्रदूषणको स्तर, विशेष गरी वायु गुणस्तरका लागि ५ प्रतिशत छुट्याइएको थियो।

पोखराको ट्राफिकलाई प्रवासीहरूले संसारमा पाँचौं उत्कृष्ट र भाडा पाँचौं सबैभन्दा कमको रूपमा मूल्यांकन गरेका छन्। जीवनयापनको लागत ५९औं स्थानमा आउँछ। सुरक्षा, स्वास्थ्य सेवा र जलवायु शीर्ष २०० मा परेको छ।