पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तदारुक नहुँदा अधिकांश प्रतियोगितामा दर्शकको संख्या न्यून देखिएको छ भने स्थानीय खेलकुद संघ तथा खेलप्रेमीहरू असन्तुष्ट देखिएका छन्।
पोखरा- २०४० सालमा पोखरामा पहिलोपटक बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदै छ रे भन्दा वरिपरिका १० गाउँबाट मात्र नभई काठमाडौँ र छिमेकी जिल्लाहरूबाट समेत बाक्लो संख्यामा समर्थक पुगेका थिए।
भीभीआईपी, भीआईपी र खेल संघका पदाधिकारीहरूको पनि उत्तिकै लर्को थियो। खेलस्थान वरिपरिका अधिकांश होटेलहरू पहिला नै बुक भइसकेका हुन्थे। हिँड्नेहरूको भीडले खचाखच हुन्थे यहाँका साँघुरा बाटाहरू।
तर, अहिले अवस्था अर्कै छ। खेलप्रतिको रूचि र चासो फेरिएको छ। काठमाडौँ र वरिपरिका जिल्लाबाट मात्रै होइन लेक साइड वरिपरिका स्थानीयहरूसमेत रंगशाला पुग्न छाडेका छन्। पोखरामा न कुनै भीभीआईपी भेटिन्छन्, न त कुनै भीआईपी नै। खेल खेल्न आएका खेलाडी र प्रशिक्षकबाहेक कोही भेटिन्नन् पोखरामा।
प्रसंग हो, नवौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको।
गत असोज २८ गते पोखरा रंगशालामा उद्घाटन भएको नवौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका अधिकांश खेलहरू समापन भइसकेका छन्। कतिपय खेलहरूको उपाधि छिनोफानो अन्तिम चरणमा पुगिसकेको छ। तर, प्रतियोगिताको समापन समारोह आइसक्दा पनि उत्तिको भीड नभएको बताउँछन्, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वकोषअध्यक्ष विष्णुगोपाल श्रेष्ठ।
"पहिलोपटक बृहत खेलकुद प्रतियोगिता हुँदैछ भनेर 'अनाउसमेन्ट' हुँदा नै यहाँ खेल हेर्न आउनेहरूको घुइँचो लागेको थियो। तर, यसपटक भने अवस्था त्यस्तो रहेन। भलिबलमा क्रेज घट्यो, फुटबलमा रंगशालका सामान्य प्याराफिटमा समेत दर्शक देखिए। अरू खेलको के कुरा गर्ने?" पोखरामै भेटिएका श्रेष्ठले उकालोसँग भने।
२०४० मा पहिलोपटक गण्डकी प्रदेश (पहिला अञ्चल)मा बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदा उनी यसैका परिकल्पनाकार समेत रहेका राखेपका पूर्वसदस्य सचिव शरचन्द्र शाहको कार्यकालमा कोषाअध्यक्ष थिए। काठमाडौँमा पहिलो बृहत् राष्ट्रिय खेलकुद १४ लाखमा सम्पन्न गरेका श्रेष्ठले पोखरामा करिब २४ लाखमा तयारीको सम्पूर्ण जिम्मेवारी मात्रै लिएनन्, बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता नै सम्पन्न गरेका थिए। त्यतिखेर उनले पोखरामा बृहत राष्ट्रिय खेलकुदको आयोजना हुँदैछ है भनेर न रेडियोमा प्रचारप्रसार गरे नत पोस्टर पम्पेल्ट नै छपाए। प्रचारप्रसार नगर्दा पनि उद्घाटनदेखि समापनसम्मको खेलकुल प्रतियोगिता भव्यपूर्ण रहेको स्मरण गर्छन् उनी। "त्यतिखेर भैतिक पूर्वाधार कमजोर भएपनि दरबारको प्रत्यक्ष चासो रहेको कारण व्यवस्थापन बलियो थियो। खेलमा पनि प्रतिस्पर्धा थियो। उनीहरूलाई समर्थन गर्न आउनेहरूको भीड पनि उस्तै थियो। तर, अहिले अवस्था त्यस्तो रहेन", उनी भन्छन्।
फितलो तयारी, ‘टुरिस्ट’ समर्थक
राखेपले आन्तरिक पर्यटक र खेलप्रेमीलाई तान्न प्रायस् जस्तो खेल पोखरामा आयोजना गरेको थियो। पर्यटकीय नगरी भएको कारण पनि धेरैको आगमन हुने भएर प्रतियोगिता भर राम्रै साथ पाउने आकलन गरिएको थियो। तर, उद्घाटन समारोहमा समेत खेलप्रेमीको चासो अपेक्षानुसार देखिएन।
पदाधिकारी, खेलाडी र स्कुले बालबालिकासहित करिब ५ हजारको उपस्थिति रहेको उद्घाटन समारोहमा मुस्किलले ५ सय जना दर्शक थिए। भारतबाट झिकाइएको रंगीचङ्गी पटका पड्काउँदै आतिसवाजी गर्दासमेत अधिकांश पोखरेलीले नवौँ खेलकुद प्रतियोगिता आयोजना हुँदै छ भनेर पत्तोसमेत पाएनन्।
राखेपका पूर्वकर्मचारीसमेत रहेका राष्ट्रिय खेलाडी नारायणदेव राणा भन्छन्, "उद्घाटनदेखि नै झुर हुन्छ भन्ने पहिला नै थाहा थियो। यो समय खेलकुद प्रतियोगिता आयोजना गर्ने हो या होइन भनेर अध्ययन त सकिन्थ्यो नि। प्रतियोगिता सही समयमा राख्दिएको भए कम्तीमा यो बेहाल त देख्न पर्दैन थियो।"
राखेपले तदारुकता देखाएको भए यो प्रतियोगिता गत जेठमै सम्पन्न भइसक्थ्यो। तर, आवश्यक तयारी तथा सम्बन्धित प्रदेशसँग तालमेल नै नगर्दा प्रतियोगिता ४ महिना पछि धकेलिन पुग्यो। यसले पूर्वधार निर्माण र तयारीमासमेत निकै असर गरेको थियो।
यता, नजिकिँदै गरेको निर्वाचन र बजेटको अभावका कारण आयोजकको जिम्मेवारी पाएको गण्डकी प्रदेशले राखेपसँग कुनै समन्व्यन गर्न नै चाहेन। अझ आफूले सम्पूर्ण जिम्मेवारी लिनुपर्ने ठाउँमा गण्डकीका खेलकुदमन्त्री राजीव गुरूङ (दीपक मनाङे)ले प्रतियोगितामा भ्रष्टचार हुन लागेको आरोप मात्रै लगाएन, प्रतियोगिता नै बहिष्कार गरी काठमाडौँ ओर्लिए।
"माननीयज्यूले त तयारीको समयमै असन्तुष्टी जनाउँदै बहिष्कार नै गरिसक्नु भएको थियो", गण्डकी प्रदेशका बक्सिङ प्रशिक्षक लोकबहादुर गुरूङ भन्छन्, "त्यसपछि उहाँ देखिनु भएको छैन।"
सम्बन्धित प्रदेशका खेलकुदमन्त्रीले नै प्रतियोगिता बहिष्कार गरेपछि कास्कीका अधिकांश खेलसंघले पनि राखेपलाई साथ दिएनन्। कुनै-कुनै खेलमा आफ्नै खेलाडीलाई समर्थन गर्न खेलस्थानसम्म पुगेका पदाधिकारी र कर्मचारीहरूले राखेपबाट आएका प्रतिनिधिहरूसँग हात मिलाउनुबाहेक दोहोरो संवादसमेत गरेनन्।
"आफ्नै ठाउँमा खेल हुँदैछ भन्ने थाहा पाएपछि खेलसंघहरूले सहयोग गर्नुपर्ने हो। तर, यहाँ कुनै सहयोग गरेकै देखिएन। उहाँहरूबिचको तालमेलकै अभावका कारण होला अधिकांश खेलहरू दर्शकबिनै खेलिएको देखिए", कर्णाली प्रदेशका एथलेटिक्स प्रशिक्षक हरि रोकायाले भने।
राखेपले खेलप्रेमीलाई तान्न भन्दै उद्घाटनदेखि समापन समारोह र अधिकांश खेलमा फ्री टिकटको व्यवस्था गरे पनि फितलो तयारी र प्रभावकारी प्रचारप्रसारको अभावमा खेलहरूमा खासै चहलपल देखिएन। त्यस्तै, आउँदै गरेको निर्वाचन तथा चाडपर्वका कारण खेल संघका पदाधिकारी, प्रशिक्षक र खेलाडीलाई घर फर्किने हतारो देखिन्थ्यो।
खेलहरूमा दर्शकको उपस्थिति पातलो रहेपनि उद्घाटनअगाडि नै अधिकांश खेल शुरू हुनु र खेलका बीचमा रहेको ग्यापिङका कारणले राखेप मुख छोपिहाल्न पर्ने स्थितिमा पुगेन।
आफूहरूलाई समर्थन गर्न कोही खेलप्रेमी नआउने सुइँको पाएर होला कतिपय खेलमा खेलाडी आफ्नै विभाग र प्रदेशका खेल हेर्न ‘टुरिस्ट’ समर्थक बनेर पुगेका थिए। बाँकी केही खेलमा भने फ्री टिकट रहेकाले केही स्थानीयसमेत खेल हेर्न पुगेका थिए।
नवौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता मूल आयोजक समितिका सचिव फणिन्द्र पौडेल पोखरेलीले आपनत्व महसुस गर्न नसकेका कारण प्रतियोगिता फितलोजस्तो देखिएको तर्क गर्छन्। "आफ्नै स्थानमा खेल आयोजना हुने भएपछि सम्बन्धित खेल संघले सम्पूर्ण जिम्मेवारी लिनुपर्ने हो। तर, यहाँ त्यस्तो भएन। समर्थक ल्याउने प्रचारप्रसार गर्ने त हाम्रो काम होइन नि। गर्नुपर्यो नि सम्बन्धित पोखरेली खेलसंघले पनि", उनी भन्छन्।
'सरकारी ढुकुटी रित्याउन मात्रै प्रतियोगिता गरेजस्तो भयो'
राखेपका पूर्वसदस्य सचिव किशोरबहादुर सिंह भने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक न्यूनतम तयारीसमेत नपुगेको बताउँछन्। उनले भने, "बृहत् खेलकुद प्रतियोगिता आयोजना गर्ने भनेपछि पहिला खेल कसरी आयोजना गर्ने? कुन समयमा गर्ने र के-के गर्ने भनेर बृहत् योजना बनाइन्थ्यो। त्यसैअनुसार सम्बन्धित स्थानका खेलसंघहरूलाई र खेलाडीहरूलाई तयारी गर्न आदेश दिइन्थ्यो।"
अहिलेको जस्तो एक ठाउँमा खेलाडी जम्मा गरेर छनोट गरी खेल्न लैजाने खेलकुदको परम्परा नै नभएको उनको जिकिर छ।
"पहिला कलेज या विद्यालय, जिल्ला र अञ्चल हुँदै छनोट खेलेर राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने एउटा प्रोसेस थियो", उनले भने, "त्यसपछि ४-५ महिना क्लोज क्याम्पमा राखिन्थ्यो र तयारी गराइन्थ्यो।"
यस्तो तयारीले खेलाडी-खेलाडीबीचमा प्रतिस्पर्धा बढ्ने र खेल हेर्न पनि टाढाटाढाबाट समर्थक आउने गरेको उनको अनुभव छ। "तर, अहिले त्यो अवस्था रहेन। एक ठाउँमा खेलाडी बोलायो, छनोट गराएर खेल खेलाउन ल्याउने प्रचलन हावी भयो", सिंहले भने।
अहिले खेलाडीलाई 'क्लोज क्याम्प'मा राखेको खासै सुन्न नपाइएको उनको भनाइ छ। एक खेलाडीलाई तयार हुन ४ महिनाको समय लाग्ने बताउँदै उनले त्यति समयसमेत राखेपले यसपटक उपलब्ध गराउन नसकेकोप्रति असन्तुष्टि पोखे।
"चार्डवार्ड र निर्वाचनको बीचमा खेलकुद प्रतियोगिता आयोजना हुँदा कतिले खेलमा फोकस नै गर्न नसकेको जस्तो देखियो", उनले भने, "उपस्थित खेलाडीहरूमा पनि सहभागिता जनाइदिनु मात्रै पर्ने हो जस्तो देखियो।"
राखेपले पर्याप्त तयारीको समय दिएर बेलैमा प्रतियोगिता सञ्चालन गर्न सकेको भए खेल प्रतिस्पर्धी हुनसक्ने उनको विश्वास थियो। "अहिलेको नवौँ बृहत् खेलकुद प्रतियोगिता हेर्न आउने दर्शकको संख्या घटेपनि दशौँ हेर्न आउने दर्शकको संख्यालाई बढाउँथ्यो । तर, यसमा राखेपको ध्यान गएको जस्तो देखिँदैन", उनले भने, "प्रतियोगिता त हो गरिहालौँ न भनेर आफ्नै लागि गर्दिएको जस्तो भान हुन्छ। यो त राम्रो खेलाडी उत्पादन गर्न भन्दापनि सरकारी ढुकुटी सकाउन प्रतियोगिता गर्दिएजस्तो पो भयो त!"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
