डढेलो लागेपछि नियन्त्रण गर्न कठिन हुने भएकाले डढेलो लाग्न नदिने उपाय खोजी गरी पूर्वतयारीलाई प्राथमिकता दिएर काम गर्नुपर्नेमा विज्ञहरूले सुझाव दिएका छन्।
काठमाडौँ– पछिल्लो २४ घण्टामा देशका विभिन्न १६ ठाउँमा आगलागीका घटना भए। ती आगलागीका घटनाबाट चार जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंसिर लागेपछि आगलागीका घटना बढ्न थालेको छ। दैनिक आगलागीका घटना भइरहेका छन्।
वर्षा नभएको र चिसो मौसम बढिरहेकाले पनि अबको समय आगलागीको उच्च जोखिम हुने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउँछन्। एक त ज्वलनशील वस्तु जम्मा हुन थालेको र अर्को जाडोमा आगो ताप्ने चलनले आगलागी र डढेलो बढ्छ। त्यहीअनुसार तयारी थालिएको पनि उनले बताए।
अबको केही समयपछि डढेलोको जोखिम पनि उत्तिकै हुने भएकाले अहिलेदेखि नै तयारी थालिएन भने बढ्दो डढेलोको जोखिमले मानव तथा भौतिक सम्पत्तिमा ठूलो क्षति हुनसक्नेतर्फ विज्ञले सचेत गराएका छन्। विज्ञका अनुसार पछिल्लो एक दशकको तथ्यांक अध्ययन गर्दा नेपालमा डढेलोका कारण ठूलो जनधनको क्षति हुन थालेको छ। डढेलो मानव बस्तीमा सल्किने क्रम पनि बढिरहेको छ।
डढेलो लागेपछि नियन्त्रण गर्न कठिन हुने भएकाले डढेलो लाग्न नदिने उपाय खोजी गरी पूर्वतयारीलाई प्राथमिकता दिएर काम गर्नुपर्नेमा विज्ञहरूले सुझाव दिएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डढेलोसम्बन्धीका विज्ञ सुदीप छतकुलीले आगलागीबाट नेपालमा १३ जिल्ला अति संवेदनशील र ११ जिल्ला संवेदनशील रहेको जानकारी दिए। डढेलो बढ्दै जानु चुनौतीको विषय भएको उनो भनाइ छ। तर पनि कुनै न कुनै रूपमा आगलागी र डढेलोले देश नै प्रभावित हुने गरेको छ।
उनले जंगलमा पतकर, काठ तथा वन पैदावार बढ्दै जाँदा डढेलो लाग्ने क्रम बढेकाले त्यसको व्यवस्थापन जरुरी रहेको बताए। गत वर्ष नेपालका ७४ जिल्ला डढेलो र आगलागीबाट प्रभावित भएका छन्। शतप्रतिशतजस्तै डढेलो मानवीय कारणले लाग्ने गरेको पनि उनले बताए। ६४ प्रतिशत मानिसले जानीजानी डढेलो लगाउने गरेका छन्। ३१ प्रतिशत हेल्चक्रयाइँका कारण डढेलो लाग्ने गरेको छ। यसरी हेर्दा केही प्रतिशतबाहेक मानिसकै गतिविधिका कारण डढेलो लाग्ने भएकाले सचेत हुनेपर्नेमा उनले जोड दिए।
डढेलोसम्बन्धीका अध्यक्ष एवं अर्का डढेलोसम्बन्धी विज्ञ डा. कृष्ण भुजेलले आगलागी हुने दिन पनि बढ्दै गएको बताए। सिवालिक क्षेत्रमा बढी डढेलो लाग्ने गरेको छ। जंगलबाट बस्तीमा डढेलो सल्किने क्रम पनि बढेको छ। “विभिन्न कारणले बस्ती र वन जोडिन थालेको छ, त्यसैले वनमा लागेको आगो बस्तीमा सल्किने क्रम पछिल्ला वर्षहरूमा बढ्दै गएको हो, यसले ठूलो जनधनको क्षति गराइरहेको छ,” उनले भने।
नेपालमा तथ्यांक हेर्दा बढी लुम्बिनी प्रदेशमा डढेलो लागेको छ। त्यसपछि सुदूरपश्चिम, कर्णाली, बागमती, मधेश प्रदेश, कोशी र गण्डकीमा डढेलोका घटना भएको छ। केही वर्षहरूमा गरिएको अध्ययनले डढेलो लाग्ने क्रम बढ्नु र क्षति पनि बढाउँदै लैजानुले डढेलो लाग्ने मौसमभन्दा केही महिना अगाडिदेखि नै रोकथामको तयारी थाल्न जरुरी रहेको उनले बताए। मंसिर पुसदेखि नै तयारी थाल्नुपर्नेमा उनको जोड छ।
जंगल व्यवस्थापन प्रभावकारी नहुनु, वनपैदावर र जल्ने वस्तु थुप्रिँदै जानु, कृषि भूमि बाझिँदै गएर जंगलमा परिणत हुनु र त्यसले बस्तीसम्म फैलिँदा घरमा पनि डढेलो पुग्नु, जलवायु परिवर्तनलगायत कारण आगलागी बढिरहेको विज्ञहरू बताउँछन्।
डा. भुजेलले अब ज्वलनशील पदार्थ जंगलबाट हटाउन नसके डढेलो र आगलागी भयावह हुनेतर्फ सरकारले बेलैमा ध्यान दिनुपर्ने बताए। तल्लो स्थानीय तहदेखि केन्द्रसम्मका निकाय सक्रिय भएर लाग्न सके डढेलोकै लागि कमान्ड पोस्ट निर्माण गरी फायर फाइटिङ टिम निर्माण गर्न जरुरी रहेको बताए। डढेलो लाग्नै नदिने उपायको खोजी गर्नतर्फ ध्यान दिनुपर्ने सुझाव दिए।
विपद्सम्बन्धी अगुवाइ गर्ने संस्था गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण हो। तर पनि अन्य बाढीपहिरोजस्ता विपद्लाई झैँ डढेलोलाई प्राथमिकता दिन अझै सकिएको छैन। प्राधिकरण आएपछि केही प्रयास भएका छन्, तर पर्याप्त छैन।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल वन व्यवस्थापनलाई कसरी व्यवस्थित र बलियो बनाउने भन्नेबारे वर्तमान आवश्यकतासहितको राष्ट्रिय रणनीति आवश्यक भएको बताए। त्यसका लागि प्राधिकरणले आवश्यक प्रक्रिया अघि बढाइसकेको र तयारीमा जुट्न कर्मचारीहरूलाई निर्देश गरिसकिएको उनले बताए। डढेलो जोखिम न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि सँगसँगै वनमा थुप्रिएर बसेका सुकेका पत्करहरूको उचित व्यवस्थापन गर्न सबै क्षेत्रको समन्वयात्मक भूमिका र अग्रसरता जरुरी रहको उनको भनाइ छ।
प्राधिकरणले भर्खरै मात्र डढेलोको विपद् न्यूनीकरणसम्बन्धी राष्ट्रिय बहस सम्पन्न गरेको छ। उक्त बहसले महत्त्वपूर्ण सुझाव दिएकाले त्यसलाई कार्यान्वयनका लागि प्राधिकरणले पहल थालेको र संयुक्त कार्य अघि बढाउने विषयमा आह्वानसमेत गरिएको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
