लालवीर तिलिजाको जीवनको अधिकांश समय अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको खयरखोला क्षेत्रमा बित्यो। ७८ वर्षीया तिलिजाले ७२ वर्ष भेडीगोठमा बिताए।
म्याग्दी- हरियाली लेकाली खर्क। आँखैअगाडि ठोकिने हिमाल। हिमाली बुकीका फाँटमा ससाना त्रिपाल टाँगेका गोठ। डाँडा र हिमालले घेरिएको बुकी र फाँटका चरन क्षेत्रमा सेताम्मे देखिन्छन् भेडाका बथान।
अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको खयरखोला क्षेत्रमा देखिने यो दृश्य निकै रमाइलो र लोभलाग्दो देखिन्छ। खोप्रा–खयर पदमार्गअन्तर्गत पर्यटक आश्रय लिएर बस्ने खयरखोला क्षेत्रमा व्यावसायिक भेडापालन पनि हुँदै आएको छ। यिनै गोठमा भेटिन्छन् ७८ वर्षीय लालवीर तिलिजा।
पाउद्वार गाउँका बासिन्दा तिलिजाले भेडीगोठमा आफ्नो जीवनको अधिकांश समय बिताए। उमेर बढ्दै जाँदा गालाका छाला चाउरी पर्न लागे, दाँत झर्न लागे, तर तिलिजाको जाँगर घटेको छैन। भेडीगोठसँगको उहाँको सामिप्यता उस्तै छ। गोठमा घाम, पानी, असिना र हिउँमा सङ्घर्षमय तरिकाले रमाएका तिलिजा बुढ्यौली लाग्दासमेत गोठको जीवनबाट अझै थाकेका छैनन्।
बेंशीका फाँटदेखि पहाडका पाखा पखेरा हुँदै हिमालका बुकीसम्म भेडीगोठ राख्ने र भेडा चराउने काममा तिलिजाको जीवनको ७२ वर्ष बित्यो। छ वर्षको उमेरदेखि नै बुबा आमासँग गोठ बसेका तिलिजालाई औपचारिक शिक्षा लिने अवसर मिलेन।
बुबा आमासँग गोठमा बस्दै गर्दा आफूलाई समेत गोठप्रतिकै लगाब बढेपछि बाबुले गरेकै पेसालाई जीवनभर अँगालेको तिलिजाले बताए। “मैले थाहा पाएसम्म हाम्रो जिजु, बाजे, बुबा हुँदै मसम्म आइपुग्दा चार पुस्ताले नै भेडापालन ग¥यौँ, मैले भेडापालनबाटै परिवार धाने, छोराछोरीलाई पढाएँ, उनीहरुको रहरअनुसारको देशमा रोजगारको लागि पठाएँ, गोठमै बसेर गरेको आम्दानीबाट सन्तुष्ट छु”, तिलिजाले भने।
भेडापालनबाटै कमाएको पैसाले साइला छोरा जापान, जेठा छोरा बेलायत पठाएको तिलिजाले सुनाए। “चार छोरा, पाँच छोरी छन्, उनीहरु सबैलाई विद्यालय तहको शिक्षा दिएँ, उनीहरुकै इच्छाअनुसार कतिपयलाई लाखौँ खर्च गरेर विदेश पनि पठाएँ, उनीहरुले र मैले कमाएको पैसाबाट पोखरामा घर पनि जोडेको छु, श्रीमती र कान्छा छोरा अहिले पोखरा बस्छन्, माइला छोराले वडाध्यक्ष जितेर गाउँको नेतृत्व सम्हालेका छन्”, उनले भने।
तिलिजाको गोठमा अहिले करिब तीन सय भेडा छन्। गोठको खर्च र हेरालुको ज्याला कटाउँदा वर्षमा रु. १० देखि ११ लाखसम्म आम्दानी हुने गरेको उनले बताए। उत्पादन गर्न सके बिक्रीका लागि बजारको अभाव नभएको उनको भनाइ छ। “जनैपूर्णिमालगायतका पर्वमा पूजाका लागि साँडहरु किन्न ग्राहक गोठमै आउँछन्, चाडपर्वको लागि मासु खानका लागि पनि गोठबाटै भेडा किन्न गाउँले आइपुग्छन्, बरु किन्नेले खोजेजति बिक्री गर्ने भेडा उत्पादन गर्न नै सक्दैनौँ”, तिलिजाले भने।
गोठका उकाली ओरालीमा सात दशक समय बिताएका तिलिजालाई भेडीगोठ बस्ने धित अझै मरेको छैन। भर्ती हुने र लाहुर जाने सपनामा केही वर्ष भेडीगोठबाट बाहिरिए पनि सफल नभएपछि पुनः भेडापालनमै फर्किएको उनले बताए।
“एक गोठको भेडाको पैसा दलालले खाइदियो, त्यतिबेला रु.८६ हजारमा भेडीगोठ बेचेको थिएँ, बम्बइसम्म पु¥याएर दलालले सबै पैसा खाइदियो, १० महिना त्यहाँ बस्दा पनि विदेश पठाउने निधो नभएपछि फेरि गाउँ फर्किएँ र भेडापालनकै इलममा लागेँ,” तिलिजाले आफ्नो सङ्घर्षका उतारचढाव सुनाए।
विदेशमा रहेका छोराछोरीले गोठबाट विश्राम लिएर आरामदायी जीवनयापन गर्न सुझाव दिने गरेको बताउँदै उनले आफ्नो हातपाखुरा चल्दासम्म गोठ छाड्न मन नलागेको बताए। तिलिजाले बर्खायाममा खयरखोला हुँदै अन्नपूर्ण हिमाल र बराह शिखर हिमालको फेदीसम्मै भेडीगोठ पु¥याउने भए पनि हिउँदयाममा खोप्राडाँडा हुँदै पाउद्वार र पर्वतको लेसपारका बेंशीका फाँटसम्म गोठ झार्ने गरेका छन्।
“बाघ र चट्याङको डर भेडीगोठमा भइरहन्छ, केही वर्षअघि चट्याङ लागेर एकैपटक ६२ वटा भेडा मरे, बाघले वर्षमा एक÷दुई वटा भेडा खान्छ, भेडीगोठको सुरक्षामा हामी गोठालासँगै कुकुर हेरालुकै भूमिकामा हुन्छन्”, उनले भने।
चार पुस्ताले गर्दै आएको भेडापालन आफूपछिको पुस्ताले छाड्ने चिन्ता तिलिजामा छ। तर अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्षसमेत रहेका तिलिजाका छोरा राजेशले बुबाले गर्दै आएको भेडापालनलाई आफूले पनि निरन्तरता दिने सोच बनाएको बताए।
“अघिल्लोपटक वडा सदस्य र कार्यवाहक वडाध्यक्ष भएर काम गरेँ, यो कार्यकालमा वडाध्यक्षमा निर्वाचित भएर काम गरिरहेको छु, जनप्रतिनिधिको भूमिकाबाट बाहिर आएपछि भेडापालनलाई नै अगाडि बढाउने योजना बनाएको छु,” वडाध्यक्ष तथा राजेश तिलिजाले भने। बुबालाई भेडापालनबाट विश्राम लिन सुझाव दिए पनि भेडीगोठमै आफूलाई आनन्द रहेको बताउँदै पारिवारिक आग्रहलाई इन्कार गर्ने गरेको उनले बताए।
पहिलेको तुलनामा भेडापालन घट्दो र भेडाको माग बढ्दो क्रममा रहेको बताउँदै उनले युवापुस्ताले गोठ बस्न नरुचाउने भएकाले भेडापालनको पेसा पुस्तान्तरण हुन नसक्ने अवस्थामा पुगेको अनुभव सुनाए। खयर क्षेत्रमा भेडापालनको सम्भावना रहेको बताउँदै वडाध्यक्ष तिलिजाले पछिल्लो समय केही युवा यस पेसामा आबद्ध हुन थालेको जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
