नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

बिहीबार नेप्से परिसूचक ८.३० अंकले घटेर २७४८.०५ को विन्दुमा सीमित भएको छ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। बिहीबार नेप्से परिसूचक ८.३० अंकले घटेर २७४८.०५ को विन्दुमा सीमित भएको हो। 

यस दिन विभिन्न ३०७ कम्पनीको एक करोड ६६ लाख ६३ हजार ३५५ कित्ता शेयर ८३ हजार १२८ पटक खरिद बिक्री हुँदा आठ अर्ब ५४ करोड ५५ लाख २५ हजार ३७३ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। अघिल्लो दिन नौ अर्ब ३१ करोड २८ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।

बिहीबार विकास बैंक समूहको उपसूचक १.०५, जीवन बीमा ०.७४ र व्यापार ९.२५ प्रतिशतले बढेको छ भने अन्यको उपसूचक घटेको छ।

यस दिनको कारोबारमा विशाल बजार र विन नेपाल लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्दा मानुषी लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

त्यस्तै, सपोर्ट माइक्रो फाइनान्स ९.९८, पाँचथर पावर कम्पनी ८.३३ र लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ८.११ अंकले कमाएका छन्।

यस्तै, अपर स्याङ्गे ८.६०, कर्णाली विकास बैंक ६.८४, सुपर मादी हाइड्रोपावर ५.२७ र गुराँस लघुवित्तका लगानीकर्ताले ४.८८ प्रतिशतले गुमाएका छन्।

बिहीबार कारोबार रकमका आधारमा एक्सेल विकास बैंकको ३१ करोड ८ लाख ६४ हजार ७३७ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

कारोबार भएका शेयर संख्याका आधारमा पनि सबैभन्दा धेरै एक्सेल विकास बैंक चार लाख ४७ हजार ७५७ कित्ता किनबेच भएको छ।