निर्देशकले साँच्चै निम्न मध्यम वर्गीय परिवारको कथाको रूपमा शहर आसपासको गैह्रदलित बाबुछाेराकाे कथा भन्न सक्थे, तर यसो गर्दा चलचित्रले अहिलेझैँ नाफा कमाउन सक्दैनथ्यो।
लक्ष्मीपूजाकाे दिन पारेर प्रदर्शित चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ले नसोचेको मात्रामा लक्ष्मी कमाएन मात्र, कतिपयलाई उद्वेलित बनायो। एकातिर दर्शकको रुवावासी चलेको समाचार आए भने अर्कोतर्फ चलचित्रले नेपाली सिनेमा जगतमा अनेकन् रेकर्ड बनायो। चलचित्रबारे चर्चा, बहस, समीक्षा, टीकाटिप्पणीहरू सकारात्मक र नकारात्मक दुवै कोणबाट अन्य कुनै पनि चलचित्र भन्दा निकै बढी भयो। यस चलचित्रलाई कतिले 'सारंगी' फिल्म पनि भनेको देखियो।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी छ भने रमेश चौलागाईं, रमेश ढकाल र हरि श्रेष्ठ कार्यकारी निर्माता छन्। प्रशान्त सिवाकोटीको संगीत; तथा महेश दवाडीको पटकथा र संवाद रहेको फिल्ममा हेमन्त कान्छा रसाइलीको सारंगी र प्रशान्त सिवाकोटी, मेलिना राई, तथा पुष्पन प्रधानको स्वर रहेको छ। चलचित्रमा विजय बराल, मुकुन भुसाल, प्रकाश सपूत, अञ्जना बराइली, बुद्धि तामाङ, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वयम् केसी र जान्वी पौडेल लगायतले जीवन्त अभिनय गरेका छन्।
यस आलेखमा, सम्पूर्ण कलाकारकाे बेजोड अभिनय; छायांकन र प्राविधिक पक्ष; नेपाली चलचित्रलाई दर्शकले दिएको अभूतपूर्व माया लगायत विषयको मुक्तप्रशंसा गर्दै, चलचित्रले कसरी पुँजीवाद, पितृसत्ता र ब्राह्मणवादको विष घोलेर जनस्तरमा भ्रम पार्यो भन्ने बहस गरिनेछ। यस लेखमा प्रयोग भएका चलचित्रका विभिन्न सन्दर्भ, पात्र, तथा संवादहरू चलचित्र नहेरेका पाठकका लागी बुझ्न केही कठिन लागे पनि अन्यत्र धेरै ठाउँमा कथा जस्ताको तस्तै आइसकेको हुनाले यहाँ विस्तार गरिएको छैन।
कस्ताे सोसल ड्रामा?
०३ जेठ २०८१ को एक अनलाइन समाचारमा उल्लेख भए अनुसार चलचित्र निर्माण सुरु गर्दाको बखत, सारंगीको परम्परा जोगाउन र यसलाई पुस्तान्तरण गर्नेतर्फ गाइने समुदायले गर्ने संघर्षको कथा भनेर निर्माण समूहले चलचित्र साेसल-ड्रामा हुने बताएको रहेछ। निर्माता विनोद पौडेलले पनि चलचित्र रिलिज गर्नुपूर्व 'पूर्ण बहादुरको सारंगी' गन्धर्व समुदायको जीवन र सामाजिक समस्यालाई केन्द्रमा राखेर निर्माण गरिएको सामाजिक कथावस्तुमा केन्द्रित सिनेमा भएको बताएका थिए।
‘साेसल-ड्रामा’ विधामा पात्रहरूले समाजको आम चरित्रमा अभिनय गर्छन्। सोसल वा साेसियाे ड्रामा खासगरी सामाजिक वास्तविकता र समस्याहरूलाई उजागर गर्ने, विश्लेषण गर्ने, समाधान खोज्ने शिक्षाप्रद विधा हो भने व्यक्तिगत इच्छा, कल्पना, सपनाहरूको विषयवस्तुलाई महत्त्व दिएर प्रस्तुत गरिने विधालाई साइकाेड्रामा भनिन्छ (डा. जेकाेव लेभी माेरेनाे, १८८९-१९७४)।
तर चलचित्र कुनै पनि कोणबाट सोसल ड्रामाका रूपमा देखिँदैन। ‘गन्धर्व समुदायको जीवन र सामाजिक समस्यालाई केन्द्रमा राखेर निर्माण गरिएको सामाजिक कथावस्तु’ भने पनि खासमा चलचित्र गन्धर्व समुदायले २०४० काे दशक (चलचित्रमा समेटिएको समय) मा भोग्नु परेको छुवाछुत, र भेदभावबारे बेखबर देखिन्छ।
२१ कार्तिक २०८१ मा प्रसारित एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ताका क्रममा लेखक तथा निर्देशक सरोज पौडेलले एक पटक गन्धर्व समुदायबारे उल्लेख गर्दा ‘दलित परिवार’ उच्चारण गरे र लगत्तै सच्याउँदै ‘दलित नै त नभनाैँ, वर्गीय हिसाबले पिछडिएको समाज’ भनेका छन्। यस्तै, २०४० देखि २०६५ सालसम्मकाे समय (चलचित्रको समय) मा थिचोमिचो थियो, अहिले त त्यस्तो समस्या केही छैन, ठिक भइसक्यो भनेका छन्। यसबाट लेखक तथा निर्देशक पौडेल तत्कालीन र वर्तमानमै पनि नेपाली समाजमा रहेको सबैभन्दा जटिल समस्या बुझ्न असमर्थ रहेको या पन्छाउन, छोप्न वा अनदेखा गर्न अग्रसर देखिन्छन्।
‘दलित’ छुवाछुत वा जातसँगमात्र सम्बन्धित शब्द पनि होइन, एउटा आन्दोलनको नाम हो। सम्भवतः पहिलो पटक मराठी भाषाको शब्द ‘दलित’लाई महाराष्ट्रका सामाजिक अभियन्ता ज्याेतिराव फुलेले अछुत र वर्णव्यवस्थाद्वारा पुछारमा पारिएका समुदाय जनाउन प्रयोग गरेका थिए। संस्कृतमा दलितको अर्थ ‘विभाजित’, ‘छरिएको’, ‘टुक्रिएको’ हुन्छ। दलनमा परेको समुदाय या व्यक्ति दलित हो। वर्गीय हिसाबले पिछडिएको मात्र भनेर दलित शब्दको उत्पत्ति, प्रयोग, र आन्दोलनको मर्म समेट्न सक्दैन।
चलचित्रमा मुख्य सन्दर्भ बनाइएको समुदाय भनिएको गन्धर्व वा गाइने भनेर चिनिने जाति कास्की (६२२), तनहुँ (२५८), गोरखा (१६८), लमजुङ (८६), चितवन (५०७), स्याङ्जा (११६), बागलुङ (१३०), प्युठान (२९३), गुल्मी (२९४), अर्घाखाँची (२७५), पाल्पा (१८७), रुपन्देही (२९३), कपिलवस्तु (३७६), दाङ (७९७), बाँके (३८२), बर्दिया (३२८), सुर्खेत (५०७), दैलेख, जाजरकोट, रुकुम, सल्यान, धादिङ लगायत जिल्लामा फैलिएर जम्मा ६९७१ काे संख्यामा रहेका छन् (तथ्यांक विभाग, २०७८ काे जनगणना)।
नेपाल कानून आयोगको वेबसाइटमा उल्लेख भएअनुसार मुलुकी ऐन, १९१० मा ‘छाेइछिटाेसमेत हाल्नुपर्ने जातकाे घटिबढी छुट्याएकाे ऐन’ शीर्षकअन्तर्गत सबैभन्दा पुछारमा च्याम्हा, त्यसपछि पाेढ्या, वादी हुँदै वादीकाे हातको नखाने र गाई बजाई मागी खाने हुनाले गाइन्या जात वादीभन्दा माथि भनेर समग्र जातप्रथाकाे पुछारबाट चौथो तहमा राखिएको छ। यसैगरी, गाइन्याले छाेएकाे नखाने हुनाले दमाई पाँचाैं र यसभन्दा दुई तहमाथि साताैंमा सार्की तथा कामी राखिएको छ।
रूप विश्वकर्मा, 'दलितको दृष्टिमा पूर्ण बहादुरको सारंगी' शीर्षकको लेखमा लेख्छन्, “दलित समुदायले भोग्नुपरिरहेको सबैभन्दा निकृष्ट र अमानवीय अत्याचार हो-जातीय छुवाछूत। जसको उत्पीडन कहीँ कतै देखाइएको छैन। जातीय छुवाछूतलाई छुँदै नछोएको कथा कसरी दलितको हुन्छ?” (३ मंसिर, २०८१, नेपालखबर डट कम)।
चलचित्रबारे मधु शाही लेख्छिन्, “... सारंगी बजाएर कला पस्किएको यो समाजले कहिल्यै इज्जत गरेन। बरु त्यही सारंगीकै कारण उसमाथि जातीय विभेदको चरम प्रताडना सहन बाध्य पारेको छ। पूर्णबहादुरको सारंगीले समाजको चरम विभेदमा परेको समुदायमाथि न्याय गर्ने उद्देश्य गौण ठानेको देखिन्छ” (३ मंसिर, २०८१, नागरिकन्युज)।
अबोध बालक आफ्नो ‘बा’लाई किन कसैले नमस्ते गर्दैन, एकपछि अर्को अपहेलनमा मात्र परिरहन्छन् मेरा बा भन्नेमा घोत्लिन्छ। तर, डाक्टरको सेताे काेट लगाएपछि वा भनाैं पढेपछि नमस्ते र सम्मान सबै पाइन्छ भन्ने भाष्य बनाएर चलचित्र निर्माण गरिएको छ। पूर्णे गाइने जातिको भएकोले होइन, गरिब र सारंगी रेटेर मागेर खाने भएकोले मात्रै शिक्षक पात्र (सायद ‘ब्राह्मण’) बाट, वा आफ्नै श्रीमती बाटुलीबाट समेत अपहेलित हुनुपरेको देखाइएको छ।
२०६० सालकाे आसपासमा आइपुग्दासम्म पूर्णेसँग कम्तीमा पनि घर र घडेरी सरकारले दिएको भनिएको छ। कतिपय दृश्य र संवादको सहायताले मास्टर पात्रमार्फत क्रान्तिलाई भ्रष्टिकरण गरी नकारात्मक रूपमा इंगित गरिएको मात्र छैन, लामो समयदेखि नेपालमा चलेको राजनीतिक र सामाजिक क्रान्तिमार्फत प्राप्त उपलब्धिलाई पनि नजरअन्दाज र ढाकछोप गरिएको छ।
समाजमा आधा भाग महिलाको छ, तर चलचित्र पूरै पुरुष पात्रहरूको उपस्थितिमा बनेको छ। महिला पात्र चलचित्रमा नगण्य छन्। यसैले यो नेपाली समाजको सोसल ड्रामा भन्दा पनि ब्राह्मणवादी श्रेष्ठता, पुँजीवादी धन्दा र पितृसत्तात्मक सोचको विष घोलेर बनाइएको एक दर्शकका रूपमा मेरो ठहर छ।
‘ब्राह्मणवादी’ श्रेष्ठताको कहर
वैदिक शिक्षादीक्षा एकलाैटी अवसरको फाइदा लिएर, त्यही शक्तिमार्फत समाजमा उच्च स्थान हासिल गर्ने सामाजिक-राजनैतिक विचार हो ब्राह्मणवाद। ऐतिहासिक रूपमा भारतीय उपमहाद्वीपमा ब्राह्मण मात्रले वैदिक शिक्षा/ज्ञानकाे पहुँच पाएका र ब्राह्मणहरूले यसै ज्ञानकाे बलमा राजकाज गर्ने क्षेत्रीयलगायत सबै समुदायका सदस्यहरूभन्दा आफूलाई श्रेष्ठ घोषणा गरी समाज विभाजन गरेकोले यस्तो विचारलाई ब्राह्मणवाद भनेर सैद्धान्तिकरण गरिएको हो (जाेहानस ब्राेन्खाेर्स्ट, कन्ट्रिव्युसन्स् टु इन्डियन साेसियाेलाेजी, ३६१-३६९)। आज, ब्राह्मणवाद सिद्धान्तले ब्राह्मणमात्रकाे श्रेष्ठता भन्दा पनि हरेक एक समुदायले आफू अर्को समुदायभन्दा श्रेष्ठ रहेको विचारलाई जनाउँछ।
शिक्षकका रूपमा देखाइएका पात्रले ‘कापी कलम च्याप्ने भनेका हाम्राले हो, तिमेर्काले यही सारंगी रेटेर खाने त हो’ भनेर पूर्णेकाे बाबु-छोरालाई भनेका छन्। शिक्षा हामीजस्ता उच्च जातका मानिसका लागि संरक्षित छ र सर्वश्रेष्ठ पनि हामी मात्रै हाैं वा भइरहनेछौँ भन्ने सोचमार्फत शिक्षक पात्रमा रहेको ब्राह्मणवाद देखाइएको छ।
गन्धर्वलगायत तमाम दलित समुदायको किन जग्गा जमिन छैन र कसरी उपल्लो भनिएका समुदायमा संकेन्द्रित छ? किन पूर्णेसँग जति घर धाए पनि र जति कला-गला प्रयोग गरेपनि छोरालाई विद्यालयको ड्रेस-निलाे कपडा किनिदिन सक्ने हैसियत बन्दैन? दलितहरू गरिब किन भएका हुन् र यसैको पनि जगमा हुने तमाम थिचोमिचो, हेलाँहाेचाे कसरी विकास भयो? यी तमाम प्रश्नको अर्थ-सामाजिक-राजनीतिक संरचनामा नपसी शिक्षा लिनेबित्तिकै सबै समस्याको हल हुन्छ र शिक्षा लिएका मानिसले समाजमा उच्च स्थान हासिल गर्न सक्छन् भन्ने भाष्य स्थापित गर्न खोजिएको छ।
सम्मान पाउन र कम्तीमा पनि समाजमा बराबरीको हकदार हुन किन दलितले मात्र चाहिँ पढ्नुपर्ने हो? दलितइतर समुदायका व्यक्ति किन र कसरी जन्मनेवित्तिकै सम्मान पाउन योग्य छन् भन्ने प्रश्नमा यही ब्राह्मणवाद अगाडी लागेको छ। चलचित्रमा कमल पात्र डाक्टर बनेपछि के कति सम्मान पायो र ब्राह्मण समुदाय वा अन्य छुत भनिएका बराबरीकै भए-नभएको नदेखाईकन चलचित्र टुङ्ग्याइएकाे छ।
आफ्नै उदाहरण दिँदै रूप विश्वकर्मा लेख्छन्, “म स्कुले जीवनमा कहिले दोस्रो (सेकेन्ड) मा पनि झर्नुपरेन अर्थात् सधैँ प्रथम (फर्स्ट) भइरहेँ…। शिक्षक र साथीहरूले ‘फर्स्ट ब्वाई’ भनेर प्रशंसा त गर्थे तर सरस्वती पूजाको प्रसाद खाने बेला अलग्गै राख्थे। जातका हिसाबले म जहाँ थिएँ, त्यहीँ रहेँ। यो त उहिलेको कुरा भयो। अहिलेसम्म पनि मेरो गाउँमा म अरू बराबर ‘मान्छे’ हुन सकेको छैन। ” (३ मंसिर, २०८१, नेपालखबर डट कम)।
यसैले, दलितका सन्दर्भमा त्यो पनि चालिसको दशकमा, उत्पीडनमा परेको समुदाय/व्यक्ति पढेर 'ठुलो' हुन्छन् भन्ने तर्क एकदम बकम्फुसे हाे।
चलचित्रमा कामी परिवारकी बाटुलीले आफ्नो जातभन्दा तल्लो जातकाे (गन्धर्व) पूर्णेसँग बिहे गरेपछि कुशको पुत्ला जलाएर बाटुली मरेको सन्देश दिइएको छ।
बाटुलीलाई गन्धर्व 'मागेर खानेहरू' लाग्छ, र 'समाजमा कुनै इज्जत नहुने रहेछ' भन्छे। तर, कामी परिवारकी बाटुलीहरूलाई पनि कुनै विशेष इज्जत दिएको अवस्था थिएन समाजले उस बखत, जुन उनी देख्दिनन्। बाटुली उर्फ अन्जना बराइलीमार्फत निर्देशककाे जोड ब्राह्मणद्वारा अन्य जातीमा मात्र नभएर दलित समुदायहरू भित्रैपनि एकआपसमा यस्तो भावना र व्यवहार छ भन्ने देखाउन र स्थापित गर्न खोजिएको भान हुन्छ। अहिले पनि संरचनात्मक लाभ पाएका समुदायका मान्छेहरू जातीय विभेदका प्रश्न उठ्दा 'उनीहरूबीच नै विभेद भएको देख्दैनौ? हामीलाई के भन्छौ?' भन्ने कुतर्क गर्छन्।
यसरी जुनसुकै जाति र समुदायमा भए पनि निश्चित जात वा क्षमता श्रेष्ठ र अन्यभन्दा माथि हुने, र निश्चित जात वा क्षमता तल रहने गलत विचार, व्यवहार र मनोविज्ञान नै चलचित्रमा प्रस्ट देखिने ब्राह्मणवादी श्रेष्ठताको कहर हाे।
नाफाको पुँजीवादी चक्रव्यूह
निर्देशक पौडेलले चलचित्र ‘आम निम्न मध्यम वर्गीय परिवारका नेपालीको कथा भएको, धेरैलाई आफ्नै कथाजस्तो लाग्न सक्ने’ (१ कार्तिक, २०८१: नेपालप्रेस डट कम) बताएका रहेछन्, प्रदर्शन हुनुअघि।
गाइनेका रूपमा सारंगी रेट्दै घर-घर डुलेर आएको अन्न पैसा जम्मा पारेर सकसपूर्ण जीवन बाँच्ने पूर्णे पात्रको दर्दनाक गरीबकाे कथा उसकै वरिपरि बुनिएको छ, उसलाई निम्न मध्यम वर्गीय परिवार मान्न सकिँदैन। निर्देशकले साँच्चै निम्न मध्यम वर्गीय परिवारको कथाको रूपमा शहर आसपासको गैह्रदलित बाबुछाेराकाे कथा भन्न सक्थे, तर यसो गर्दा चलचित्रले अहिलेझैँ नाफा कमाउन सक्दैनथ्यो।
आजकाे दिन कोही चर्चाको शिखरमा छ भने प्रकाश सपुत नै छन्, उनका गीत र सिर्जनाका कारण। चलचित्रमा उनै गायक प्रकाश सपुत ‘शीर्ष भूमिकासहित सारंगी बजाएर जीवन निर्वाह गर्ने युवाको भूमिकामा प्रस्तुत हुँदैछन्’ (जेठ ४, २०८१, राजधानी दैनिक) भनेर अन्तिममा अनुबन्ध गरी प्रचारित गरिएकोले दलित हुनाको कहर खेपेका सपुत बिकाऊ हुने भइहाले। यसैले, निर्माण पक्षले उनको नाम बिकाएर नाफा लिन खोजेको सुरुदेखि नै देखिन्छ। यद्यपि, चलचित्रमा उनी प्रचार गरिएझैँ भूमिकामा देखिँदैनन्।
आफ्नै निर्देशनमा बन्दै गरेको चलचित्र ‘वसन्त’का लागि प्रकाश सपुतले लेखेको कवितांश यस प्रकार छ,
मैले नै बनाएको अम्खोराको पानी
अलग्गै हातले खान परेपछि,
मैले नै बनाएको पन्युले पस्केको भात,
अलग्गै पातमा खान परेपछि,
ओ, विभेदकारी विष्ट
मैले बिर्सिएँ आरनकाे सीप
मैले नै हानेको घनकाे चोट
मेरै जातले खानु परेपछि।।
(२३ वैशाख २०८१, प्रकाश सपुत युट्युब च्यानल)।
जात प्रथाले पारेको प्रभाव र असरबारे यति सजग र प्रस्ट देखिने सर्जक प्रकाश सपुत ‘पूर्ण बहादुरकाे सारंगी’ मा कमल पात्रका रूपमा बिलकुलै यसविपरित प्रयोग भएका छन्। बाल्यकाल देखि नै बासहित आफ्नो र सम्पूर्ण समुदायको त्यति विघ्न अवहेलना र भेदभाव सहेको पात्र कमल (प्रकाश सपुत) मा क्रान्तिको ज्वाला र आक्रोश जन्मनु पर्नेमा क्रान्तिबारे बिलकुलै असहिष्णु र नकारात्मक देखिनु/देखाइनु एकदमै अस्वाभाविक छ।
चलचित्रमा देखाइएको मास्टर पात्र पनि बडो विचित्रको छ। वि.सं. २०४० सालको नेपाली कांग्रेसकै कार्यकर्ताको पनि दलित समुदायप्रतिको व्यवहार चलचित्रमा देखाइएजस्तो व्यवहार हुन्थेन। कांग्रेसले कहिल्यै वाचन गर्न नछुटाउने संस्थापक नेता बीपी कोइराला छुवाछुतजन्य कुनै पनि व्यवहार गर्दैनथिए भन्ने त कांग्रेस नेता तथा राष्ट्रिय सभाका पूर्व सदस्य (२०४८ साल) दलसिंह कामीले हामी ९ कक्षामा पढ्दा (वि.सं २०४७) बताएको मेरो कानमा गुन्जिरहेको छ। बताइएअनुसार उनी बिपी कोइरालाको भान्सेसमेत थिए।
जातबारे ब्राह्मण नेता वा शिक्षकहरूकै व्यवहारबारे पूर्ण सन्देह भए पनि, सर्वहारा वर्गको उत्थान गर्ने भनेर कम्युनिस्ट चेतना बोकेका व्यक्तिमा गरिब वर्गप्रति त्यो हदसम्मको असहिष्णुता पक्कै नहुनुपर्ने भन्ने लाग्छ। बाग्लुङमा वि.सं. २०३०-४० काे दशकमा शिक्षक र कम्युनिस्ट राजनीति सँगसँगै गरेका व्यक्ति चित्र बहादुर केसीलाई सम्झँदा पनि मास्टर पात्रको चरित्र अतिशयोक्तिपूर्ण देखाइएको भान हुन्छ।
चलचित्रका यस्ता दृष्टान्तले के देखाउँदछ भने पुँजीवादीहरूले सचेत रूपमा सुविचारित तरिकाले छुवाछुत र भेदभावको जगमा हुने सामाजिक अपहेलनाकाे पाटो सर्लक्क छोपेर गरिबिको आँसु र संघर्षलाई शहरी पुँजीपति सम्भ्रान्त वर्गमा मनोरञ्जनकाे लागी पस्किनु र कराेडाैं असुल्न सफल हुनु पुँजीवादी धन्दा हाे। गरीबकाे चलचित्र हेरेर सबैजसो सम्भ्रान्त रुनु, चलचित्र हेर्न शहरका सबैभन्दा महँगा चलचित्र हल खचाखच भरिनुले यस्तै दर्साउँछ।
चलचित्रले नाफा कमाउनु अनिवार्य नै हाे, यसमा कुनै तर्क गरिरहनु नै परेन।
तर विचार र समाजको भ्रष्टिकरण गरेरै भए पनि नाफा कुम्ल्याउनु र रमाउनु पुँजीवादी चरित्र हाे। चलचित्रले नेपाली समाजमा २० प्रतिशत जनसंख्याले भोगिरहेको सामाजिक समस्याको कुनै उपचार सुझाउँदैन। तर, उनैलाई 'कास्ट' गरेर मज्जासँग रकम बटुल्न सफल भएको छ।
पितृसत्ताले थिचिएका बाटुली र पूर्णे
बाबु र छोराको 'इमोसनल' सम्बन्धको कथा भएको चलचित्र भनेर चलचित्रका लेखक तथा निर्देशकले भनेकाले, किन पूर्णेलाई बाटुलीको कोखबाट छोरा नै पाउने इच्छा भएको भनेर टिप्पणी गर्न मिलेन। तर, लेखकमा गहिरो गरी गढेको छोरा मान्छेको श्रेष्ठता, वंशको निरन्तरता आदीबारे टिप्पणी गर्न भने हच्किनु पर्दैन।
लेखक र निर्देशक पौडेलले सधैँजसाे कलाहरूमा आमाको महानता देखाइने/बताइने गरेको, पर्दा पछाडि रहेर आमालगायत सम्पूर्ण परिवारको जिम्मा लिने बाबुबारे कतै पनि नबताइने/नदेखाइने गरेको एक टिभी अन्तर्वार्तामा बताएका थिए।
यसरी, आमाको कथा धेरै भएको ठानेर आमाको अस्तित्व नामेट पारेर र आमाकै बदख्वाइँ गरेर चलचित्र बनाइनुचाहिँ न्याय भयो?
उसैपनि, आमाबारे लेखिएका, देखाइएका कुनै पनि कलाका स्वरूपहरू धेरैजसो पुरुषले नै लेखेका/र देखाएका छन्, जहाँ महिला बिचरा, सहनशील, लाचार, हिंसा सहने 'महान्' आदी रूपमा देखाइएका हुन्छन्। सम्पत्तिको बराबर हक, वंश निरन्तरतामा आमाको हक वा स्थान, नागरिकतामा आमाको हक आदी मुद्दामा कलामार्फत बहस गरिएको पाइँदैन।
पूर्णे पात्रमा छोरालाई सारंगी बजाएर पुस्तान्तरण गर्ने भूत सवार भएको भए पनि बाटुलीले भने भिन्न प्रस्ताव राख्छे। समाजले गाइनेलाई हेपेको देखेपछि छोरालाई पढाउने सपना देख्छे। घरमा पूर्णेसँग बहस गर्छे, आफ्नो असहमति राख्छे।
बाटुलीको विचारलाई पूर्णेले पनि महसुस गरेर छोरा पढाउन संघर्ष गरेको देखाए पनि बाटुलीलाई भने यस बेला सम्म चलचित्रको दृश्यबाट मेटिएको छ। बाबु र छोराको इमाेसनकाे कथा भनेर आमालाई नै मेटाइदिनु नै पितृसत्तात्मक निकृष्ट रूप हाे।
छोरा पढाउन, कपडा किनिदिन वा लालनपोषणका काम गर्न छोरा मानिसले धेरै नै दुःख गर्नुपर्ने र उसैले मात्र यसको पुरै जिम्मा लिनुपर्ने भन्ने नै पितृसत्ताले थपेको बोझ हो। अतः रुँदासमेत छोराले नदेख्ने गरी कान्लाको छेको पार्छ पूर्णे।
शहरमा दुःख गरेर छोरा पढाउने सपना पाल्छे बाटुली। तर शहर जान सहयोग गरिदिने बहानामा झुक्क्याएर बाटुलीलाई आफ्नो कब्जामा पार्न चाहन्छ हर्के। चलचित्रमा बाटुली पोइल गएको देखाएर दर्शकको मनमा महिलाप्रति नै नकारात्मक भाव पैदा गराइएको छ। यो नै पितृसत्ताबाट निसृत व्यवहार र निर्देशककाे सोच हाे।
पितृसत्ता र यसले समाजमा पारेको असरबारे लेखक, निर्देशक कति जानकार रहेछन् भन्ने उनको भनाइ र चलचित्रको प्रस्तुतिबाट देखिन्छ।
उपसंहार
‘पूर्ण बहादुरकाे सारंगी’ले नेपाली सिनेमा जगतमा अनेक कोणबाट जबरजस्त बहस निम्त्याएर र भविष्य देखाएर गएको छ। नेपाली समाज द्रुत गतिको संक्रमणमा छ अहिले। पुरानो सामाजिक मान्यता, चालचलन, संस्कृतिहरू भत्किँदै नयाँ बन्न खोज्दै छ। यसैले, २०४० काे दशकमा सामान्य लाग्ने कतिपय व्यवहार, सोच, क्रियाकलाप २०७०-८० काे दशकमा आइपुग्दा असामान्य र अपराधकै तहमा आइपुगेको छ।
दलित, महिला, अल्पसंख्यक, अनेक भाषिक समूहलगायत हरेक तप्कामा नयाँ जागरण पैदा भएको छ, हुँदै गएको छ। लाखौँ मानिस, अभियन्ता, राजनीतिक व्यक्तिहरूको यसमा समुच्च योगदान छ र अझै यो पूर्ण हुने बाटोमा नै छ।
चलचित्रको प्रचार-प्रसारमा गन्धर्व समुदायको कथा भन्दै सबैजसो मूलधारका अनलाइन, छापामा समाचार प्रकाशित-प्रचारित गरियो। तर जात व्यवस्थाले नेपाली समाजमा पारेको असर; जात व्यवस्थाको पनि पिँधबाट चाैथाेमा रहेका समुदायले भोग्नु परेको छुवाछुत, विभेद, दलन; तथा छुवाछुतकै कारण भोग्नुपरेको गरिबी, अवहेलना, र शताब्दियाैँसम्म एउटा ठुलो समुदायले बगाएको आँशुकाे कथा कहीँकतै नभेटिनु दुःखद छ। त्यसलाई नजरअन्दाज गरी गरिबिको टेकाेमात्र समाइनु र पढाइको सफलताले नै सबै समस्याको हल हुन्छ भनेर भाष्य स्थापित गरिनु टिप्पणीयोग्य छ।
आरक्षणको विरोध गर्ने र हर स्थानमा ‘मेरिटाेक्रेसी’ वा सक्षमको राजकाज हुनुपर्छ भन्ने सोच वा उही ‘ब्राह्मणवादी’ सिद्धान्तसँग मेल खाने किसिमको छ। क्रान्ति नै भए पनि उपल्लो भनिएका समुदायको सान, सम्मान र अवसरहरूको साम्राज्य नभत्काउने किसिमको हुनुपर्दछ भन्ने भाष्य जबरजस्त स्थापित गराउने कोसिस गरिएको छ। यस्तै, महिलाको उपस्थिति नभए पनि समाज र परिवार चल्न सक्छ भन्ने सोचमा चलचित्र बनाइयो।
कुनै पनि सर्जकले समाज र सामाजिक जटिलताको गहिरो अध्ययन नगरी नाफाको मात्र व्यापार गर्ने हेतुले समाजका अनेकन् पत्रमा मजाक उडाउनु, छोपछाप पार्नु, इतिहास र वर्तमानलाई भ्रष्टिकरण गर्नु न्यायसंगत होइन।
(पर्यटन उद्यमी बस्ताकाेटी फुर्सदमा आर्थिक, राजनीतिक, सामाजिक विषयवस्तुमा लेख्छन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
