रास्वपा सांसद र नेताविरुद्ध अदालतको अवहेलना मुद्दामा प्रमाण पेस गर्न सर्वोच्चको आदेश

अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने गरी अभिव्यक्ति दिने र आन्दोलन गरेर न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले
अदालतको अवहेलना मुद्दा दायर गरेका थिए।

काठमाडाैँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदसहित केन्द्रीय पदाधिकारीहरू विरुद्ध दायर अदालतको अवहेलना निवेदनमा थप प्रमाणहरू पेश गर्न सर्वोच्च अदालते आदेश दिएको छ।

मंगलबार बसेको न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले निवेदनका साथ उल्लेखित विवरणहरूसँग सम्बन्धित कागजात र प्रमाणहरू पेश गर्न आदेश दिएको हो। आदेशको प्रति भने बुधबार सार्वजनिक भएको हो।

‘निवेदकले निवेदनसाथ पेश गरेको कागजातको पूर्णपाठ तथा भिडियो क्लिप तथा सो भिडियोलाई लिपिवद्ध गरी निवेदकबाट यथाशीघ्र पेश गर्न लगाई नियमानुसार पेश गर्नुहोला,’ बुधबार सार्वजनिक भएको आदेशमा भनिएको छ।

अधिवक्ता अनुपम भट्टराईले अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र आम जनतालाई उतारेर न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी गर्दै सर्वोच्चमा अदालतको अवहेलना निवेदन पेस गरेका थिए।

अधिवक्ता भट्टराईले रास्वपाका केन्द्रीय पदाधिकारी, बागमती प्रदेशका प्रदेश सभापति र २० जना सांसदविरुद्ध अदालतको अवहेलनाको निवेदन दिएका थिए।