कुहिने फोहोर व्यवस्थापन गर्न स्थान पहिचान गर्दै काठमाडौँ महानगर

फोहोरको दीर्घकालीन समाधानका लागि स्थान पहिचानको काममा लागेको काठमाडौँ महानगरपालिकाले जनाएको छ।

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कुहिने फोहोर काठमाडौँ उपत्यकामा नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको छ।



सबै किसिमका फोहोर बञ्चरेडाँडा पुर्‍याउँदा पटक–पटक समस्या सिर्जना भएकाले आगामी दिनमा प्रभावकारी रूपमा फोहोरको दीर्घकालीन समाधानका लागि स्थान पहिचानको काममा लागेको काठमाडौँ महानगरपालिकाले जनाएको छ। बञ्चरेडाँडामा हानिकारक फोहोर व्यवस्थापन नगर्ने योजनाअनुरूप काठमाडौँ महानगर यस किसिमको अध्ययन सुरु गरेको हो।



काठमाडौँ महानगर प्रमुखको सचिवालयका सदस्य सुनिल लम्सालले भने, “उपत्यकामा तीन स्थानको पहिचान भएको छ। बीचमा केही अवरोध नआए आगामी मंसिरदेखि उक्त कामको थालनी हुने छ। त्यस विषयमा सम्बन्धित स्थानका स्थानीयसँग छलफल भइरहेको छ।”



फोहोर व्यवस्थापन गर्न एउटा ठाउँमा कम्तीमा करिब ५० रोपनी जग्गा आवश्यक पर्ने छ। हाल काठमाडौँ महानगर र अन्य १७ स्थानीय तहसहित उपत्यकाको १८ स्थानीय तहको फोहोर अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लैजाने गरिएको छ। यो नै उपयुक्त विकल्प नभएकाले कुहिने फोहोरलाई उपत्यकामा नै र नकुहिनेलाई अन्तिम व्यवस्थापनका लागि उक्त स्थानमा लैजान कामपाले स्थान पहिचान गरिरहेको छ। अन्य सम्भावित स्थानको पहिचान गर्ने कार्य जारी छ।



हालसम्म उपलब्ध भएका जग्गा ५० रोपनीदेखि १५० रोपनीसम्म छ। यसअघि विगत १६ वर्षदेखि उपत्यकाको १८ स्थानीय तहको फोहोर नुवाकोटको सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो।