केराखेतीमा रमाएका प्रताप, वार्षिक १० लाखसम्म आम्दानी

प्रताप राना जिल्लामा उत्कृष्ट कृषकका रूपमा सम्मानितसमेत भइसकेका छन्। शुरूआतमा पाँच बिघा जग्गामा केराखेती गरेका उनले हाल १७ बिघामा विस्तार गरेका छन्।

दोधारा चाँदनी– कञ्चनपुरको बेलौरी नगरपालिका–६ विद्यानगरका प्रताप रानाले १५ वर्षदेखि केराखेती गरिरहेका छन्। यसबाट उनी वार्षिक १० लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन्। 

राना जिल्लामा उत्कृष्ट कृषकका रूपमा सम्मानितसमेत भइसकेका छन्। शुरूआतमा पाँच बिघा जग्गामा केराखेती गरेका उनले हाल १७ बिघामा विस्तार गरेका छन्। खेतीका लागि राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट २९ लाख ५० हजार रुपैयाँ ऋण पनि लिएका छन्। “केराखेती मेरो आम्दानीको मुख्य स्रोत हो, म यसैमा सन्तुष्ट छु,” रानाले भने, “वार्षिक २८ देखि २९ लाख रुपैयाँसम्म कारोबार हुने गरेको छ।”  

केराखेतीको आम्दानीबाट घरखर्च चलाउनुका साथै कृषि औजार जोड्ने गरेका छन्। कम लागतमा धेरै आम्दानी हुने भएकाले आम्दानीको केही अंश कृषिऔजार खरिदमा लगाउने गरेको उनको भनाइ छ। 

“कृषिमा अहिले थुप्रै प्रविधि आएको छ। यसबाट कम लागतमा धेरै आम्दानी गर्न सकिन्छ,” रानाले भने, “अहिले खेती गर्दा प्रविधिको प्रयोग गर्ने गरेको छु, ड्रोन प्रविधिबाट खेती गर्ने प्रयास गरिरहेको छु ।”

पर्याप्त जग्गा नहुँदा समस्या भएको उनको गुनासो छ। “मैले जग्गा भाडामा लिएर खेती गरिरहेको छु। यहाँ भाडामा पनि जग्गा पाइँदैन, पाइए पनि दुई/तीन वर्षका लागि मात्रै पाइन्छ,” रानाले भने, “लामो समयका लागि जग्गा भाडामा नपाउँदा थोरै क्षेत्रफलमा खेती गर्नु परेको छ।” 

ड्रोन प्रविधिको प्रयोगले उत्पादन र आम्दानी बढ्ने अपेक्षा छ। विषादी छर्किँदा किसानहरूको स्वास्थ्यमा समस्या हुने गरेको बताउँदै ड्रोन प्रविधिले कृषकको स्वास्थ्यमा हुने समस्या कम हुने विश्वास व्यक्त गरे। रानाले दुई जनालाई मासिक तलबमा कामदार राखेका छन्। सिजनका बेला ३०/४० जनाले काम पाउँछन्। उत्पादन गर्न सके बजारको समस्या पनि छैन। 

“अहिलेसम्म बजारको समस्या भोग्नुपरेको छैन,” रानाले भने, “स्वदेशमै मिहिनेतका साथ काम गरे विदेश जानुपर्दैन,” उनले भने, “अत्तरिया, दिपायल, डडेलधुरा र दाङको तुलसीपुरसम्मका बजारमा केरा जाने गरेको छ।” राज्यले किसानलाई सहयोग गर्ने नीति ल्याउनुपर्ने उनको भनाइ छ।