तरकारी बेच्न वरपर ठूलो बजार छैन। डौंसुर, बिन्द्रासैनी, जम्बुकाँधलगायत स्थानीय बजारका खुद्रा पसलमा डोकोमा तरकारी बोकेर पुर्याउँछन्।
दैलेख– नाबालकमै आमा गुमाएका दैलेख चामुण्डाविन्द्रासैनी नगरपालिका–९ का नगेन्द्र खड्का ५० वर्ष पुगे। गाउँमै सागसब्जीखेतीबाट वार्षिक ५–६ लाख रुपैयाँसम्म आम्दानी गर्छन्। खड्काले ६ रोपनीमा व्यावसायिक सागसब्जी खेती गरेका छन्। छोरा सागरको नाममा ‘सागर कृषि तथा पशुपक्षी फार्म’ दर्ता गरी गाउँमै व्यावसायिक सागसब्जी लगाएका छन्।
कलाकार पशुपति शर्मा र सीता केसीले गाएको गीत ‘मलाई अमेरिका यही, मलाई जापान पनि यही’ जस्तै भएको छ, खड्कालाई। उनले हाँस्दै भने, “ती कलाकारले मेरा लागि गीत गाएका हुन् कि क्या हो?” गाउँका अधिकांश पुरुष रोजगारीका लागि मुग्लान र खाडी मुलुकमा गए पनि उनले गाउँमा नै तरकारी व्यवसाय गरेर आम्दानी गरेका छन्।
डोकोमा तरकारी बोकेर बिक्रीका लागि जम्बुकाँध बजार धाउनु उनको दिनचर्या नै बनेको छ। बजारमा पाइला टेक्नेबित्तिकै उनी ‘गाउँले एफएम दाइको, गाउँले तरकारी आयो है…’ भन्दै बजार–बजार डुल्दै चिच्याउँछन् ठट्यौली शैलीमा।
दिनरात तरकारीबारीमा खटिएर उब्जाएको तरकारी बेच्न वरपर ठूलो बजार छैन। डौंसुर, बिन्द्रासैनी, जम्बुकाँधलगायत स्थानीय बजारका खुद्रा पसलमा डोकोमा तरकारी बोकेर पुर्याउँछन्।
“एकपटक ५५ किलो लिएर गएको रहेछु, बिक्रीपछि मात्र थाहा भयो,” उनी भन्छन्, “बुढो मुन्छे, डोको बोक्दा–बोक्दा थाप्लोका रौँ गइसके। केटाकेटीले बोकेर लगिदिन्नन्, क्यार्नु!”
श्रीमती (खजुरा)ले दुई भैँसी, एक हल गोरु र केही बाख्रा पालेर सघाएकी छन्। चार सन्तानमध्ये जेठी छोरीको विवाह भइसक्यो। जेठाले १२ पास गरेर गाउँमै व्यापार गरिबसेका छन्। एक छोराले भर्खरै १८ महिने भेटेनरी पूरा गरे, एक छोरीले १२ कक्षा पास गरेकी छन्। “छोराछोरीलाई यतिसम्मको शिक्षादीक्षा मैले तरकारी बेचेरै दिएको छु,” उनले भने।
‘गाउँले एफएम दाइ’
२०५८ सालतिर, डौंसुरमा खड्का सानो खुद्रा पसल थियो। पसलमा रेडियोबाट दैनिक समाचार सुन्नु र पसलमा सामान किन्न आएका मानिसलाई समाचार सुनाउनु उनको दैनिकजस्तै थियो। त्यतिबेला माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा थियो। समाचारप्रति स्थानीयको चासो बढी थियो। रेडियो नेपाल, माओवादीले सञ्चालन गरेको रेडियो, नेपालगन्जको वागीश्वरी एफएम, कैलाली टीकापुरको फूलबारी एफएम आदिबाट बज्ने समाचार गाउँलाई चर्को ‘भोल्युम’मा सुनाउने गरेको उनका छिमेकी बताउँछन्।
आज यो ठाउँमा यस्तो भीडन्त भयो, यति जनाको मृत्यु भयो, यति जना घाइते भए भनेर सबैलाई भन्थे। त्यहीबेला माओवादीकै ‘रिवल’ले उनको नाम ‘गाउँले एफएम दाइ’ भनेर राखिदिए। त्यतिबेलादेखि उनी ‘एफएम दाइ’ नामले परिचित छन्।
लोकगीत र देउडामा रुचि उत्तिकै छ उनमा। “२०४३ मा रेडियो नेपालबाट चौतारी कार्यक्रम आउँथ्यो, त्यही बेलादेखि मेरो रेडियोतर्फ र गीत–संगीततर्फ लगाव रह्यो,” उनी भन्छन्।
केही वर्षअघिसम्म दैलेख, सुर्खेतबाट प्रसारण हुने धेरैजसो रेडियो कार्यक्रममा बोल्ने, गाउने गर्थे। गाउँले लबज र प्रष्ट आवाजमा गीत गाउने उनी स्रोतामाझ ‘नगेन्द्र खड्का गाउँले एफएम’ नामले चर्चित छन्। अझै पनि उनको घरको बाहिर रेडियो झुन्डिएको हुन्छ। रेडियो सुन्दै बारीमा काम गर्छन्।
कुनै बेला रेडियोप्रेमी खड्का हिजोआज टिकटकतिर मोडिएका छन्। कृषिबारे जानकारीमूलक भिडियो बनाएर टिकटकमा शेयर गर्छन्।
बजारको माग बुझेर उत्पादन गर्दा आम्दानी आइहाल्छ। नत्र त्यत्तिकै तरकारी खेर जाने उनको भनाइ छ। विगत सम्झिँदै खड्काले भने, “२०७९ वैशाखमा मंसिरमा आमचुनाव हुन्छ। चुनावको प्रचारमा आउने कार्यकर्ताले तरकारी किन्छन् भनेर बारीमा तरकारी लगाएँ। मंसिरमा मात्रै २० हजार बराबरको सिमी बिक्री भयो। निर्वाचनको अवधिमा ६ क्विन्टल त बन्दा बेचेँ।” उम्मेदवारलाई आफूले उत्पादन गरेको सिमी र टमाटरको मालासमेत लगाइदिएको उनले जानकारी दिए।
सिमी, काँक्रा, चिचिन्डोलगायत बीउ खड्का आफै उत्पादन गर्छन्। “हाइब्रिड जातको बीउ भने पसलबाट खरिद गर्छु। २०८० फागुन–चैतमा मात्र २५ हजार बराबरको चिचिन्डोका बेर्ना बिक्री गरेँ,” उनले भने, “म तरकारी कहिले बिक्री हुन्छ भन्ने बुझेर उत्पादन गर्छु, यसपालि २०० बोट काउली र त्यही अनुपातमा बन्दा लगाएको छु, राम्रै फलेको छ।”
ठूला दुईवटा टनेलमा ६ क्विन्टलजति गोलभेँडा तयार छन्। एउटा बोटमा तीन–चार किलोसम्म गोलभेँडा फलेको खड्काले जानकारी दिए। उनले भने, “भर्खरै मात्र दुई हजार पाँच रुपैयाँमा टमाटर बेचेर आएँ। अर्ग्यानिक टमाटर हो यो, ६० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ।”
कृषिसम्बन्धी तालिम लिएका खड्का घरमै कीटनाशक औषधि बनाउँछन्। मैले अहिलेसम्म तरकारीमा विषादी हालेको छैन। उनले भने, “अर्ग्यानिक मल नै फालाफाल छ। बजारिया मल किन किन्नु, माटो बिगार्छ।”
परम्परागत रूपमा खेती गर्दै आएका खड्काले राज्यबाट कुनै अनुदान नपाएको बताए। तरकारीखेतीका लागि खड्कालाई सिँचाइको समस्या छ। पालको छानो राखी उनले बारीनजिकै पोखरी बताएका छन्। वरपर पानीको ठूलो मुहान नभएकाले सिँचाइको समस्या अझै छ।
कक्षा ३ सम्म अध्ययन गरेका नगेन्द्र गाउँका अन्य किसानलाई तरकारी लगाउने ज्ञान बाँड्छन्। खड्का चामुन्डाविन्द्रासैनी नगरपालिकाबाट पुरस्कृत पनि भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
