९ अंकले बढ्यो नेप्से, ७ अर्बको कारोबार

बुधबार नेप्से परिसूचक ९.०९ अंकले बढेर २,७११.७५ बिन्दुमा कायम भएको छ।

काठमाडौँ– मंगलबार करिब दुई प्रतिशतले घटेको शेयरबजार परिसूचक नेप्से आज भने सामान्य अंकले बढेको छ। बुधबार नेप्से परिसूचक ९.०९ अंकले बढेर २,७११.७५ बिन्दुमा कायम भएको हो।

आज ३२३ कम्पनीको एक करोड ५४ लाख ६४ हजार ५५२ कित्ता शेयर ७४ हजार ३०३ पटक खरिदबिक्री हुँदा सात अर्ब नौ करोड २८ लाख ७९ हजार ९४६ रुपैयाँ बराबरको कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ। आज बैंकिङ समूह ०.२६, जीवन बिमा ०.१८, निर्जीवन बिमा ०.२१ र अन्य समूह ०.०७ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ।

सबैभन्दा धेरै विकास बैंक समूह ३.३८ प्रतिशतले बढेको छ। वित्त १.६६, होटल तथा पर्यटन ०.४५, जलविद्युत् १.२८, लगानी ०.२०, लघुवित्त ०.०७, म्युचुअल फन्ड ०.३८ र व्यापार समूह ०.२७ प्रतिशतले बढेको छ।

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, नेपाल हाईड्रोडेभलपर्स लिमिटेड, सप्तकोसी डेभलपमेन्ट बैंक लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आजको कारोबारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको ३२ करोड ८१ लाख ९० हजार २५९ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडको सात लाख ६४ हजार ५१९ कित्ता शेयर किनबेच भएको छ।