श्रीलंकाको मध्यावधि निर्वाचनमा वाम गठबन्धनलाई बहुमत

अल्पसंख्यक तमिल समुदायको बाहुल्य रहेको उत्तरी जिल्ला जाफनामा वाम गठबन्धनले सबैभन्दा बढी मत प्राप्त गरेको छ।

तस्वीर: एपी

श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेको वाम गठबन्धनले मध्यावधि विधानसभा चुनावमा बहुमत प्राप्त गरेको छ।

मार्क्सवादी नेता दिसानायकेले भ्रष्टाचारविरुद्ध लड्ने र चोरी भएको सम्पत्ति फिर्ता गर्ने वाचाका साथ सेप्टेम्बरमा भएको राष्ट्रपतीय चुनाव पनि जितेका थिए। अहिलेको परिणामले तत्काल चुनाव गराउने र आफ्नो अजेन्डाका लागि संसदीय समर्थन सुरक्षित गर्ने उनको निर्णयलाई समर्थन मिलेको छ। 

दिसानायकेको नेसनल पिपुल्स पावर (एनपीपी) गठबन्धनले २२५ सदस्यीय विधानसभामा कम्तीमा १२३ सिट जितिसकेको छ। मतगणना भइरहेका अन्य केही स्थानमा पनि अग्रता लिएको छ। 

शुक्रबार बिहानसम्म गणना भएका तीन चौथाइभन्दा बढी मतमध्ये गठबन्धनले ६२ प्रतिशत मत प्राप्त गरेको छ। विपक्षी नेता सजिथ प्रेमदासाको पार्टी १८ प्रतिशत मतका साथ निकै पछि परेको छ ।

“जनताले भ्रष्टाचार र भ्रष्ट प्रणालीबाट छुटकारा पाउनका लागि मतदान गरेका छन्,” चुनावमा एनपीपीलाई समर्थन गर्ने सूचना प्रविधिका व्यवसायी चानाका राजपाक्षले भने।

अल्पसंख्यक तमिल समुदायको बाहुल्य रहेको उत्तरी जिल्ला जाफनामा उनको पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको छ। मजदुर परिवारमा जन्मिएका ५५ वर्षीय राष्ट्रपति दिसानायकेले बिहीबारको चुनावमा मतदान गरेपछि संसद्‌मा सशक्त बहुमत साथ आफ्नो गठबन्धनलाई अगाडि बढाउने अपेक्षा गरेको बताएका थिए। 

करिब २५ वर्षदेखि सांसद रहँदै आएका राष्ट्रपति दिसानायकेले केही समय कृषिमन्त्री भएका थिए। उनको एनपीपी गठबन्धनले निवर्तमान विधानसभामा जम्मा तीन सिट मात्र जितेको थियो।

देशलाई सन् २०२२ को आर्थिक संकटतर्फ धकेलेको आरोप लागेका संस्थापन पक्षका राजनीतिज्ञबाट आफूलाई अलग्गै राखेपछि उनी सेप्टेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति निर्वाचित भएका थिए।