पाकिस्तानमा विषाक्त धुवाँका कारण १५ हजारभन्दा बढीमा श्वासप्रश्वासजन्य संक्रमण

विषाक्त धुवाँ फैलिँदा लाहोरका अस्पताल सुख्खा खोकी, सास फेर्न गाह्रो, निमोनिया र छातीमा संक्रमण भएका बिरामीले भरिएका छन्।

लाहोरलगायत पाकिस्तानका अन्य भागमा विषाक्त धुवाँ फैलिँदा २४ घण्टामा १५ हजारभन्दा बढी व्यक्तिमा श्वासप्रश्वासजन्य संक्रमण देखिएको एरी न्यूजले जनाएको छ।

लाहोरका अस्पताल सुख्खा खोकी, सास फेर्न गाह्रो, निमोनिया र छातीमा संक्रमण भएका बिरामीले भरिएका छन्।

मेयो अस्पतालमा चार हजार बिरामी, जिन्ना अस्पताल तीन हजार ६०० बिरामी, गंगाराम अस्पतालमा तीन हजार बिरामी र बाल अस्पतालमा  दुई हजार बिरामीलगायतका प्रमुख सरकारी अस्पतालमा अधिकांश श्वासप्रश्वासजन्य संक्रमणबाट ग्रसित भएको भेटिएका छन्।

पाकिस्तानका चिकित्सा विज्ञहरूले प्रदूषणका कारण दम र मुटुको रोगजस्ता समस्या भएका बालबालिका तथा बिरामी अत्यधिक रूपमा अस्पतालमा उपचारका लागि पुगेका छन्। उनीहरूले प्रदूषण र धुवाँले निमोनिया, छातीको संक्रमण र छालाका रोगसहित विभिन्न भाइरल रोगमा वृद्धि गरेको जनाएका छन्।

पाकिस्तानका विभिन्न भागमा धुलो तथा धुवाँको प्रदूषण बढेको भन्दै यातायात विभागले नयाँ निर्देशन जारी गरी यातायातका साधनलाई अत्यावश्यक कामबाहेक पालो मिलाएर सेवा दिन निर्देशन गरेको छ भने विद्यालय र कलेज बन्द गरिएका छन्।

पछिल्लो समयमा उत्तरी पाकिस्तानमा फैलिएको धुवाँलाई नासाको ‘मोडरेट रिजोलुसन इमेजिङ स्पेक्ट्रोरेडियो मिटर’ले पनि रिपोर्ट गरेको छ।

सन् २०२४ को ‘नोभेम्बरको शुरूमा उत्तरी पाकिस्तानी आकाश धुवाँले ढाकिँदा हावाको गुणस्तर घटेकाले विद्यालय बन्द भएको र सयौँ मानिस अस्पतालमा पठाइएको नासा मोडिसले जनाएको छ।

नासाले देशमा एक्यूआईको घट्दो स्तरलाई पनि ध्यानमा राख्दै पाकिस्तानको पन्जाब क्षेत्रका केही भागहरूमा वायु गुणस्तर सूचकांक नोभेम्बर १० मा एक हजार ९०० भन्दा माथि पुगेको जनाएको छ।

पाकिस्तानी मिडिया स्रोतका अनुसार पाकिस्तानको पन्जाब प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणले प्रदूषण ‘प्रकोप’ घोषणा गरी आपत्कालीन उपायहरू शुरू गरेको घोषणा गरेको थियो।

प्रदूषणबारे जानकारी दिँदै मोडिसले धुवाँको सतह बाक्लो भएकाले पाकिस्तानको परिदृश्यलाई पूर्ण रूपमा अस्पष्ट पारेको बताएको छ। पछिल्लो समयमा विश्वको सबैभन्दा बढी प्रदूषित सहरहरूको सूचीमा पाकिस्तानको लाहोर शहर परेको छ।