ट्रम्प र बाइडेनबीच भेटवार्ता, शान्तिपूर्ण ढंगले सत्ता हस्तान्तरण गरिने

भेटवार्तामा सत्ता हस्तान्तरणका विषयमा महत्त्वपूर्ण छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

काठमाडौँ– अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार साँझ नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा स्वागत गरेका छन्।

भेटवार्तामा सत्ता हस्तान्तरणका विषयमा महत्त्वपूर्ण छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। बैठकपछि ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै अमेरिकामा शक्ति हस्तान्तरण व्यवस्थित र शान्तिपूर्ण हुने प्रष्ट पारेको छ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी करिन जीन पियरेले पत्रकारहरूलाई राष्ट्रपति बाइडेनले डोनाल्ड ट्रम्पसँग ओभल अफिसमा करिब दुई घण्टा भेट गरेको जानकारी दिइन्। ह्वाइट हाउसका चीफ अफ स्टाफ जेफ जिएन्ट्स र आगामी चिफ अफ स्टाफ सुसी विल्स पनि बैठकमा उपस्थित रहेको उनको भनाई छ।

नव निर्वाचित र वर्तमान राष्ट्रपतिका बीचमा  अमेरिका र विश्वले सामना गरिरहेका महत्त्वपूर्ण राष्ट्रिय सुरक्षा र घरेलु नीतिका मुद्दाहरूमा सौहार्दपूर्ण र फलदायी छलफल भएको उनले बताइन्।

बैठकको शुरूआतमा ट्रम्पलाई सम्बोधन गर्दै बाइडेनले भने, “चुनावमा विजयी भएकोमा तपाईलाई धेरै धेरै बधाई छ। हामी सहज रूपमा शक्ति हस्तान्तरणको आशा गर्दछौँ। हामी तपाईंलाई कुनै पनि समस्याको सामना नगर्ने सुनिश्चित गर्न सक्दो प्रयास गर्नेछौँ। हामी आज यस बारेमा कुरा गर्ने मौका पाउनेछौँ। तपाईलाई फेरि स्वागत छ।”

बाइडेनको सम्बोधनपछि ट्रम्पले उनलाई धन्यवाद दिँदै भने, “धेरै धेरै धन्यवाद। राजनीति कठिन छ र धेरै अवस्थामा यो धेरै राम्रो संसार होइन। तर आज संसार राम्रो छ र म यसको कदर गर्छु। सहज शक्ति हस्तान्तरण सबै अर्थमा राम्रो हुनेछ। म यसको धेरै कदर गर्छु।”

उपराष्ट्रपति तथा चुनावमा डेमोक्रेटिक पार्टीकी डोनाल्ड ट्रम्पकी प्रतिद्वन्द्वी कमला ह्यारिस बैठकमा अनुपस्थित रहेकी थिइन्। जो बाइडेनले ट्रम्पलाई ह्वाइट हाउसमा भेट्न निम्तो दिएका थिए। तर, सन् २०२० मा जो बाइडेनसँग पराजित भएपछि डोनाल्ड ट्रम्पले भने उनलाई बैठकको निम्तो दिएका थिएनन्।

त्यतिबेला ट्रम्पले बाइडेनको शपथ ग्रहण समारोह नै बहिष्कार गरेका थिए। तर जो बाइडेन भने आउँदो जनवरी २० मा हुने ट्रम्पको शपथ ग्रहण समारोहमा उपस्थित हुने अपेक्षा गरिएको छ।