तिलिचो तालको आधार शिविरमा राष्ट्रिय ग्रिडको बिजुली

समुद्री सतहबाट चार हजार २५० मिटर उचाइमा रहेको आधार शिविरमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याएर विद्युत् आपूर्ति शुरू गरिएको हो।

काठमाडौँ– मनाङस्थित पर्यटकीयस्थल तिलिचो तालको आधार शिविरमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ।

मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित समुद्री सतहबाट चार हजार २५० मिटर उचाइमा रहेको आधार शिविरमा राष्ट्रिय प्रसारण लाइन पुर्‍याएर विद्युत् आपूर्ति शुरू गरिएको हो। ५० केभीए क्षमताको वितरण ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।  

आधार शिविरमा १० वटा होटल, स्वास्थ्य चौकी र स–साना रेस्टुरेन्ट सञ्चालित छन्। विद्युत्‌का ग्राहक संख्या १५ रहेको छ। राष्ट्रिय प्रसारण लाइन पुग्नुभन्दा पहिले सौर्य ऊर्जा र डिजेल जेनेरेटरबाट विद्युत् उत्पादन गरी आपूर्ति हुँदै आएको थियो। उक्त स्थान अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्दछ।

सौर्य ऊर्जाको व्यापकले नधान्दा पर्यटकीयस्थलमा विगतमा विद्युत् आपूर्तिको ठूलो समस्या रहेको उल्लेख गर्दै मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष च्योल्पा गुरुङले राष्ट्रिय प्रसारण लाइन पुगेपछि अहिले धेरै सहज भएको बताए। 

“राष्ट्रिय लाइन पुगेपछि आधार शिविरबाट तिलिचो ताल जाने पैदलयात्रीको अक्सिजन तह मापन गर्न मेसिन राखिएको छ। विद्युत्‌को प्रयोग गरी पानी उमाल्न थालिएको छ जसले गर्दा ग्यासको प्रयोग करिब ४० प्रतिशतले कटौती भएको छ,” आधार शिविरमा होटलसमेत सञ्चालन गर्दै आएका वडाध्यक्ष गुरुङले भने।

लमजुङको मर्स्याङ्दी गाउँपालिका–५ घेर्मुस्थित राधी साना जलविद्युत् केन्द्रको सबस्टेसनबाट ३३ केभी विद्युत् प्रसारण लाइन चामे गाउँपालिका–१ स्थित ३३/११ केभी सबस्टेसनमा पुर्‍याइएको छ। उक्त सबस्टेसनबाट ११ केभी लाइन सदरमुकाम चामे हुँदै आधार शिविरमा पुर्‍याइएको हो। 

प्राधिकरणले मनाङमा विद्युत् आपूर्तिका लागि ४५ किलोवाटको चामे साना जलविद्युत् र ८० किलोवाटको मनाङ साना जलविद्युत् केन्द्र सञ्चालन गरेको छ। राष्ट्रिय प्रसारण लाइन ट्रिपिङ भई बन्द भएका बेला साना जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन गरी आपूर्ति दिने गरिएको प्राधिकरण मनाङ वितरण केन्द्र प्रमुख राजु महतोले बताए।