चितवनमा पुस २९ देखि खिचरा महोत्सव

थारू समुदायकाे मुख्य पर्व खिचरालाई विश्वभर चिनाउन चितवनमा रहेक वर्ष महाेत्सव आयोजना हुने गरेको छ।

खिचरा महाेत्सव : फाइल फाेटाे

चितवन– चितवनमा खिचरा महोत्सव हुने भएको छ। पुस २९ देखि माघ ९ सम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५ स्थित गौचरनमा महोत्सव हुन लागेको हो। थारू कल्याणकारिणी सभा चितवन– ७ ले शनिबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारीका बारेमा जानकारी दिएको छ। 

महोत्सव मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले खिचरा महोत्सव सबै जातजाति र समुदायको महोत्सव बनेको जनाउँदै यस वर्ष आकर्षण थप गरिएको बताए। उनले सीमान्तकृत जनजातिको मौलिक वेषभूषामा आउने दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको जानकारी दिए।

“त्यस्तो पहिरनले समुदायको पहिचान झल्काउनुका साथै संरक्षणमा पनि टेवा पुग्छ, कला, संस्कृति संरक्षण नै महोत्सवको उद्देश्य रहेकाले मौलिक वेषभूषालाई प्राथमिकता दिएका हौँ”, उनले भने।

महोत्सवमा हरेक दिन थारूलगायत विभिन्न जातजातिका परम्परागत वेषभूषासहितको सांस्कृतिक प्रस्तुति, थारू विशेष खानाका प्रदर्शनी कक्ष, अन्य जातजातिका मौलिक खाना तथा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, हस्तकला तथा व्यावसायिक प्रदर्शनी, बाल उद्यान, खुला हाजिरी जवाफ, मिस्टर एण्ड मिस थारू २०२२ का प्रतिस्पर्धीद्वारा थारू पहिरनको प्रदर्शनी, थारू विशेष सांस्कृतिक प्रस्तुति, निःशुल्क स्वास्थ्य शिविर, थारू ब्रम्हथान परिसरलगायत छन्। 

महोत्सवलाई सफल बनाउन १५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। विभिन्न ३२ उपसमिति बनाइएको छ। थारू कल्याणकारिणी सभा चितवनका सभापति ललित चौधरीले खिचरा महोत्सव चितवनकै ‘ब्राण्ड’ बनेको बताए। यसलाई भव्यरूपमा सम्पन्न गर्न सबैको साथ र सहयोगको अपेक्षा गरे।

महोत्सवका संस्थापक संयोजक नारायणप्रसाद महतोले खिचरा थारू समुदायको महत्वपूर्ण पर्व रहेकाले त्यसलाई विश्वभर चिनाउन महोत्सव गर्न लागिएको बताए। उनले आर्थिक अभाव हुँदाहुँदै पनि निरन्तरता दिँदै आइरहेको बताए। 

महोत्सवमा प्रवेश शुल्क ५० रुपैयाँ तोकिएको छ। १२० वटा विभिन्न व्यापारिक प्रदर्शनी कक्षसमेत रहने छन्। थारू समुदायले माघ १ गते खिचरा पर्व मनाउँने गर्छन्।