पाथीभरा केबुलकार स्टेसन शिलान्यासका क्रममा झडप

पाथीभरामा केबुलकारको स्टेसन शिलान्यासका क्रममा विवाद हुँदा दुई पक्षबीच झडप भएको छ।

काठमाडौँ– ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरामा केबुलकार निर्माणको विषयमा भएको विवादमा झडप भएको छ। शुक्रबार दिउँसो केबुलकारको स्टेसन रहेन स्थान फुङ्लिङ नगरपालिका– १० काफ्लेपेटीमा स्थानीयबीच झडप भएको हो। झडपमा परी सुरक्षाकर्मीसहित केही व्यक्ति घाइते भएका छन्।

शुक्रबार पाथीभरा दर्शन केबलकार निर्माणका लागि शिलान्यास कार्यक्रम राखिएको थियो। निर्माण पक्षले एक्स्काभेटर लैजाने क्रममा निर्माण पक्ष र केबलकारको विरोधमा आन्दोलनरत पक्षबीच विवाद भएको हो।

विवाद भएपछि सुरक्षाकर्मीले एक्स्काभेटरको चाबी लिएका थिए। निर्माण पक्षले सुरक्षाकर्मीसँग चाबी माग गर्दै विवाद गरेपछि आन्दोलनरत पक्ष आक्रोशित बनेको थियो। त्यसपछि दुवै पक्षबीच ढुंगा हानाहान भएको थियो।

ताप्लेजुङका डीएसपी रवि रावलका अनुसार एक पक्षले केबलकारको स्टेसन शिलान्यास गर्न खोज्दा अर्को पक्षले अवरोध जनाएपछि झडप भएको हो। झडपमा परी तीन जना घाइते भएको र उनीहरूलाई अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ।

पहिचान पहिचान पक्षधरहरूले पाथीभरा केबलकार बनाउन नहुने भन्दै आन्दोलन गर्दै आएका छन्। केबलकार निर्माण हुँदा जैविक विविधता, मौलिकता र प्राकृतिक सौन्दर्यमा असर पुग्ने भन्दै उनीहरूले केबलकार निर्माणमा असहमति जनाउँदै आएका छन्।