बंगलादेशमा विपक्षी सांसदले गरे सामूहिक राजीनामाको घोषणा

हिंसा भड्काएको आरोपमा बीएनपीका दुई शीर्ष नेतालाई शुक्रबार पक्राउ गरिएको थियो भने र्‍यालीलाई अगाडि बढ्न नदिन नोभेम्बर ३० यता करिब दुई हजार कार्यकर्ता र समर्थकलाई हिरासतमा लिइएको पार्टीले जनाएको छ।

नयाँ निर्वाचनको माग गर्दै प्रधानमन्त्री शेख हसिनाको सरकारविरुद्धको आन्दोलनमा बंगलादेशको प्रमुख प्रतिपक्षी दलका करिब एक लाख समर्थक शनिबार ढाकामा भेला भएका छन्।

विपक्षी बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)का सबै सात सांसदले उक्त कार्यक्रममा संसद्बाट राजीनामा दिने घोषणा गरेका छन्। यससँगै देशको विधायिका मुख्यतया रबर स्ट्याम्पको रूपमा रहेन छ। यद्यपि, हसिनाको पार्टीसँग दुई तिहाइभन्दा बढी बहुमत छ।

पश्चिमा सरकार र संयुक्त राष्ट्रसंघले बंगलादेशको राजनीतिक वातावरणप्रति चिन्ता व्यक्त गरेका छन्।

बंगलादेश एशियाको सबैभन्दा तीव्र गतिमा आर्थिक वृद्धि गरिरहेको देशमध्ये एक हो। तर, युक्रेन-रुस युद्धले सरकारलाई ग्यास र डिजेलको आयात स्थगित गर्न बाध्य बनाएको छ। बिजुली कटौती र इन्धनको मूल्य वृद्धिले हालैका महिनाहरूमा विरोध प्रदर्शन शुरू भएको छ।

बगलादेशी टाका २५ प्रतिशतसम्म अवमूल्यन भएको छ, जसले खाद्यान्न आयातको लागत बढाएको छ। गरीब र निम्न मध्यम वर्गका मानिसहरूलाई असर पारेको छ।

‘अटोरिक्सा’ चालक रसेल मियाँ खाद्यान्न र अन्य वस्तुको बढ्दो मूल्यवृद्धिप्रति आक्रोश व्यक्त गर्न र्‍यालीमा सामेल भएको बताउँछन्। उनले मूल्यवृद्धिका कारण आफ्नो परिवारलाई नियमित छाक टार्न संघर्ष गर्नुपरेको सुनाए।

“म उत्पीडनको सिकार भएको छु,” उनले भने, “म आज यहाँ मेरो वर्तमान अवस्थाका लागि जिम्मेवार व्यक्तिहरूको विरोध गर्न आएको हुँ।”

बंगलादेशका आधा दर्जनभन्दा बढी टेलिभिजन समाचार च्यानलले विरोध प्रदर्शनलाई स्थान दिएनन्। यसो हुनुमा अधिकारीहरूले उनीहरूलाई त्यसो नगर्न दबाब दिएको आशंका आन्दोलनकारीले गरेका छन्। 

बीएनपीका एक अधिकारीका अनुसार मध्याह्नसम्ममा लाखौं मानिस र्‍यालीमा सहभागी भएका थिए।

प्रवक्ता जहिरुद्दिन स्वपनले एएफपीसँग भने, “हाम्रो मुख्य माग शेख हसिनाको राजीनामा र संसद् विघटन र तटस्थ कामचलाउ सरकार गठन गरी स्वतन्त्र र निष्पक्ष निर्वाचनको कदम चाल्नु हो।”

नाम नबताउने शर्तमा एक वरिष्ठ सुरक्षा अधिकारीले ८० हजार मानिस आन्दोलनमा सरिक भएको आफूले अनुमान गरेका बताए।

ढाका महानगरका प्रहरी प्रवक्ता फारुक अहमदका अनुसार अहिलेसम्म कुनै हिंसात्मक गतिविधि भएको छैन। तर, सम्भावित हिंसा रोक्न सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको छ।

बीएनपीको मुख्यालयमा मंगलबार सुरक्षा फौजले आक्रमण गर्दा कम्तीमा एक जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएपछि राजधानीमा तनाव बढेको थियो।

हिंसा भड्काएको आरोपमा पार्टीका दुई शीर्ष नेतालाई शुक्रबार पक्राउ गरिएको थियो भने र्‍यालीलाई अगाडि बढ्न नदिन नोभेम्बर ३० यता करिब दुई हजार कार्यकर्ता र समर्थकलाई हिरासतमा लिइएको पार्टीले जनाएको छ। त्यसपछि विपक्षीहरूले देशभर विरोध प्रदर्शन गरिरहेका छन्। 

हसिनाले आफ्नो राजीनामा र कामचलाउ सरकारको नेतृत्वमा निर्वाचनको मागलाई ठाडै अस्वीकार गरिन्। 

दुई करोड जनसंख्या रहेको ढाकामा शनिबार प्रहरीले चेकप्वाइन्ट खडा गरेको थियो भने सुरक्षा व्यवस्था कडा पारिएको थियो। अर्का एक प्रहरी अधिकारीका अनुसार प्रदर्शनस्थलबाहिर सुरक्षाका लागि तीन हजारसम्म प्रहरी परिचालन गरिएको छ।

ढाकाको सामान्य भीडभाड हुने सडकहरूमा केही साइकल, रिक्सा र कारहरू मात्र चलेका थिए, बीएनपीका अधिकारीहरूले सरकारले मानिसहरूलाई प्रदर्शनमा सामेल हुनबाट रोक्नका लागि यातायात सेवामा अनौपचारिक रोकावट शुरू गरेको आरोप लगाएका छन्।

देशको प्रमुख बंगाली दैनिक पत्रिका प्रोथोम आलोका अनुसार सत्तारुढ दलका विद्यार्थी कार्यकर्ताले बीएनपीका कम्तीमा १० जना समर्थकलाई कुटपिट गरेका छन्।

प्रदर्शनमा भाग लिन दक्षिणी टापु भोलाबाट आएका व्यापारी मोहम्मद आलमगीरले भने, “म कुनै पनि राजनीतिक दललाई समर्थन गर्दिनँ। हामी वर्तमान अवस्थाबाट मुक्ति चाहन्छौँ।"