वर्षौं अघि भक्तपुर घुम्न आएका अमेरिकीले ‘भक्तपुर इज रेड’ भनेपछि च्वास्स छोयो। नेमकिपा लगायत पार्टीका तुल रातै हुन्थे, स्कुलका विज्ञापन पनि रातै कपडामा। त्यही घटनाले मलाई रङबारे लेख्न उक्सायो।
संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःका विभिन्न परिचय छन्। तिनैमध्ये हो– रङ चेतना। २०७४ सालमा रङकै बारेमा निबन्ध संग्रह ‘रङ अभिज्ञान’ प्रकाशन गरेपछि उनको परिचय थप फराकिलो बन्यो। निबन्ध संग्रहमा उनले रङलाई विनोद, रस, ऋतु, आहाल, संस्कार, अवतार, भाका, विन्यास गरी विभिन्न २० विषयमा विवेचना गरेका छन्। सप्तरंगी टिका लगाइने तिहार पनि त आखिर रङहरूकै पर्व हो। नेपाली मौलिक चाडपर्वबारे निरन्तर लेख्दै र बोल्दै आएका ग्वंग:सँग रङकै बारेमा उकालोका लागि प्रविता श्रेष्ठले गरेको कुराकानीको सारसंक्षेपः
रङको बारेमा पुस्तक नै लेख्नुभयो, खासमा ‘रङ अभिज्ञान’ के हो?
रङका धेरै अर्थ हुन्छन्। अभिज्ञान भनेको चाहिँ त्यसको अन्तरकुन्तरमा रहेको गुदी तत्त्व हो। मैले अनेक रङ भित्र रहेका तत्त्वहरूबारे निबन्ध संग्रह लेखेको हुँ। सोही अनुरूप यसको नाम रङ अभिज्ञान राखियो।
साझा प्रकाशनबाट प्रकाशित यो निबन्ध संग्रह सत्यमोहन जोशीले लोकार्पण गर्नुभएको थियो। लोकार्पण समारोहमै उहाँले मलाई रङको बारेमा यति बृहत् लेखनी गर्ने पहिलो व्यक्ति भनिदिनुभयो। हुन त मैले पहिलो वा दोस्रो बन्ने दौडमा यो पुस्तक लेखेको होइन। तर उहाँ जत्तिको व्यक्तित्वबाट यस्तो प्रतिक्रिया पाउँदा मेरो हृदय नै न्यानो बन्यो। सोही कार्यक्रममा लक्ष्मण गौतमले रङको मनोविज्ञान हुन्छ भन्नुभएको थियो। यसबारे त मैले निबन्ध संग्रहमा केही उल्लेख गरेको थिइनँ। उहाँको यस्तो प्रतिक्रिया पाएपछि मैले रङ मनोविज्ञानमा थप आर्टिकल पनि लेखेँ।
रङबारे यति वृहत् लेखनीको योजना कसरी बन्यो?
लेखनी भनेको लेख्न शुरू गरेपछि आउने विचार रहेछ। हाम्रो दिमाग सोचको स्रोत पनि त हो। त्यसो त यो निबन्ध संग्रह लेखनी कुनै निश्चित कारण अथवा घटनाको कारण लेखिएको पनि होइन।
हो, धेरै वर्षअघिको एउटा घटना थियो। म भक्तपुरको बासिन्दा, भक्तपुरस्थित खौमा जहाँ मेरो पुर्ख्यौली घर छ, त्यहाँ वरपर अमेरिकी पर्यटकहरू घुम्दै आएका थिए। उनीहरूले ‘भक्तपुर इज रेड’ भने। त्यसले मेरो मनमा च्वास्स छोयो।

भक्तपुरको बजार क्षेत्रमा झुन्ड्याइएका तुल, ब्यानरहरूमा कतै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तुल र ब्यानर हुन्थे। उनीहरूले प्रयोग गर्ने रङ रातो हुन्थ्यो। माले, मसाल, माओवादी लगायतका तुल पनि हुन्थे, ती पनि रातै। हुँदाहुँदा स्कुलहरूले विद्यार्थी भर्ना सम्बन्धी विज्ञापन पनि रातै कपडाका तुल बनाएर राखेका हुन्थे। नेवार समुदायमा गलामा लगाइने धागो पनि रातो नै हुन्छ। सायद यी सब देखेर अमेरिकीहरूमा त्यस्तो इम्प्रेसन परेको होला भन्ने लाग्यो।
अनि मैले उनीहरूलाई भनेँ, ‘भक्तपुर इज नट रेड, इट इज एज अमेरिका इज।’ मैले उनीहरूलाई ती तुल र ब्यानरबारे पनि बुझाउने प्रयास गरेँ। ती सबै पार्टीका प्रचार तथा स्कुल र कलेजका विज्ञापन हुन्, भक्तपुर ती सबैको परिबन्दमा परेको मात्र हो भनेँ। करिब आधा घण्टा जस्तो मैले अमेरिकीहरूको समूहलाई रङको बारेमा बताएँ। उनीहरूले पनि चाख दिएर मेरो कुरा सुने। त्यो घटनापछि नै म रङबारे अलि धेरै सोच्न र घोत्लिन थालेको हुँ। अन्ततः त्यसले नै निबन्ध संग्रह लेख्ने प्रेरणा मिल्यो भन्न पनि सकिएला।
तपाईं आफ्नै लागि चाहिँ रङ के हो?
रङ भनेको मेरो जीवन, आँखा, चेतना, श्रवण, मेरो वासना सबथोक हो। रङ भोग पनि हो। सम्भोग हो। जीवन भोगमय छ। भोगको सम्भावना मानव जीवनको चोला हो। यसकारण रङ मानव जीवनको महत्त्वपूर्ण चोला हो।
जीवनमा रङविहीनताको कल्पना गर्न सकिएला र? जीवन रङविहीन हुनु भनेको अर्थ खरानी जस्तै हुनु हो। मृत्युपछि जब मानिस खरानी हुन्छ, खासमा त्यसलाई खरानी पनि भनिँदैन। त्यसलाई भभूत भनिन्छ। यसकारण रङविहीन हुनुको अर्थ मृत्यु हुनु हो। पूर्वीय समाज आध्यात्मिक धारमा अडेको हुन्छ। कतिपयले रंगविहीन हुनु भनेको कालो अथवा सेतो पनि भन्नु होला। तर यी दुवै रङ नै हुन्।

रङ चाहिँ संस्कार अनि सभ्यतासँग कसरी जोडिन्छ?
‘सप्तास्वरथमारूढं प्रचण्डम्कस्यपात्मजम्’ अर्थात् सूर्यले सप्तरङी किरणका रथ हाँकेको प्रतिकात्मक श्लोक हो यो। सूर्यमा ७ वटा रङ हुन्छ जसको बिम्ब अनुरूप तिहारको भाइटीकामा ७ थरी रङका टिका लगाइन्छ। पहिले यसलाई फिलोसपीका रूपमा मात्र हेरिन्थ्यो। अहिले विज्ञानले पनि सूर्यबाट प्राप्त तेजलाई पुष्टि गरेको छ।
रङहरूको पर्व भनिने फागू (होली) मा अबिर खेलिन्छ। अबिर रातो हुन्छ। अचेल अबिर रातो मात्र हुँदैन, विभिन्न रङमा लगाइन्छ। हामी केटाकेटी हुँदा अबिर मात्र हुन्थ्यो, त्यो पनि रातो। अबिर दलेर होली खेल्ने भन्नसाथै केटाले केटीलाई, केटीले केटालाई पनि रङ दलिदिने गर्छन्। यसले रस पैदा हुन्छ। यसरी रङबाट रङरस हुन्छ।
यसकारण पनि रङ हाम्रो संस्कार, सत्य, सम्भयताको होली हो, तिहार हो र पूर्णिमा हो।
पुस्तकमा मनुजबाबु मिश्र, मुकेश मल्ल लगायतका साथीभाइलाई पनि रङमा सम्झनु भएको छ नि?
मनुजबाबु मिश्र जावलाखेलस्थित तालिम सामग्री उत्पादन केन्द्रमा म हाकिम हुँदा मेरो सहायक हुनुहुन्थ्यो। उहाँले मेरो पनि स्केच गरिदिनुहुन्थ्यो। उहाँको रङको कला मलाई निकै मन पर्थ्यो।
मुकेश मल्ल पहिलेदेखि चिने जानेको मानिस थियो। उहाँ पहेँलो रङप्रेमी हुनुहुन्थ्यो। उहाँको कला नियालेर हेर्दा पहेँलो पृष्ठभूमिमा पहेँलै पहेँलो रङको बहुलता हुन्थ्यो। रातो र पहेँलोमा पनि रातोमाथि पहेँलो रङ, पहेँलो रङमाथि छप्पछप्प छप्किएका ती काला रङमाथि बुई चढेका रङमाथि फेरि पनि पहेँलै रङ। उहाँहरूले आयोजना गर्ने चित्रकला प्रदर्शनीमा बोल्नलाई स्थान दिनुहुन्थ्यो। रङको बारे मैले दिने भाषणबाट उहाँ पुलकित हुनुहुन्थ्यो।

के रङ युगानुकूल हुन्छ?
हुन्छ नि। यसको बलियो उदाहरण जापानको हिरोसिमास्थित पिस मेमोरियल म्युजियम हो। त्यो म्युजियममा सेतो ग्रेनाइटको स्ल्याबमा छापिएको एक बालिकाको आकृति विकिरणका कारण स्वतः कुँदिन पुगेको कालो छाया हो।
यसबारे मैले ‘द स्याडो अन द वाल’ पुस्तकमा पढेको थिएँ। त्यसमा उल्लेख भएअनुसार हिरोसिमामा ‘लिटल बोइ’ नामको एटम बम छाड्ने क्रममा बैंक अफ टोकियोको पिँढीमा एक बालिकाले आफ्नो जुत्ताको तुना बाँध्दै थिइन्। एटम बमको रेडियसनबाट उक्त बालिकाको कालो छाया सेतो स्ल्याबमा जस्ताको तस्तै कुँदिएको रहेछ। यसले त्यो दर्दनाक युगको प्रतिबिम्ब झल्काउँछ। पुस्तकमा पढेको यो कुरा मैले जापान यात्राका क्रममा आफै पनि हेरेँ। संग्रहालय भ्रमण गरेर यसबारे अझ धेरै बुझेँ। यसकारण युगहरूले रङको रहस्यलाई युगानुकूल बनाएका छन्।
हाम्रो धार्मिक मान्यताअनुसार सत्य युग स्वच्छ थियो। स्वच्छको अर्थ मानिस सत्यवान् थिए, दुःख थिएन। पर्यावरण स्वच्छ थियो। निलो सफा आकाश, सेताम्मे हिमाल। कलियुगमा आउँदासम्म हिमालका हिउँ पग्लिएर कालापत्थर मात्र बाँकी छन्। हाम्रो धार्मिक मान्यतासँगै पर्यावरणको विषयमा कलियुग दूषित बनेको छ। सेतोबाट कालो हुनु पर्यावरण बिग्रनु हो नि, त्यो खतम भएको छ।
राजनीतिमा विभिन्न वादहरू छन्, तिनका आफ्नै दर्शन, सिद्धान्त छन्। तर ती वादहरूले रङ पनि बोकेका छन्। विचारलाई रङ किन आवश्यक पर्छ?
रङ आफै बोल्दैन, तर रङको अर्थ, भाका हुन्छ। सोही कारण विभिन्न वादले पनि रङलाई प्रतीक बनाएका छन्। रातो रङले क्रान्तिकारीहरूलाई ‘गर अथवा मर’ को भाव दिन्छ भन्ने गरिन्छ। कालो भनेको विरोध र बहिष्कारको चिह्न हो। वाद विचारप्रधान भए पनि विचारलाई रङको सहायता आवश्यक पर्छ, भावनात्मक रूपमा त्यसलाई सञ्चार गर्न। त्यसकारण वादले पनि रङ बोकेको हुन्छ।

अर्को पुस्तकको तयारीमा हुनुहुन्छ?
अहिले एउटा निबन्ध संग्रह र एउटा कविता संग्रहमा काम भइरहेको छ। ती चाँडै बजारमा आउँदै छन्। जीवनको यो उत्तरार्धमा अब ‘मेरो लौरो’ बारे लेख्न मन छ। अहिले लौरो नटेकी हिँड्न पनि गाह्रो हुन्छ। ‘उमेर रहँदाको त्यो तागत, जवानी, जोस, जाँगर कहाँ खस्यो होला’ भन्ने सोच आइरहन्छ। लौरो टेकेर निहुरिँदा हराएका तिनै कुरा खोजिरहेको छु। अब यही विषयमा केही लेख्ने योजना छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
