सम्झनामा बाल्यकाल र चाडबाडका उटपट्याङ

म पाइन्टको गोजीमा हात हालिरहने, दाजु त्यसो नगर भन्ने। जति भन्दा पनि नलागेपछि दाजुले बाँसको सिर्कनो बोकेर मेरो पछिपछि हिँड्न थाल्नुभयो।

यस्तो लाग्छ दशैँ र तिहारजस्ता चाडबाड गाउँमै रमाइलो हुन्थे। त्यसमाथि बाल्यकालमै ज्यादा रमाइलो हुने! त्यसैले होला, दशैँ तिहार आयो कि बाल्यकालका सम्झना हुँडलिएर आउँछन्। रोमाञ्चित बनाउँछन्। उबेलाका उटपट्याङ हरकत सम्झँदा अहिले रमाइलो लाग्छ। 

शहरबाट धेरै टाढाका गाउँघरमा यस्ता चाडबाडले खुसीसँगै दुःख, पीडा र अरू थोक पनि लिएर आउँथे। तर केटाकेटीलाई अभिभावकको दुःखपीडाको के नै चिन्ता हुन्थ्यो र? दशैँ होस् कि तिहार, चाडहरू कहिल्यै एक्लै आउँदैनथे। परदेशमा भएका आफन्तहरू आफूसँगै लिएर आउँथे। चिउरा कुट्दै, सेलरोटी र अनरसा पकाउँदै आउँथे। लिंगेपिङ गाड्न बाँस चाहियो भन्दै बाँस माग्न आउँथे। वर्षौंसम्म बिछोडिएका जोडीबीच प्रेम, आलिंगन र प्रणयका सुन्दर उपहार पनि दशैँ र तिहारमा गाउँ आउँथे। आफन्तबीच भेटघाट र मिलनका क्षण बोकेर आउँथे। देउसे र भैले लिएर आउँथे। त्यसैले दशैँ तिहारले दुःख कम खुसी र उमंग ज्यादा लिएर आउँथे।

हाम्रो गाउँबाट त्यो बेला धेरै मानिस रोजगारीका लागि भारतको कलकत्ता जान्थे। कोही कोही भने मिजोरम र आसाम पनि जान्थे। तर गाउँ फर्कनेमा कलकत्तेको लर्को बढी हुन्थ्यो। उनीहरू पाएसम्म विराटनगरबाट हवाईजहाजमा, नभए चतरा वराहक्षेत्र हुँदै हिँडेर दुई तीन दिन लगाएर गाउँ फर्किन्थे।

उतिखेर भोजपुर सडक यातायातसँग जोडिएको थिएन। हप्तामा पाँच दिन विराटनगरबाट र दुई दिन काठमाडौँबाट हवाईजहाज आउँथ्यो। परदेशमा रहेका आफन्त तीनै हवाईजहाज चढेर गाउँ आउँथे। हवाईजहाज चढ्न नसक्नेहरू दुई तीन दिन हिँडेर भए पनि गाउँ आउँथे।  हाम्रो घर हालको रामप्रसाद राई गाउँपालिका ३ भुल्केमा थियो। जहाँबाट भोजपुर टक्सारको विमानस्थल त देखिँदैनथ्यो, तर काठमाडौँ आउने जहाज ठुलो ध्वनिसहित जिल्ला पसेको परैबाट सुनिन्थ्यो, देखिन्थ्यो। विराटनगरबाट आउने जहाज मानेभञ्ज्याङ आसपास पुगेपछि प्रस्ट देख्थ्यौं हामी। 

दशैँ तिहार छेक पारेर आउने जहाजहरूले आशा लिएर आउँथे। त्यसरी जहाज आएदेखिका थप ५-६ घण्टा व्यग्र प्रतीक्षामा बित्थे। हाम्रो घरका सबैका आँखा भोजपुरबाट गाउँ आउने र घर पुग्ने बाटोतिर फर्केका हुन्थे। परदेशी दाजु जहाजमा  आउनु भयो कि भनेर तिनको बाटो हेरेर बस्थे। त्यसरी बस्दा यी आँखा कैयौँ वर्ष त निराश भए। दाजु आउँदा परिवारमा खुसी त आउँथ्यो नै, सँगै उहाँसँगै आउने नयाँ लुगा कपडा झनै प्यारो हुन्थ्यो। नयाँ लुगाबिनाको दशैँ पनि के दशैँ हुन्थ्यो र!

हवाईजहाज आउँदा त आइहाल्यो, तर त्यसमा चढेर दाजुचाहिँ किन आउनु भएन! त्यसरी नआउने कारण थाहा पाउन पनि कयौँ महिना लाग्थ्यो। नआउने कारण प्रायः उही हुन्थ्यो, "जहाजमा टिकट पाइएन।" टिकट पाइन्नथ्यो सजिलै। महिनौँदेखि तत्कालीन आरएनएसी वरपर लाइन बसेर टिकट पाइएन भने प्रमुख जिल्ला अधिकारी वा जिल्लाका नेताहरूको निगाहा वा कृपा अर्को उपाय हुन्थ्यो रे। तर बढीमा दुई सिटे त्यो निगाहाका दाबेदार अरू पनि थुप्रै हुन्थे रे।

एक वर्ष भने जहाज बिहानै आयो। जहाज चढेर दाजु पनि आउनुभयो। नयाँ लुगा पनि ल्याउनु भयो। तर उहाँले ल्याएका नयाँ लुगाले खुसी ल्याएन। सप्तमीको दिनदेखि टिकाको दिनसम्मै मेरो भोक निद्रा सबै तीनै लुगाले लगिदियो। यसमा दाजुको केही दोष थिएन। उहाँले घर छोड्दा भाइ र म सानै थियौं। तीनै साना फुच्चे भाइहरूको आकृति सम्झेर उहाँले कटराइजका पाइन्ट र टेरिकटनका सर्टहरू किन्नु भयो। हामी भाइहरूको दशैँको खुसी किन्नु भयो। तर भाइहरू एक वर्षमा हलक्कै बढेछन्। ल्याएका नयाँ लुगा साना भए। भाइले त कसरी चित्त बुझायो कुन्नि, मलाई चाहिँ खुबै रिस उठ्यो उ बेला। अनि के चाहियो र तीन दिनसम्म दिनभर केही नखाई बारीका डिलमा बसेर निरर्थक विरोध जनाए। टिकाको दिन उही पुरानै लुगामा सजिएर अनशन तोडेँ। बुबाआमासहित परिवारका सबै भेला हुँदा अहिले पनि त्यो प्रसंग उठ्छ। मेरो त्यो कर्तुतमा अहिले पनि अरू हाँस्छन्, मलाई लाज हुन्छ। 

दाजु र दशैँको अर्को पनि प्रसंग छ। उहाँ गाउँ फर्केपछि घरमा बेग्लै रौनक हुन्थ्यो। चहलपहल बढ्थ्यो। एउटा वर्षको दशैँ हिलेदशैँ भयो। हाम्रो घर र मचानको बीचमा ठुलो आँगन थियो। झन्डै पाँच आना जग्गाबराबरको आँगनको एकछेउमा मकैको थाङग्रो र अर्को छेउमा जुठेल्नो थियो। घर र मचान जोड्न एकछेउमा सानो ढुंगाको सिँढी थियो। 

त्यो दिन हामी मचानको पालीमा बसेर चिया पिइरहेका थियौ। घरको पछाडिपट्टि गाउँकै मूलबाटो थियो। मूल बाटोतिरबाट आएका डाँडाखर्कका तीन जना तिमल्सेना बन्धुहरू टुप्लुक्क घरको एक कुनामा देखा परे। अचानक दाजुलाई देखेपछि उनीहरू उत्साहित भएर हामी बसेको स्थानमा आउन हतारिए। आँगनमा यसो खुट्टा के राखेका थिए, तीन जना तीनतिर पुग्नेगरी पछारिए। एक जना भने पछारिँदै दाजु बसेकै ठाउँमा पुगे। के हुन लाग्यो भन्ने अनुमान लाउन नपाउँदै त्यहाँ उनीहरूले लगाएका जुत्ता र लुगा हिलाम्यै भए। ढाड बांगोबांगो बनाउँदै उनीहरू फर्किए। चिप्लँदा र पछारिँदा र त्यसभन्दा अगाडिका उनीहरूका हाउभाउ सम्झेर हामीले हाँसो थाम्न सकेनौं। उनीहरू गएपछि पनि निकै बेरसम्म हाँस्यौं।

खासमा उनीहरू त्यो दिन लिंगे पिङका लागि बाँस माग्न आएका रहेछन्। भर्खरै परेको पानीले आँगनमा लेउ लागेको थियो। जमेको लेउ नदेखेका कारण उनीहरू नराम्ररी चिप्लिए र पछारिए। त्यसरी जमेको लेउमा भाइ र म कुखुरा लडाउँथ्यौ। आँगनको एकछेउ र अर्को छेउमा पालैपालो चारो फाल्दाखेरि कुखुराबीच प्रतिस्पर्धा चल्थ्यो चारो खोस्न। उनीहरू दौडन्थे र चिप्लिन्थे। हामी घर र जङगल थर्कने गरी हाँस्थ्यौ। तिमल्सेना बन्धुहरूको चिप्ल्याई मलाई तिनै कुखुराको झैं लागेको थियो। साँच्चै, त्यो दिन उनीहरू बाँस माग्न अरू कसैकोमा गएकी गएनन् होला? लिंगे पिङ हाले कि हालेनन् होला? 

पिङ र दशैँका अरू किस्सा पनि छन्। पिङ पनि दशैँतिहारमा मात्र हाल्ने चलन थियो। पिङ हाल्ने काम झन्झटिलो हुन्थ्यो। बाँसका लिङ्गा भएर मात्र नपुग्ने। बाँस जुटायो, लठारो बाट्ने बाबियो कहाँबाट ल्याउने भन्ने चिन्ता हुन्थ्यो। बाबियो एका दुई घरमा मात्र हुने। हुनेले पनि हत्तपत्त नदिने। केटाकेटी उमेरमा पनि गाउँका दाइहरूको तनाव महसुस गर्न सक्ने भएकोले यो सब काम निकै झ्याउलो लाग्थ्यो। 

एक दिन म र साथी रामचन्द्रले जुक्ति निकाल्यौं। छिमेकीको बारीबाट बाबियो चोर्ने। गाउँका दाइहरूले उक्साएपछि हामी हौसिएका थियौं। योजनाअनुसार बाबियो चोर्न हिँडियो। न्यौपाने छिमेकी बासँग साह्रै डर लाग्थ्यो। खरबारी र बारीका कान्लामा लुक्दै बाबियो घारीनजिक पुगियो। हामी बाबियो काट्ने तयारी के गर्दैथियौं, एक्कासि ढाडमा ढुंगा बज्रियो। 

ऐया भनेर यसो फर्केर रामचन्द्रलाई हेर्छु त केटो त कट्टु समात्दै तीन कान्ला तल झरेर मलाई समेत भाग भन्दै थियो। म पनि हँसिया हल्लाउँदै उसको पछि लागेँ। खासमा न्यौपाने बाले नै ढुंगाले हानेका रहेछन्। मलाई ढुंगाले हानेर बा रामचन्द्रलाई झम्टिन लाग्दा उ भागिहालेछ। बाबियो नपाए पनि ज्यान बच्यो। 

त्यसै दिन बेलुका न्यौपाने बाले सो घटनाबारे घरमा पोल लगाइदिए। बाबियो त पाइएन नै, बुढाको ढुंगोले ढाड खुइल्यायो। त्यतिले नपुगेर साँझमा अगेनाको डिलमा बसिरहँदा आमाले पनि त्यही निहुँमा आगो फुक्ने ढुङ्ग्रीले ढाड र खुट्टामा बजाउनु भयो। 

आमाले कुट्ने मूल कारण चाहिँ ती छिमेकी न्यौपाने बाआमाका साक्खै मामा थिए। बुढामावली गएर बाबियो चोरेको र न्यौपाने बुढा मामाले आमालाई समेत त्यही कारण नराम्रो भनेपछि मैले कुटाई खाएको थिएँ। त्यस दिनपछि न्यौपाने बुढामामा मलाई मन पर्न छोडे। रामचन्द्र र म भएर उनलाई पछिसम्म दुःख दियौँ। 'न्यौपाने फुसाँइ' भन्दै कहिले गाइबस्तु चराइरहेका ठाउँमा त कहिले उनी हिँडिरहेकै बाटो ढुकेर सताउनुसम्म सतायौँ। 

चोरी सफल नभएपनि दाइहरूले बाबियो जुटाए। पिपलचौरमा पिङ ठडियो। मित्र मिलनदेखि मनोरन्जन तथा दिदीदाजुको प्रेम साटासाट गर्ने स्थान बन्यो पिङ। समूह बनाएर झगडा गर्नकै लागि पनि गाउँले दाजुहरूले पिङको भरपुर उपयोग गरे। 

दशैँको फूलपातीदेखि नवमीको दिन, प्राय: साँझ पिङमा भिड जम्मा हुन्थ्यो। घरबाट १५ मिनेट ओरालो झरेर पिङ खेल्न जान्थें। बाटोमा घर पर्ने सबै दौंतरीलाई भेला पार्दै हिँड्दा आफूलाई नेता नै सम्झन्थें। स्कुलको पढाइदेखि खेलकुदमा पनि अगाडि भएकोले स्कुले शिक्षकहरूको मात्र हैन, हुलाक, स्वास्थ्यचौकी, गाविसमा काम गर्ने कर्मचारीले पनि माया गर्थे। तिनको मायाका कारण आफू ठुलै मान्छे भएँ कि भन्ने भ्रम पर्थ्यो। 

कुनै महाअष्टमीको साँझ थियो। धेरै बेर कुर्दा पनि पिङ खेल्ने पालो आएन। अबचाहिँ झगडा गरेर नै भए पनि पिङ नखेली भएन भनेर मनमनै सोच्दै थिएँ। पिङ खेलिरहेका दिदीहरू आत्तिएर कराउन थाले। एक जनालाई रिँगटा लागेपछि उनीहरू मच्चिइरहेको पिङ समात्न आग्रह गरिरहेका थिए। दाइहरूसँगै मैले पनि पिङ समाउन थालेँ। नभन्दै काम्रोमा च्याप्प हात पर्‍यो। तर पिङ मच्चिरहेकोले गर्दा रोक्न गाह्रो थियो। दाइहरूले समात्न सकेनन्। पक्रिसकेपछि पनि लठारो छोडिदिए। मैले भने काम्रोबाट हात खुस्काउन सकिन। हल्का भिरालो जमिनमा लगाइएको पिङमा म पनि पिङसँगै मच्चिएँ। काम्रो समाएको हात खुस्कियो। म एक कान्लामुनि बजारिएँ। 

होस खुल्दा मान्छेको भिडले घेरिएको थिएँ। अहेव उपेन्द्रकुमार यादव मेरो प्राथमिक उपचार गरिरहेका थिए। मैले मुख चलाउन सकिनँ। अनुहारको एकापट्टि अत्यन्त दुखिरहेको थियो। मलाइ स्ट्रेचरमा बोकेर घर लगियो। गहिरो चोट थिएन रे। हड्डी पनि कतैको नभाँचिएकोले अहेवको निगरानीमा म ओछ्यान परेँ। म पिङबाट जहाँ खसे, त्यहाँ माटो बढी भएकोले ठुलो चोट लागेनछ। बजारिँदा घोप्टो परेकोले अनुहार भुईँमा पर्‍यो, तर दाँत र हाडमा गहिरो असर परेन। 

म पहिले पनि एक पटक पिङकै कारण लडेको थिए। त्यसरी लड्दा देब्रे हात मर्किएको थियो। त्यो बेला मेरो चकचकले गर्दा त्यसो भएको भनेर आमाले पिट्नु भएको थियो। म अर्को पटक रुखबाट खसेँ। दाहिने हातको हड्डी बाङ्गियो। रुँदै घर गएँ। आज फेरी के चकचक गरेर आइस् भन्दै घर बढारिरहनु भएकी आमाले कुचैकुचोले भकुर्नु भयो। 

तर दशैँको बेला पिङबाट लडेर स्ट्रेचरमा सुतेर घर पुगेको देखेर यस पटक आमा दुखी हुनुभयो। एक हप्तासम्म मासु तथा अन्य साह्रो खानेकुरा चपाउन सकिनँ। आमाले तातो दूधमा चिउरा र ग्लुकोज बिस्कुट घोलेर लिटोजस्तो बनाएर चम्चाले बिस्तारै खुवाउनु भयो। मेरा आँखा रसाइरहे। आमाको खुबै माया लाग्यो। तर रोएर पनि आमाले आँसु लुकाउनु भयो। आमाको ठाउँमा आफूलाई राखेर हेर्दा अहिले पनि मलाई नराम्रो लाग्छ। उपद्र्याहा बाल्यकाल सम्झेर रमाइलो पनि लाग्छ। यी घटनाको प्रत्यक्षदर्शी मेरो भाइ हुनेगर्थ्यो। तर परदेशी दाजुहरू यस्ता उपद्रोबाट बेखबर नै हुन्थे। मेरो यस्तो उपद्रो अहिले पनि हाम्रो पारिवारिक जमघटमा हाँसी मजाकको विषय बन्छ। 

२०४४ वा ४५ सालतिर हुनुपर्छ। स्थान अहिलेको चतराघाट नजिकै हो। भिरको बाटोमा उभिएर तल बगिरहेको सप्तकोशी किनारमा एकोहोरो हेर्न थाले। मेरो ढाडमा सिर्कनुले कसैले हान्दा म तर्सिएँ। पछाडि फर्कँदा सिर्कनु बोकेर दाजु उभिनुभएको थियो। कुटाइ खाने डरले म हिँड्न थाले। तर मेरो ध्यान भने कोशी किनारमै थियो। त्यो दिन मैले जीवनमै पहिलो पटक गाडी देखेको थिएँ। गाडीका विभिन्न प्रकार चिन्न थालेपछि मैले पहिलो पटक देखेको र ट्वाल्ल परेर हेरिरहेको त्यो गाडी एक्स्काभेटर र डोजर रहेछ भन्ने थाहा पाएँ। दशैँपछिको द्वादशीको कुरा थियो त्यो। र, मैले सिर्कनु भने अघिल्लो दिनदेखि नै खाइरहेको थिएँ। 

त्यही साल हो मैले जीवनमा पहिलो पटक पाइन्ट लगाएको। पाइन्ट लाउनेहरू आफ्ना दुवै हात गोजीमा हालेर गमक्क परेर उभिन्थे। पाइन्ट लगाएसि गोजीमा हात हाल्नुपर्ने रहेछ भनेर सानैमा मस्तिष्कमा घुस्यो। दशैँको टिकाको दिन पहिलोपल्ट पाइन्ट लगाएर दिनभर गोजीमै हात हालेर यताउता गरें। एकादशीको दिन आमा र दाजुको पछि लागेर बिहान चार बजे नै घरबाट मामाघर हिँड्यौं। मामा त्यतिबेला मोरङको रंगेलीनजिक दर्बेसा बस्नुहुन्थ्यो। दाजु सप्तरीको राजबिराज बस्ने। 

दाजुलाई राजबिराज पुर्‍याएर मामाघर जाने योजनासहित म पहिलोपल्ट मधेश जाँदै थिए। नयाँ पाइन्ट लगाएको थिए। छिनछिनमा गोजीमा हात हाल्दो रहेछु। पाइन्टको गोजीमा हात हालेर हिँड्दा पछारिने डर हुन्छ र हातसमेत भाँचिन सक्छ भनेर दाजु मेरो गोठालो लाग्नुहुनेरहेछ। म पाइन्टको गोजीमा हात हालिरहने, दाजु त्यसो नगर भन्ने। जति भन्दा पनि नलागेपछि दाजुले बाँसको सिर्कनो बोकेर मेरो पछिपछि हिँड्न थाल्नुभयो। भोलीपल्ट द्वादशीको दिन सिर्कनो खाने कारण अघिल्लै दिनको निरन्तरता थियो। 

द्वादशीकै रात ९ बजे हामी राजबिराज पुग्यौ। भोलिपल्ट थकाइ मार्ने र पर्सिपल्ट मामाघर जाने योजना बन्यो। आमा र दाजु खाना पकाउन लाग्नुभयो। म ट्वाइलेट गएँ। हात धुनका लागि धारामा गएको, त्यहाँ अनौठो जिनिस देखे। गाउँमा जमिनमुनिबाट मूल फुटेर बनेको धाराको पानी प्रयोग गरेको मलाई त्यस खाले धारा देख्दा अचम्म लाग्यो। एक छिनसम्म त धारा चलाउन जानिनँ। 

अनुमान लगाएर डन्डा थिचेँ, पानी झर्‍यो। त्यसपछि अलि बल गरेर थिचेँ। त्यसरी थिच्दा कता के मिलेन र चिप्लिएँ। लगाएका सबै लुगा भिजे। भोलिपल्ट दाजु अफिस जानुभयो। साँझमा घुम्न जाने सल्लाह थियो। खाना खाएर आमा आराम गर्न थाल्नुभयो। मेरो मनमा विचार आयो कि यतै वरिपरि घुम्न जान्छु र धित मरुन्जेल गाडी हेर्छु। राति भिजेका चिसै लुगा लगाएर बाहिर निस्केँ। सडक छेउमा उभिएर एक छिन गाडी, मान्छे, साइकल र मोटरसाइकल आदि हेरेपछि फर्कन मन लाग्यो। 

फर्किएँ। इट्टा छापेर बनाएको बाटो। बाटोभरि नरिवल र सुपारीका बोट। जता हेर्‍यो बाटो उस्तै। घरहरू पनि उस्तै। तर जति हिँडे पनि अघि आफू निस्केर हिँडेको घर अर्थात् दाजुको डेरा भेटिएन। राजविराजको गर्मीमा पनि मनमा चिसो पस्यो। मुटु ढुक्क फुल्यो। जति वटा गल्ली र बाटा पछ्याए पनि म गन्तव्यमा पुग्न सकिन। अब मैले स्वीकार्नुपर्यो की म हराएँ। 

म बाटोमा बसेर रोइरहेको रहेछु। कसैले बोलायो। मैले उनले सोधेको सबै कुरा बताएँ। राजविराजको प्रज्ञा प्रिन्टिङ प्रेसको नाम कण्ठ थियो। त्यो ठाउँ दाजुको अफिस थियो। त्यसरी सोध्ने व्यक्तिले मलाइ प्रहरी कार्यालयमा लगेर छोडिदिए। आधा घण्टापछि मलाइ दाजुको साथीले साइकलमा राखेर प्रज्ञा प्रिन्टिङ प्रेस पुर्‍याए। मलाइ देखेर नि दाजुले नदेखेजस्तो गर्नु भो। मसँग बोल्नु भएन। गल्ती मेरै थियो। म डराएरै बसिरहेँ। घर जाने बेलामा साइकल चढाएपछि दाजु बोल्नु भो, "अब तलाई यतैबाट अस्पताल लान्छु र हातखुट्टा नचल्ने सुई हान्दिन्छु।" मलाई डर लाग्यो। भोलिपल्ट आमा र म राजविराजबाट इटहरी हुँदै कानेपोखरीसम्म बसमा गयौँ। कानेपोखरीबाट हिँडेर दर्वेसा पुग्दा झमक्क साँझ पर्‍यो। 

यतिसम्म पढ्दा यसले सधैँझैं यसपालि पनि आफ्नै गन्थन लेखेछ भन्ने लागिरहेको होला। अब तिहारको एउटा प्रसंग सुनाएर बिदा माग्छु। 

मः ‘१० बजे टिका लगाउनुपर्छ मलाइ, अहिले नै दिनु यो लुगा।‘ 

उहाँ ‘टिका भोली हो भान्जा भोलि बिहान लानु न।‘

मः ‘कसरी भोलि हुन्छ? अहिले एक छिनमा हो। लुगा अहिल्यै दिनु।‘ 

‘हैट् यी भान्जाले के खाए आज। आज गोरु तिहार हो, भाइटिका भोली हो। ए भगवती यिनलाई सम्झा त मैले सकिनँ।‘

म त्यो दिन उठ्नेबित्तिकै केही दिन पहिले सिलाउन दिएको लुगा लिन गएँ। गाउँकै एक जना दर्जीले लुगा सिलाउनुहुन्थ्यो। उहाँलाई म मामा भन्थेँ। गाउँमा उहाँ सार्के दमाई भनेर चिनिनुहुन्थ्यो। आमाको पुर्ख्यौली घर नजिकैका र उहाँका पनि बुबाकै पालादेखि लुगा सिउने काम गर्ने भएकोले आमालाई दिदी भनेर बोलाउनु हुन्थ्यो। तिनै मामा र म बीचको माथिको संवाद भाइटिकाको दिन बिहानको नभएर गोरु तिहार अर्थात् अघिल्लो दिन साँझको हो। 

अघिल्लो दिन रातभर देउसी खेलिएको थियो। बिहान घर आएर खाना खाई सुतेको, एकैचोटी साँझ मात्र उठेछु। प्रायः रातभर सुतेर उठ्ने बानीले हो वा थकाई र निद्राले, मेरो मनले ठान्यो–म रातभर सुतेर बिहान भएपछि उठेको हुँ। घाम पनि मधुरो भएकाले भाइटिकाको दिनको उज्यालो भयो भन्ने लाग्यो। फुपूको हातको टिका लगाउन नयाँ लुगा लिन जानुपर्छ भन्दै म हतारिँदै ती मामाकोमा पुगेछु र जिद्धी गर्दोरहेछु त्यही दिन भाइटिका हो भनेर। एक छिनसम्म गलफती गरिरहेपछि मेरो होस खुलेजस्तो भयो। घाम मधुरो हुँदै गएको दिशातिर हेरेँ। सूर्य त साइलाम डाँडाबाट बिस्तारै अस्ताउन लागेको रहेछ। अब आफैसँग लाज लाग्यो। भगवती दिदी र दर्जी मामाको मुखै नहेरी त्यहाँबाट कुलेलम ठोकेँ। 

यी र यस्ता केही घटना र उटपट्याङ सम्झिँदा मात्र चाडबाड आएको महसुस हुन्छ। यस्ता अनुभव हुबहु सबैका नभएपनि बाल्यकालको दशैँ तिहारमा दिनभर रातभर चिउरा कुटेको, लिंगे-रोटे पिङ खेलेको, डाइस (लंगुरबुर्जा) खेलेको, जुवाको खालमा उभिएर कौडी (कौडा) खेलको हारजित देखेको, आफूलाई मन पर्ने र मन पराउनेसँग लुकाएर आँखा जुधाएको, कसको घरमा सेलरोटी र अनरसा पाके भन्दै वा सुँघ्दै गाउँ डुलेको, देउसी खेलेको पैसा पहिले "समूह सदस्यबीच बराबरी बाँड्नुपर्छ" भन्दै पछि सबै पैसा बोकेर भागेको, मखमली र सयपत्रीको माला कसका कति धेरै भन्दै धाकधक्कु लगाएकाजस्ता कुरा तपाईँसँग पनि मिल्न गएमा यो संयोगमात्र हो।