रासायनिक मलको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने, माटो बिग्रिने र सागसब्जीमा पनि रोग निम्तिने जानकारी पाएपछि जैविक खेतीमा लागेको किसानले बताएका छन्।
तेह्रथुम– लालीगुराँस नगरपालिका–१ की किसान दीपा पौडेलको बारी र बगैँचामा मौसमी तथा बेमौसमी सागसब्जी बाह्रै महिना हेर्न पाइन्छ।
आफूले लगाउने सागसब्जीमा उनी रासायनिक मल र विषादीको साटो कम्पोस्ट मल र जैविक विषादी प्रयोग गर्छिन्। १० रोपनी जग्गामा जैविक सागसब्जी उमार्दै आएकी उनले सागसब्जी बिक्रीबाट वार्षिक पाँच लाखभन्दा बढी आम्दानी गर्दै आएको सुनाइन्। स्थानीय तीनजुरे महिला किसान समूहकी सचिव दीपा त्यस क्षेत्रकी जैविक सागसब्जी उत्पादक किसान हुन्।
लालीगुराँस नगरपालिका–७ ओखरबोटे महिला किसान समूहकी अध्यक्ष मेनुका पोख्रेलले पनि सागसब्जीमा रासायनिक मल र विषादीको प्रयोग गर्दिनन्। लालीगुराँस नगरपालिका–३ की किसान गीता राईले पनि विगत पाँच वर्षदेखि रासायनिक मलबिना सागसब्जी फलाउँदै आएकी छन्।
रासायनिक मल प्रयोग नगर्दा उत्पादन केही कम भए पनि स्वस्थकर हुने भएकाले त्यसतर्फ बढी ध्यान दिएको गीताले बताइन्। लालीगुराँस नगरपालिका–१, ३ र ७ का किसानले जैविक मल प्रयोग गरी सागसब्जी उत्पादन गर्दै आएका छन्। पहिले रासायनिक मल प्रयोगकर्ता उनीहरूले पाँच वर्षयता गाईभैँसीको गोबर र पत्करबाट बनेको मल प्रयोग गरी सागसब्जी उत्पादन गरिरहेका हुन्।
रासायनिक मलको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने, माटो बिग्रिने र सागसब्जीमा पनि रोग निम्तिने जानकारी पाएपछि जैविक खेतीमा लागेको लालीगुराँस–३ चित्रेकी सुशीला राईले बताइन्।
“पहिले सागसब्जीमा विषादी छर्किँदा दुई–तीन दिन बिरामी नै परिन्थ्यो। हातखुट्टा झम्झमाउने, दुख्ने हुन्थ्यो,” लालीगुराँस–१ की गीता पौडेलले भनिन्, “त्यो विषादीले असर गरेको रहेछ।” अहिले माटोमा सुधार आउन थालेको उनको भनाइ छ।
‘दलित सचेतना समाज (ड्यास)ले सञ्चालन गरेको तालिममा कम्पोस्ट मल बनाउने तरिका सिक्यौँ। अहिले ६–६ महिनामा समूहमा वाष्पीकरण विधिबाट मल बनाउँछौँ। समूहका सबै सदस्यले एक–एकथरि मल बनाउने झारपात ल्याएर सामूहिक रूपमा मल बनाएर आपसमा बाँड्छौँ,” गीताले भनिन्।
यसबाट बचत भएको छ र सीप पनि सिक्न पाएको उनको अनुभव छ। जैविक मल प्रयोग भएको सागसब्जी छिट्टै नकुहिने र स्वाद पनि मिठो हुने स्थानीय उपभोक्ता भूमि राईले बताए।
चिनी मलको अत्यधिक प्रयोग हुने सो क्षेत्रमा त्यसको प्रयोग शून्य बनाउन निकै गाह्रो भएको अनुभव ओखरबोटे महिला किसान समूहकी अध्यक्ष मेनुका पोख्रेलले सुनाइन्। चिनीमल नहालेको शुरू वर्ष अन्य वर्षको तुलनामा चार भागको एक भाग पनि सागसब्जी उत्पादन भएको थियो।
नगरपालिकाको भकारो र गोठ सुधार कार्यक्रमले कम्पोस्ट मल बनाउने तरिका सिकाएको थियो। मललाई छाना लगाएर राखिने गाईबस्तुको पिसाब ट्यांकीमा जम्मा गरी सागसब्जीमा लगाउँदा चिनीमलको जस्तै काम गर्छ भन्ने थाहा पाएपछि आफूहरूले त्यसै गरेको किसानको भनाइ छ।
अधिक मात्रामा चिनीमल प्रयोग हुने यो क्षेत्र हाल जैविक सागसब्जीको केन्द्रका रूपमा विकास भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
