कपिलमान श्रेष्ठ र मानव सेवा आश्रमलाई मानव अधिकार पुरस्कार

सरकारले मानव अधिकार पुरस्कार–२०७९, मानव अधिकारकर्मी प्रा.डा. कपिलमान श्रेष्ठ र मानव सेवा आश्रमलाई दिने भएको छ।

काठमाडौँ– सरकारले मानव अधिकार पुरस्कार–२०७९ बाट मानव अधिकारकर्मी प्रा.डा. कपिलमान श्रेष्ठ र मानव सेवा आश्रमलाई दिने भएको छ।

लामो समयदेखि मानव अधिकारका विभिन्न विधामा अध्ययन, अनुसन्धान, अध्यापन, लेख रचना प्रकाशन, प्रवद्र्धन पैरवी, संरक्षण र सम्मानमा दिएको योगदानका लागि प्रा.डा. श्रेष्ठलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको कानुन मन्त्रालयले जनाएको छ।

त्यसैगरी, संस्थातर्फ मानव सेवा आश्रम काठमाडौँलाई सडकपेटी तथा अन्य सार्वजनिकस्थलमा, असहाय, असमर्थ र बेवारिस रूपमा रही कष्टपूर्ण जीवनयापन गरिरहेका व्यक्तिको उद्धार, उपचार, परामर्श, लालनपालन, संरक्षण गरेको भन्दै पुरस्कार दिने निर्णय गरेको हो।

सरकारले मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको उपलक्ष्यमा प्रदान पुरस्कार प्रदान गर्ने उद्देश्यले मानव अधिकार पुरस्कार अक्षयकोष स्थापना गरेर २०७८ सालदेखि पुरस्कार प्रदान गर्न थालेको थियो।