ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा

निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको खेलमा ३० मिनेट अतिरिक्त समय थपिएको थियो।

साबिकको उपविजेता क्रोएसिया कतार विश्वकप २०२२ को सेमिफाइनलमा पुगेको छ।

दोहास्थित एजुकेशन सिटी स्टेडियममा शुक्रबार राति सम्पन्न खेलमा पाँच पटकको विश्वविजेता ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम चारमा पुगेको हो।

निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको खेलमा ३० मिनेट अतिरिक्त समय थपिएको थियो। त्यसपछि थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टोलीले १-१ गोल गरेपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको थियो।

पेनाल्टी सुटआउटमा क्रोएसियाका निकोला भ्लासिच, बोर्ना सोसा, लुका मोड्रिच र मिस्लाव ओरसिचले गोल गरे। ब्राजिलका लागि क्यासमिरो र पेड्रोले मात्रै गोल गर्न सके।

ब्राजिलका मारक्विन्होस र रोड्रिगोले गोल गर्न सकेनन्। 

ब्राजिलका लागि नेयमारले पहिलो गोल गरेका थिए। उनले अतिरिक्त समयमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। क्रोएसियाली डिफेन्डरलाई छक्याउँदै नेयमार गोलपोस्टको नजिक पुगेका थिए। उनलाई रोक्ने प्रयासमा गोलरक्षक लिभाकोभिच ढलेका थिए। नेयमारले उनलाई बिट गर्दै गोल गरे।

योसँगै उनले ब्राजिली महान् पूर्व फरवार्ड पेलेको सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी गरेका छन्। पेलेले ९२ अन्तर्राष्ट्रिय खेलमा ७७ गोल गरेका थिए। यता, नेयमारले भने १२४ खेलमा ७७ गोल गरे। खेल सकिन चार मिनेट मात्र बाँकी रहँदा क्रोएसियाले पुनरागमन गरेको थियो।

११७औँ मिनेटमा ब्रुनो पेटकोभिचले गोल गर्दै खेललाई पेनाल्टीमा धकेलेका थिए।

क्रोएसियाले प्रि-क्वार्टरफाइनलमा पनि जापानलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो। पछिल्लो पटक सन् २०१८ मा क्रोएसियाको टोलीले फाइनलअघि पेनाल्टी सुटआउटमा तीन नकआउट खेल जितेको थियो। तर, फाइनलमा फ्रान्सले ४-२ गोलले पराजित गर्दै उपाधि जितेको थियो।