संखुवासभाकी फुपु पोङ्सुवा शेर्पा जडीबुटी बिक्री गर्न धनकुटा, बर्दिबास, लालबन्दी, सिन्धुली, रामेछाप हुँदै काठमाडौँ र पोखरासम्म पुग्थिन्। अहिले इटहरी–६ मा पसल शुरू गरेकी छन्।
धरान– संखुवासभाकी फुपु पोङ्सुवा शेर्पाले जडीबुटी व्यवसायलाई मुख्य पेसा बनाएको दुई दशक भयो। हिमाल र पहाडमा संकलन भएका जडीबुटी बिक्री गर्न धनकुटा, बर्दिबास, लालबन्दी, सिन्धुली र रामेछाप हुँदै काठमाडौँ र पोखरासम्म पुगिन्। अहिले इटहरी उपमहानगरपालिका–६ मा पसल नै शुरू गरेकी छन्।
जडीबुटीबाट राम्रो आम्दानी हुन थालेपछि संखुवासभा छाडेर धरान उपमहानगरपालिका–१५ मा बस्दै आएकी छन्। “पहिले टाढा–टाढासम्म पुग्दा पनि भने जस्तो आम्दानी हुँदैनथ्यो, तर अहिले यसको माग बढ्दो छ, इटहरीको पसलबाट पनि राम्रो बिक्री भइरहेको छ,” उनले भनिन्, “अहिले मासिक १ लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुन्छ। परिवारको खर्च र सन्तान पढाउन पुगेको छ।”
यही आम्दानीबाट धरानको बगरकोटमा साढे दुई तलाको घर पनि बनाइसकेकी छन्। संखुवासभा, सोलु, भोटखोला, पश्चिमको रोल्पा, डोल्पा, खासादेखि सिक्किम, दार्जिलिङबाट समेत जडीबुटी ल्याउने गरेकी छन्। कहिले आफै गएर त कहिले अर्डर गरेकै भरमा इटहरीमा जडीबुटी आइपुग्ने उनले बताइन्। पसलमा यार्सागुम्बा, चिराइतो, पदमचाल, हर्बो, सतुवा, जेठी मधु, चिप्लेकिरा, बिख्मा, पुदिना, रिठ्ठा, टिम्मुरलगायत ३०० भन्दा बढी प्रकारका जडीबुटी बिक्रीका लागि राखेकी छन्।
जडीबुटी बिक्रीका लागि सरकारबाट अनुमति लिएकी छन्। नगरपालिकाले औषधि व्यापारसम्बन्धी तालिमसमेत दिने गरेको छ। तालिमले गर्दा आफूलाई यसबारे थप ज्ञान हासिल भएको उनको भनाइ छ।
शेर्पा जस्तै धरान–८ का आचुङ्मा भोटे इटहरी–६ को टेङ्ग्रा खोला नजिकै जडीबुटी बिक्री गर्दै गर्दा भेटिए। उनी पनि जडीबुटी व्यवसायमा लागेको दुई दशक हुन लाग्यो। पछिल्लो समय जडीबुटीबाट आम्दानी राम्रो भएको उनले सुनाए।
पुर्ख्यौली घर संखुवासभा भएका उनी जडीबुटी व्यापारकै लागि १५ वर्षअघि धरान झरेका हुन्। “शुरूआती दिनमा हिमालका जडीबुटी तराई झरेर बिक्री गरी उतै फर्किन्थ्यो, त्यो समयमा अस्पतालको सहज पहुँच नहुँदा बिरामी हुँदा धेरैका लाग जडीबुटीको विकल्प थिएन,” उनले भने, “पछिल्लो समय फेरि यसको माग बढेको छ।” पुर्खाले समेत यही व्यापार गरेकाले आफूले पनि यही पेसा अपनाएको उनको भनाइ छ।
जडीबुटी बिक्रीबाट मासिक ६० हजार रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको उनको भनाइ छ। “अहिले जडीबुटीप्रति धेरैको विश्वास बढ्दै गएको छ, काठमाडौँ, विराटनगर, मोरङ, झापालगायत ठाउँबाट समेत फोन गरेर जडीबुटी अर्डर गर्नुहुन्छ,” उनले भने, “पहिले जडीबुटीले पनि रोग निको हुन्छ र? भन्नेहरू पनि अहिले जडीबुटी किन्न थालेका छन्।”
इटहरीको पूर्वको हटिया खोला किनारमा जडीबुटीको व्यापार गर्दै आएका धरानका दावा शेर्पा १० वर्षदेखि यही पेसामा छन्। “जडीबुटी बिक्रीबाट परिवार राम्रोसँग चलेको छ, दैनिक पाँच हजारदेखि १० हजार रुपैयाँसम्म व्यापार हुन्छ,” उनले भने। नेपालका विभिन्न ठाउँ र भारतबाट जडीबुटी आउने गरेको उनले सुनाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
