बिजुलीको झिलिमिलीले ओझेलमा माटोका पाला

कुम्हालहरूले दीपावली र छठका बेला बर्सेनि लाखौँका माटाका भाँडाकुँडा र दियो बिक्री गर्ने गरेका थिए। अहिले बिक्रीमा कमी आएको जलेश्वर नगरपालिका–१ का मंगल पण्डितले बताए। 

जलेश्वर– बिजुलीको झिलिमिलीमा स्थानीय रमाउन थालेपछि तराईमा तिहार र छठका बेला माटोका पाला, दियो र भाँडाकुँडा बेचेर घरखर्च जुटाउँदै आएका महोत्तरीसहित मिथिला क्षेत्रका कुम्भकारको  चिन्तित भएका छन्। 

बिजुलीको झिलिमिलीमा रमाउने आधुनिक समाजले माटोका दियो, पालालाई बेवास्ता गर्दा पुस्तौँदेखि महोत्तरीसहित मिथिलाका कुम्हाले समस्यामा परेका हुन्। 

कुम्हालहरूले दीपावली र छठका बेला बर्सेनि लाखौँका माटाका भाँडाकुँडा र दियो बिक्री गर्ने गरेका थिए। अहिले बिक्रीमा कमी आएको जलेश्वर नगरपालिका–१ का कुम्हाल मंगल पण्डितले बताए। 

“दीपावली, छठपर्वलगायत अन्य पूजापाठमा आवश्यक दियो, ढकनी, घैँटो, मटिया, कुसिया पूर्ति गर्न हम्मे हुने गरेको थियो,” उनले भने, “अहिलेका मानिस आधुनिकतामा रमाएर धातु र प्लास्टिकका भाँडाकुँडा तथा बिजुलीबत्ती प्रयोग गर्न थालेपछि हाम्रो व्यवसाय चौपट भयो।” 

सदरमुकाम जलेश्वरलगायत जिल्लाको मटिहानी, धिरापुर, रामगोपालपुर, गौशाला, औरही, गौशाला, बर्दिबासलगायत गाउँपालिकाका कुम्हालले माटाका भाँडाकुँडा बेच्ने गरेका थिए। अहिले नगण्य मात्रा सामग्री बिक्री हुने गरेको महोत्तरी गाउँपालिका–४ कुम्हाल वीरेन्द्र पण्डितको भनाइ छ। 

पहिला महोत्तरीका विभिन्न गाउँठाउँमा बनाइएका माटाका भाँडाकुँडा काठमाडौँ, पोखरा, हेटौँडा, जनकपुर र भारतीय सहर मधुवनी, दरभंगा, सीतामढी र पटनासम्म निर्यात हुने गरेको थियो। अहिले आफूहरूको पेसा नै धरापमा परेको जलेश्वर नगरपालिका–११ का कुम्भकार सुरज पण्डितले बताए।

अत्यधिक श्रम र लगानीमा तयार गरिने माटोको भाँडाकुँडा, दियो, मटिया, कुसिया, कुरबारलगायत सामग्री बिक्री नहुनु र बिक्री भए पनि लगानीसमेत नआउनुले यस पेसामा नयाँ पुस्ता लाग्न नचाहेको जलेश्वर नपा–६ का कुम्भकार नन्दु पण्डितको भनाइ छ।