पहिलो पटक आमा बन्दा म धेरै खुशी भएँ तर मेरो खुशी अन्धविश्वासको महामारीले खोसिदियो। रोग लाग्दा आधुनिक चिकित्सालयभन्दा धामीझाँक्रीकहाँ धाउने अभ्यास महामारी हो यो समाजको।
यो वास्तविक जीवन कथा हो, जसको पात्रलाई सार्वजनिक रूपमा कथा भन्न र राम्ररी मिलाएर सुनाउन आउँदैन। निजत्वका केही प्रश्नमा नछिरीकन पात्रको अनुमतिमा लेखकले कथा जस्ताको तस्तै बोलिदिने चेष्टा यहाँ गरेको हो:
सबैलाई आफ्नै दुःख ठूलो लागे पनि निम्नमध्यम वर्गीय परिवारमा जन्मिएकी मैले जीवनमा सुख थोरै र दुःख ज्यादा भोगेको छु। त्यसमाथि, नेपाली समाजमा एक्लै संघर्षरत महिलालाई जिउन एकदमै मुस्किल छ, एक्लै देख्नेबित्तिकै गिद्धेदृष्टि राख्ने ‘भाले मनोविज्ञान’ जो छ। आर्थिक रूपमा कमजोर हुँदा परिवार र नातेदारले पनि सहजै स्विकार्न खोज्दैनन्। लोग्ने मरेकी महिलालाई सहज रूपमा बाँच्न जति चुनौती हुन्छन्, त्योभन्दा बढी असहज हुन्छ, जिउँदै लोग्नेको ‘विधवा श्रीमती’ भएर बाँच्न। पुराना कथाहरूमा हामी कहालीलाग्दा नर्कको बखान भेट्छौँ, मैले आफ्नै जीवनमा अँध्यारा र अमिला नर्क भोगेको छु।
आफ्नो दुःख गरी आफ्नै बाटो हिँड्दा पनि दोबाटोमा प्रश्न र शंका गर्नेहरू भेटिन्छन्। मेरै कुरा गर्ने हो भने छाडा लोग्ने कता हिँड्यो पत्ता छैन, चार बालबच्चाकी आमा मैलेचाहिँ हरेक पाइलामा ‘पवित्रता’को परीक्षा दिनुपर्ने? यो सबै ताडना भोग्दा कहिलेकाहीँ लाग्थ्यो, इज्जतको भारी महिलाले मात्र बोक्नुपर्ने यस समाजमा महिला भएर जन्मनु नै अभिशाप हो। स्वतन्त्र जन्मिए पनि सामाजिक व्यवस्थाले एउटी महिलाको पहिचान लोग्ने मान्छेमै निर्भर रहने, यो कस्तो झुर व्यवस्था?
अरू वसन्तका कुरा गर्छन्, जीवनका ४६औँ शिशिर पार गर्दासमेत मैले बिरलै आफ्नोबारे सोचेँ। सोच्न दिइए पो? सोच्न पाए पो? जन्मघर हुँदा मेरा जीवनका हरेक निर्णय बाबाले लिनुहुन्थ्यो, विवाहपश्चात् लोग्नेले। सदैव मैले परिवार, माइती, आफ्ना सन्तान र समाजबारे मात्र सोचिरहेँ, तर मेरो कष्ट र वेदनाको कसलाई ख्याल? फेरि समाजले बनाएको चौघेरा तोड्न सक्ने म कुनै विद्रोही पनि परिनँ। आमाको मुख ताकेर बसेका कलिला सन्तानबारे सोच्दासोच्दै अनुमानित पूरा-आयुको आधी यात्रा त पूरा भइसक्यो।
पहाडको तामाङ समुदायमा म जन्मेँ। अहिले त त्यो चलन करिब–करिब हटेझैँ देखिन्छ तर म हुर्कँदै गर्दा ‘भान्जीमा मामाको परिवारको पहिलो हक’ लाग्ने मान्यता समाजमा धेरै थियो। भर्खर १४ वर्ष लागेकी म सही र गलत छुट्याउन सक्ने भएकी थिइनँ। मामाले ‘हाम्रो चेलीको छोरी, पहिलो हक हाम्रो लाग्छ, हाम्रो छोराहरू सानै छन्, नत्र उनीहरूसँगै बिहे गराइदिन हुन्थ्यो। भान्जी ठुली भइसकी, भान्जीका लागि हामी कुटुम्ब खोज्छौँ। हामीले खोजेकै कुटुम्बसँग भान्जीको बिहे गरिदिनुपर्छ’ भन्नुभयो। मामाले मभन्दा एक वर्ष कान्छो केटासँग कुरा चलाउनुभयो र बाबाले हुन्छ भन्नुभयो।
हामी दुवै अल्लारे। विवाहको परिभाषा राम्रोसँग बुझेका पनि थिएनौँ। लोग्नेस्वास्नीमा हुने सामान्य असहमतिमा म नै सहिदिनेमै पर्थें। केही समय टिकेको सम्बन्ध जोगाउन मेरै भूमिका बढी रह्यो। बिहेको चार वर्षपछि पहिलो सन्तान जन्मियो। पहिलो पटक आमा बन्दा म धेरै खुशी भएँ तर मेरो खुशी अन्धविश्वासको महामारीले खोसिदियो। रोग लागेपछि आधुनिक चिकित्सालयभन्दा धामीझाँक्री र झारफुकेकहाँ धाउने अभ्यास अझै पनि सानोतिनो महामारी नै हो हाम्रो समाजको।
झाडापखाला लागेकी नवजात छोरीलाई धेरै ठाउँमा झारफुकका लागि लगियो। बाटोको अहिलेजस्तो सुविधा नभएको त्यस समय बोकेरै लग्दा पनि एक घण्टाको दूरीमा उतिखेर हेल्थपोस्ट थियो तर त्यस्तो प्रयत्नका लागि बलसँगै चेतना पनि त चाहिन्थ्यो! छोरी गम्भीर भएपछि मात्र बल्लतल्ल अस्पताल लैजाने कुरा भयो, अस्पताल नपुर्याउँदै मैले मेरो पहिलो सन्तान गुमाएँ।
घाउमा बिस्तारै टाटो बस्यो। समय क्रममा तीन छोरी र एक छोराको आमा बनेँ। अरूका झैँ मेरा लोग्ने पनि ‘कमाउन’ परदेश गए। उनी परदेश रहँदा घरदेशमा मैले परिवार र समाजमा उनको भूमिका पनि निर्वाह गर्ने प्रयत्न गरेँ। छोराछोरी सम्हालेँ, तिनको खानपान, रेखदेख र शिक्षादीक्षाका लागि जुटिरहेँ। लोग्ने विदेश भए पनि उनीबाहेक दोस्रो पुरुषको कहिल्यै कल्पनासम्म गरिनँ।
तर विवाहको २६ वर्ष पार गर्दैगर्दा उनले भने, ‘मलाई तिमी मन पर्दैन र हाम्रो विवाह पनि मन परेर भएको होइन।’ पाँच सन्तानले कोख भरेका लोग्नेको यस्तो कुराले म खङ्ग्रङ्ग भएँ। मन नपर्दानपर्दै यतिका वर्ष के ठानेर उनी मसँग बसेका थिए? अनि जीवनको मध्यतिर किन यस्तो कुरा? उनले केही भनेनन्।
पछि थाहा भयो, बाहिर उनको अर्कै महिलासँग सम्बन्ध रहेछ।
एउटी महिलाले सबै कुरा बाँड्न सक्छे, श्रीमान्को माया बाँड्न सक्दिनँ, तर मैले त्यो पनि सहेँ। २०७३ सालमा हामी चार सन्तान र मलाई छोडेर दोस्रो महिलासँग टाप कसे। गाउँकी निरक्षर महिलाले कानूनका जटिलता के जानेको थिएँ र? अहिले पनि बहुविवाह मुद्दामा पुरुषलाई कस्तो कारबाही हुन्छ भन्नेबारे मलाई खासै थाहा छैन। उनी लापत्ता भएसँगै नुवाकोटको जिल्ला प्रहरी कार्यालय गएर यसबारे मैले उजुरी गरेँ। तर प्रहरी कार्यालयमा मेरो मुद्दालाई कसैले गम्भीरतासाथ लिएको महसुस गरिनँ। बरु कसैले भनिदियो, “बहुविवाहको मुद्दा जहिल्यै लाग्छ। यो पुरानो हुँदैन।”
लोग्नेको बहिस्कार, बालबच्चाको जिम्मेवारी र समाजको गिद्धेदृष्टिको संयुक्त पेलानमा परेकी महिलाले अर्की महिलासँग ‘हनिमुन’ मनाउन हिँडेका लोग्नेलाई कता खोज्न जानु? कुन प्रयत्न गर्नु? अहिले पनि कतिपय गाउँलेहरूसँग मेरा ‘जिउँदै मरेका लोग्ने’ सामाजिक सञ्जालतिर भेटिएको बताउँछन्। केही पहिले उनी रसुवातिर थिए रे भन्ने सुनियो। अहिले कता छन् पत्तो छैन। गाउँघरमा आफन्त बित्दा पनि आएका छैनन्।
जिउँदै मरेका श्रीमान्लाई भुलेर म उनको समेत कारण जन्मेका बालबच्चाप्रतिको जिम्मेवारी पूरा गर्न म खटिएँ। चरित्रहीन र ‘धर्म’छाडा लोग्ने थिए तर समाजले मलाई दपेट्न छाडेन, खोट नियाल्न कुनै कसर बाँकी राखेन। ‘श्रीमान् लखेटेर घर ओगटेर बसेकी आइमाई! कुनै खोट भएर नै लोग्नेले छोडेको हुनुपर्छ। मर्द हो, ल्याउँछ त अर्की’ भनेर टिप्पणी गरे। कतिसम्म भने एक दिन नजिकको आफन्तले भने, ‘फकाएर र खोजेर श्रीमान् र सौतालाई घरै लिएर आउन।’ यस्तो लाग्थ्यो, मेरै गल्तीका कारण लोग्ने मलाई छाडेर हिँडेको हो।
तर मैले ठानेँ, बहुविवाह गर्ने मेरो लोग्नेका अगाडि झुक्नु भने मेरो छोरा, दाजुभाइ अनि समाजको अन्य लोग्ने मान्छेलाई बहुविवाहजस्तो जघन्य अपराधका लागि प्रोत्साहित गर्नु हो। निरक्षर भए पनि आफ्ना सन्तान पाल्ने र पढाउने जिम्मेवारीबाट म चुक्ने छैन।
म हुर्केको समाजले मलाई सदैव सहनशील हुन सिकाएको थियो। बोल्दा, हाँस्दा र बस्दादेखि हरेक कुरामा सोच्नपर्ने, हरेक कदम सोचेर चाल्नुपर्ने मानसिक छाप ममा पनि प्रत्यारोपण भएको थियो।
तर छाडेर जाने मेरो लोग्ने र समाजको हेपाइले मलाई थप बलियो बनायो। म कमजोर भएँ भने मेरो छोराछोरी झनै कमजोर होलान् र भविष्यमा पछि पर्लान् भन्ने चिन्ताले आफूलाई सम्हालेँ। कठिन परिस्थितिमा समेत आफ्ना सन्तानका अगाडि कहिल्यै आँसु झारिन्।
म कहिल्यै स्कुल गएर शिक्षा लिइनँ र जान कसैले प्रेरित गरेन पनि। मेरा लागि ‘कालो अक्षर भैँसी बराबर’ भए पनि जीवनले भने मलाई ठूलो पाठ सिकाएको छ। आज मुस्किल छ, भोलि झनै गाह्रो हुनेछ, तर पर्सी पक्कै सुनौलो दिन उदाउला भन्ने आशामा जीवन बिताइरहेका छु। मेरो संघर्ष र समर्पणलाई समाज र लोग्ने भनिएकाले नदेखे पनि मेरा सन्तान र कोही संवेदनशील मान्छेहरूले देख्लान् भन्ने ठानेको छु।
आफ्नी श्रीमती र अझ दुधे बालबच्चा छाडेर शरीर-सुखमा भुल्न जाने निर्दयी त्यस मान्छेलाई माफ दिन सक्दिनँ। कानूनी लडाइँ जो मैले लड्न सकेको छैन, त्यसको भने दुःख छँदैछ। तर महिलाले पुरुषबिना केही पनि गर्न सक्दैन भन्ने समाजको भाष्य र भ्रम चिर्ने यत्न गरेको छु। सबै बालबच्चालाई पढाएको छु। मेरो बुताले भ्याएसम्म म उनलाई खोजेर कानूनी र नैतिक रूपमा जिम्मेवार बनाउने प्रयत्नमा छु।
साँच्चै मजस्तै महिला यो सरहदमा कति होलान्? संसारमा कति होलान्?
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||

साच्चै नै निकै मार्मिक अनि गहनिय शब्द छन हजुरको लेखमा । आगामी दिनका लागि सुभकामना🙏
सबिना तामाङ
3 months, 2 weeks ago