उनले भनिन्, ‘अहिले म रोगैरोगले थलिइसकेकी छु। उतिबेला छोराछोरी पाल्न बाध्य भएर यो पेसामा लागेँ। अहिले तिनै छोराछोरीले बेवास्ता गरेपछि आफ्नै पेट पाल्न यो काम गर्न बाध्य छु।’
धेरैले सुनेको नाम हुनुपर्छ काठमाडौँको रत्नपार्क। आजभन्दा २३ वर्षअगाडिको रत्नपार्क र अहिलेको रत्नपार्क भौतिक रूपमा अलग देखिए पनि रत्नपार्क वरिपरिका पर्खालछेउ उभिएर आफ्नो मोलमोलाइ गर्न बाध्य दिदीबहिनीको कथा त्यो समय र आज पनि उस्तै–उस्तै छ।
केही महिनापहिले न्युरोड, एनएसी अगाडिबाट माइक्रोबस चढेर लगनखेल जाने क्रममा रत्नपार्क पुग्दै गर्दा पर्खालमा ग्राहकको प्रतीक्षामा रहेका केही यौनकर्मी किशोरी देखेँ। यो दृश्यले विसं. २०५८ सालमा पत्रकारिता शुरू गर्दाताका रिपोर्टिङका क्रममा आफूलाई खुलेआम यौनकर्मी भनेर आफ्नो परिचय दिने ६० वर्षकी एक दिदीको सम्झना आयो।
२३ वर्षअगाडि रत्नपार्क वरपर सडकपेटीमा व्यापार गर्नेको घुइँचो हुन्थ्यो। त्यही घुइँचोमा छलिएर किशोरी, महिला अनि वृद्ध आमाहरूसमेत 'देहबिक्री'मा संलग्न रहन्थे। आफ्नो मात्र नभएर आफ्ना बालबच्चा र अशक्त बाउआमाको भोको पेटको समेत जो सवाल थियो।
भर्खर पत्रकारिता शुरू गर्दा म रत्नपार्कमा बसेर आफ्नो मोलमोलाइ गर्ने दिदीबहिनीको बाध्यताको कथा मेट्रो एफएमबाट प्रसारण गर्ने सोचले त्यसबारे जान्न रत्नपार्क पुगेकी थिएँ। साँझको समय रत्नपार्कको घुइँचो छिचोल्दै भिडमा ग्राहक खोजेर बसेका बालिका, किशोरी र वृद्ध महिलासम्म पुग्दा आफैँलाई नै यौनकर्मी ठानेर पछि लाग्नेहरूलाई पन्छाउन प्रहरी नै बोलाउनसम्म परेको थियो।
त्यही भिडमा ग्राहकको खोजीमा बसेका किशोरी, महिला र वृद्धाहरू पुरुषसँग 'रेट मिलेपछि' आसपासका सस्ता होटलतिर जाने गर्दा रहेछन्। एकैछिनको खुसुरफुसुरपछि रत्नपार्कबाट पुरानो बसपार्क र बागबजारतर्फ ग्राहक र 'विक्रेता' हिँडेको त देखियो तर यस्तो 'छाडा तर गोप्य' विषयमा शुरूमा कोसँग गएर कसरी कुरा गर्ने भनेर ठम्याउन बढो कष्ट भयो। मैले पर्खालमै उभिएका केही किशोरीसँग कुरा गर्न खोजेँ तर उनीहरू तर्किए, बोल्नै मानेनन्।
तर एउटी किशोरीले मलाई 'स्रोत'तर्फ पुग्ने बाटो सहज बनाइदिइन्। रत्नपार्कको गेटनिरबाट दाहिने कुममा पुरानो च्यातिएको ब्याग भिरेर अनुहारमा बिफरको खतैखत भएकी झन्डै ६० वर्षकी एउटी महिला रत्नपार्कको बगैँचाभित्र पस्दै थिइन्। किशोरीले ती महिलालाई देखाउँदै भनिन्, ‘दिदी आउनुभो, उहाँसँगै कुरा गर्नुस्।’
दुब्लो, ख्याउटे अनि मुजैमुजा परेको कृष्ण वर्ण उनलाई देख्दा लाग्थ्यो, कुनै रोगले थलिएकी छन्। कालो, थोत्रो र मैलो ब्याग बोकेकी दिदी हामीनजिक आइन्। मैले उनलाई भेट्नुको उद्देश्यबारे बताएँ। रत्नपार्कलगायत सडकमा आफ्नो मोलमोलाइ गर्न बाध्य दिदीबहिनीको कथा एफएममा गएर बोलिदिन आग्रह गरेँ। चौधरी दिदीले भनिन्, ‘तपाईंको रेडियोमा एक घण्टा बोल्न आउँदा मेरो तीन घण्टा समय खेर जान्छ। म त घण्टाको रेटमा आफूलाई दौडाउने पेसामा छु।’ यस्तो ठाडो जवाफ पाएपछि म अक्क न बक्क परेँ।
उनले भनिन्, ‘म भक्तपुर बस्छु, तपाईंकोमा अन्तर्वार्ताका लागि आउँदा तीन घण्टा समय लाग्नु भनेको कम्तीमा १५०० घाटा हो। त्यो घाटा मेरो घरमा लाग्ने नुनतेल, चामल र मट्टितेलको घाटा हो। मेरो नातिनातिनाको भोको पेटको घाटा हो। त्यो घाटा तपाईंले या तपाईंको हाकिमले पक्कै नतिर्लान्," उनको आँखामा टलपलाएको आसुँसँगैको पेचिलो प्रश्नले केहीबेर मौन भएँ।
केही सपना देखेर भर्खरै शहर छिरेकी मलाई एफएमले सुको पैसो पनि दिन्थेन। प्रशिक्षार्थी पत्रकारका रूपमा काम गरिरहेको थिएँ, तर काम देखाउने हुटहुटी थियो। बिहान १० बजेदेखि रातिको नौ बजेसम्म, त्यो पनि बिनातलब। मैले उनको बाध्यता सहजै बुझेँ, तर जसो होस् त भनेर पाँच सय रुपैयाँ उनलाई दिएरै एफएममा अन्तर्वार्ता दिन आउने बाचासँगै म छुट्टिएँ।
दुई दिनपछि एफएमको कार्यालय आउँदा उनले आफूजस्ता बाध्यताका कथा भएका झन्डै पाँच जनाको कथा कागजमा बोकेर आइन् र भनिन्, "बैनी, मेरा साथीहरूले रेडियोबाट पढ्न लगाइदिनु भनेर पठाएका हुन्, पालैपालो पढिदिनुस् है।" उनले पाँच जना महिलाको कथा दिइन्। ती कथा उति धेरै सहज भाषामा थिएन। अक्षर बुझ्नै अप्ठ्यारो पनि तर सबैका जीवनका भोगाइ उस्तै थिए। उनीहरूमध्ये कोही पनि रहरले यौनकर्मी भएका थिएनन्। पत्रहरूमा उल्लेख भएअनुसार सबैलाई त्यो पेसा छाडेर बस्न मन रहेछ। जता गए पनि केटाहरूले उस्तै ढंगले व्यवहार गर्ने भएकाले 'आफूहरूलाई बाँच्न पनि रहर नभएका' कुरासमेत तिनमा उल्लेख थियो।
म अब दिदीसँग अन्तर्वार्ता लिन थालेँ।
जुनिजुनि सँगै बिताउँछु भनेर बिहे गरेको श्रीमान्बाट आफूले पाएको यातनाबाट कुरा थालिन्। अति भएपछि काखमा भएका बालबच्चा पाल्नको लागि गरेको संर्घष र सडकको कथा सुनाउन थालिन्। श्रीमानबाट अनेकौँ यातना पाएपछि तीन छोराछोरीसहित गाउँ छाडेर काठमाडौँ शहरमा आई डेरामा बस्न बाध्य दिदीको कथा रत्नपार्कको पेटीबाटै शुरू हुन्छ।
रत्नपार्कको पेटीमा पहिले स्टोभमा चिया पकाएर बेच्न शुरू गरेकी दिदीलाई चिया पिउन आउने ग्राहकले नै दुर्व्यवहार गर्न थालेछन्। ‘रत्नपार्कमा छ महिना चिया बेच्दासम्म ग्राहकले नछोएको मेरो शरीरको कुनै अंग थिएनन्। न कराउन सकेँ, न चिच्याउन। घरमा भोका छोराछोरीको अनुहार सम्झँदै भोलिपल्टसमेत चिया बेच्न जान्थेँ। मानवरूपी दानवबाट रत्नपार्कमा बाँच्न सकिन्न भन्ने लागेर रत्नपार्क छाडेकी थिएँ, तर जहाँ गए पनि अनपढ गरिब र एक्लो महिला जोगिन सम्भव रहेनछ। त्यसैले अहिले फेरि म रत्नपार्कमै छु,’ उनको भनाइ थियो।
दिदी रुँदै आफ्नो कथा भन्दै थिइन्, ‘चिया पिउने बहानामा वरपर झुम्मिने ग्राहकबाट बेहोरेको दुर्व्यवहारबाट बच्न चिया पसल त छाडेँ, ज्यामी काम गरेर गिटीबालुवा बोक्दा पनि सुख पाइनँ। काममा राख्ने ठेकदारबाट आफूलाई जोगाउन धेरै कोशिश गरेँ तर त्यसले पनि मेरो गरिबी र बाध्यताको फाइदा बारम्बार उठायो। अति भएपछि ज्यामी काम छाडेँ। अब कोठाको भाडा तिर्ने पैसा भएन। कोठामा चामल सकिन थाल्यो। काम पाएपछि कोठाको भाडा तिर्छु नि त भन्दा घरबेटीले नै त्यसो भए मसँग रात बिताउनुपर्छ भन्न थाल्यो। यसरी सबैतिर शरीर नै लुछिने भएपछि धन्दा नै त्यही किन नगर्ने भन्दै म रत्नपार्क आइपुगेँ।’
दिदी आफू यौनकर्मी भएपछि अरू दिदीबहिनीलाई सकेसम्म यो पेसामा नलाग भन्दै विभिन्न संघसंस्थामा लैजाने रहिछन्, अनि सुरक्षित यौन सम्पर्कका लागि कन्डम प्रयोगबारे रत्नपार्कभित्रै जनचेतना अभियान सञ्चालनसमेत गर्दिरहिछन्। आधा घण्टाको एफएम कार्यक्रममा उनको आँसु कतिबेलै थामिएन तर उनले आफूलाई बिनाहिचकिचाहट यौनकर्मी भनिरहिन्।
उनले भनिन्, ‘अहिले म रोगैरोगले थलिइसकेकी छु। उतिबेला छोराछोरी पाल्न बाध्य भएर यो पेसामा लागेँ। अहिले तिनै छोराछोरीले बेवास्ता गरेपछि आफ्नै पेट पाल्न यो काम गर्न बाध्य छु।"
उनको कथा लामो थियो, सबै कुरा समेट्न आधा घण्टाको कार्यक्रममा सम्भव थिएन। उनलाई मैले अन्तिमतिर प्रश्न गरेँ, ‘तपाईंका ग्राहकहरू कस्ता खालका हुन्छन्?’
उनले भनिन्, ‘सडकमा हुनेदेखि दरबारियासम्म। मेरा ग्राहक दरबारका पनि छन्।’ उनले दरबार उच्चारण गर्नेबित्तिकै हामी डरायौँ र केही सेकेन्ड आत्तिएर एफएम सञ्चालन नै बन्द गर्यौँ।
राजाकै पालामा सरकारी एफएमबाट अन्तर्वार्ता दिँदा बिनासंकोच दरबारियाको नाम लिन आँट गर्ने ती दिदी अहिले कुन अवस्थामा कहाँ होलिन् है? सन्चै होलिन्?
एक जना छोरीमान्छे जब आफ्नै घरमा अपहेलित हुन्छिन्, त्यहाँबाट उनको खुट्टामा ठेस लाग्न शुरू हुन्छ। अनि यही समाजका केही पुरुष तथा महिलासमेत सजिलै भनिदिन्छन्, ‘काम गर्नका दुःखले धन्दा गरेर पैसा कमाउँछे।’
जसोतसो लेखिएका ती महिलाका कथा अहिले पनि मसँग सुरक्षित छन्, तर ती कथाका पात्रहरू कहाँ र कुन अवस्थामा होलान्, कसलाई के थाहा?
तर अहिले पनि रत्नपार्क र रत्नपार्कजस्तै अनेकौँ 'अड्डा'हरूमा आफ्ना ग्राहक खोजिरहेका छोरी, बहिनी र आमाहरू छन् यस मुलुकमा। तिनलाई प्रहरी प्रशासन र तथाकथित सभ्य समाजले जहिल्यै दपेटिरहेका छन्।
मुलुकमा शासनव्यवस्था त फेरियो, तर यसले 'अन्य'सरह आम महिलाको दैनिकी बदल्न नसकेको देख्दा राज्य संरचनाप्रति नै विरक्त लागेर आउँछ।
(उकालोको विचार खण्डमा प्रकाशित सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
